राक्सिराङमा वन ऐन र अधिकारबारे छलफल

साझाकुरा
२०८० पुष २०, शुक्रबार १०:३४

हेटौंडा-राक्सिराङ गाउँपालिकाले निर्माण गरेको स्थानीय वन ऐन र सामुदायिक वन अधिकार, पहिचान तथा महत्वबारे छलफल गरिएको छ ।सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले एक कार्यक्रमको आयोजना गरी स्थानीय वन ऐनले समेटेको र छुटाएको विभिन्न बिषयबारे चर्चा गरेको हो । स्थानीय वन ऐनमा भएको ब्यवस्था र सामुदायिक वनको आवश्यकताबारे महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले सहजीकरण गरेका थिए ।

सिद्धार्थ हरियाली सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, भ¥याङकाली सामुदायिक वनका अध्यक्ष केशव भारतीलगायतले सामुदायिक वनको समस्या, चुनौती र पालिकाले खेल्नुपर्ने भूमिकाबारे धारणा राखेका थिए ।गाउँपालिका अध्यक्ष राजकुमार मल्लले स्थानीय वन ऐन आवश्यकता अनुसार संसोधनगरिने बताए । राक्सिराङमा ६५ प्रतिशत वनक्षेत्र रहेको बताउँदै वनको संरक्षण, ब्यवस्थापन र सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । विकास निर्माणको क्रममा हुने क्षति न्यूनीकरण गरिने र बृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने उनले बताए । वनसँग सम्बन्धित पर्यापर्यटनबाट समुदायको आर्थिकस्तर सुधार हुनसक्ने बताउँदै सामुदायिक वनले पर्यापर्यटनको गतिविधिलाई तीव्र बनाउनुपर्ने उनको धारणा छ ।

प्राकृतिक उत्पादनलाई व्यावसायिकरण गर्नसके जनतासँगै गाउँपालिकाको पनि आम्दानी वृद्धि हुने उनले बताए । कार्यक्रममा वडाअध्यक्ष बाबीराम मोक्तान, कार्यपालिका सदस्य सजिता मुक्तान, टिएफ परियोजनाका सहजकर्ता सुसन बिश्वकर्मालगायतले धारणा व्यक्त गरेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*