बचत संघको स्थापना दिवसमा गोष्ठी

साझाकुरा
२०८० पुष २०, शुक्रबार १०:०५

हेटौंडा-जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरको १९ औँ स्थापना दिवसको अवसरमा बुधबार अन्तरक्रिया गोष्ठी तथा प्रशंसापत्र प्रदान कार्यक्रम गरी मनाएको छ ।
संघले एचआईभी संक्रमित एवम् प्रभावित बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भाखा नाघेका ऋण व्यवस्थापन कानुनी उपचारसम्बन्धी अन्तरक्रिया भएको हो । प्रदेशसभा सदस्य श्रेष्ठले कर्जाप्रवाहमा ध्यान पुग्न नसके भाखा नाघेको सदस्यको संख्या वृद्धि हुने बताए । उनले लगानी गर्दा ध्यानदिनुका साथै असुली प्रक्रियामा निरन्तर लाग्नुपर्ने बताए ।

मुलुकको अर्थतन्त्र सवल पक्षमा नभइरहेको अवस्थामा सहकारी क्षेत्रमा पनि त्यसको प्रभाव परेकाले कर्जा तीर्न सदस्यलाई अप्ठ्यारो परिरहेको अवस्था सिर्जना भएको बताउँदै श्रेष्ठले भने–आर्थिक संकटमा पनि सहकारीले ऋण प्रवाह गरिरहेकोले समाजमा आर्थिक चलायमान भइरहेको छ । उनले सहकारीमा पछिल्लो समय समस्या आएको छ, केही सहकारीहरु भाग्ने, हिनामिना गर्ने, बचत फिर्ता नगर्ने जस्ता परिघटनाले समग्र सहकारी क्षेत्रमा नराम्रो सन्देश पुगेको बताए । सदस्यहरुलाई अनुरोध गर्दै लिलामीको प्रक्रियामा नपुग्दै आफ्नो सावाँ र व्याज नियमित तिर्न आग्रह गरे ।

संघमा आवद्ध भएको साकोस सदस्यलाई १६ वटा समूह चरणमा विभाजन गरी सहकारीले गर्दै आइरहेको भाखा नाघेको अवस्थामा गरिने प्रक्रियाबारे बृहत छलफल गरी प्रस्तुती गरिएको थियो कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले बचत र ऋणका साथै भाखा नाघेपश्चात गरिने कानुनी उपचारका विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सहकारी नियमावली २०७५ को परिच्छेद ८ अन्तरगत पर्ने दफा ३० मा उल्लेख भएका कानुनी उपचारबारे बृहत छलफल गरिएको थियो ।

संघको भवन निर्माणका लागि सुरु गरिएको भवन निर्माण बचत कार्यक्रम र प्रतिशेयर सदस्य १० रुपैयाँका दरले गर्ने सहयोगी संस्थालाई प्रशंसापत्र प्रदान गरिएको थियो । जसमा मितेरी साकोस, महिला मिलन साकोस, श्रमिक सुरक्षित साकोस, जागरण साकोस, महिला जनशक्ति साकोस, महिला सेवा साकोस, संजीवनी साकोस, सहयात्री साकोस, महिला आवाज साकोस, हरियाली स्वावलम्बन साकोस, महिला अभियान साकोस, सुजनशील महिला साकोस, बज्रबाराही साकोस, मनहरी साकोस, जनकल्याण साकोस, बागेश्वरी महिला साकोस, पञ्चरत्न साकोस, महिलाजागृति साकोस, जनजागृति महिला साकोस, हेटौंडा साकोस, महिलामुक्ति साकोस, कुलेखानी साकोस, सौभाग्य महिला साकोस, जनचेतना साकोस, नमुना प्रगति साकोस, पाञ्चायन साकोस, युसेस साकोस, हातेमालो साकोस र महिला कल्याण साकोस रहेका छन् ।

कार्यक्रममा प्रदेश सहकारी बोर्डका कार्यकारी अधिकृत नारायण प्रसाद देवकोटा, पूर्वजिसस उपप्रमुख भगवती पुडासैनी, संघका संस्थापक अध्यक्ष सुलोचना स्याङ्तान, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, सल्लाहकार बद्रीप्रसाद लम्साल, नेफ्स्कुन मकवानपुर फिल्ड ईन्चार्ज ज्योति महत, राष्ट्रिय सहकारी बैंक शाखाप्रमुख रामेश्वर अर्याल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि कंडेल, बहुउद्देश्यीय सहकारी संघका शर्मिला डंगोल, ग्रामीण महिला सेवाकेन्द्रका देवकी चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

स्थापना दिवसको अवसरमा संघले मकवानपुर महिला समूहको कार्यालयमै ११ जना एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो । संघमा मंसिर मसान्तसम्ममा करिब १ अर्ब ७ करोडको कुल सम्पति रहेको र पुँजी ४ करोड ४८ लाख ८३ हजार रहेको संघका व्यवस्थापक सुमित्रा कुमारी वाईबाले बताइन् । संघले १५ करोड ८१ लाख ९६ हजार ५५७ रुपैयाँ कर्जा लगानी गरेको छ भने बचत निक्षेप ९६ करोड ५२ लाख ५० हजार २०४ रहेको व्यवस्थापक वाईबाले बताइन् । उनका अनुसार संघले ९ वटा उपसमिति गठन गरी संस्थागत सुदृढीकरण गर्नुका साथै सेवाप्रवाह गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*