हेटौंडा उपमहानगरको १४ औं नगरसभा गुम्बाडाँडामा
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटको आकार २२ करोड रुपैयाँ बढेको छ । शनिबार भएको १४ औं नगरसभामा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट आकारमा २२ करोड २ लाख ५५ हजार रुपैयाँ बढाएर नगरउपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेका हुन् । गत असार २ गतेको १३ औं नगरसभाको अधिवेशनमा उपमहानगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट संशोधन गर्दै आकार बढाइएको हो । उपमहानगरपालिकाले १३ औं नगरसभामा २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकोमा संशोधन गरी २ अर्ब ९० करोड ६२ लाख ६५ हजार रुपैयाँको सीमामा पु¥याएको हो । आन्तरीक राजश्व संकलनमा भएको प्रगतिको आधारमा चालु आर्थिक वर्षको संशोधित बजेटमा २२ करोड २ लाख ५५ हजार बजेट थपिएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको राजश्व संकलन लक्ष्यअनुसारको आधा पूरा भएको बजेट प्रस्तुतिका क्रममा उपप्रमुख बानियाँले बताए । चालु आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा पुस १५ गतेसम्म १५ करोड ४५ लाख रुपैयाँ संकलन भएको प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म ५० प्रतिशत राजश्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बताइएको छ ।
आय÷व्यय अनुमानमा सशर्त बजेट, अघिल्लो वर्षको मौज्दात र रकमान्तर समेत थप भई २ अर्ब ७५ करोड ७६ लाख ६५ हजार रुपैयाँ वास्तविक आय कायम भएको उपप्रमुख बानियाँले जानकारी दिए । गतवर्ष सम्झौता भई ३१ करोड रुपैयाँ भन्दाबढी जिम्मेवारी सरेका आयोजनाको रकम भुक्तानीका लागि चालु आर्थिक वर्षको बजेटमा १० करोड ७० लाख रुपैयाँ विनियोजन भएकोमा अधिकांश भुक्तानीका लागि रकम अभावका कारण भुक्तानी रोकिएकोले बजेटको आकार बढाइएको बानियाँले बताएका छन् ।
संशोधित अनुमानमा पूर्वाधारक्षेत्रतर्फ नगरस्तरीय ६२ योजना र वडास्तरीय ९ सय ५६ योजना गरी जम्मा १ हजार १ सय १८ योजना रहेकोमा हालसम्म नगरस्तरीय १५ वटा योजना र वडास्तरीय २ सय १७ वटा योजना सम्झौता भइसकेको उल्लेख छ । सम्झौता भएका योजनामध्ये ३२ वटा सम्पन्न भएको र अन्य ९ सय ८६ वटा योजना कार्यान्वयनको चरणमा रहेको बताइएको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका योजनामध्ये १ सय १० वटा योजना सम्पन्न भएका छन् । ६१ वटा सम्पन्न हुने क्रममा रहेको छ ।
पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिकमा कंक्रिट सडक २ किलोमिटर, कालोपत्रे ३५५ मिटर, शैक्षिक पूर्वाधारतर्फ १ वटा, सांस्कृतिक जगेर्नातर्फ गुम्बा निर्माण २ वटा, मन्दिर निर्माण ५ वटा, मदरसा एउटा र यात्रु प्रतीक्षालय एउटा निर्माण भैसकेको छ । नगरप्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको १४ औं नगरसभाले स्थानीय समुदायको आर्थिक अवस्था सुधार ल्याउन लघुउद्यमीले उत्पादन गरेका गुन्द्रुक, मस्यौरा लगायत खाद्यपदार्थलाई ब्राण्डिङ गरी बजारीकरण गर्ने र स्थानीयस्तरमा उत्पादन हुने मौलिक तथा रैथाने कृषिउपजलाई प्रवद्र्धन गर्न होटल एशोसिएशनसँग समन्वय गरी नगरका सबै होटलका खाना सूचिमा समावेश गराउने प्रस्ताव पास गरेको छ ।
सभाले उपमहानगरमा आयआर्जन र समृद्धि कार्याक्रम सञ्चालन गरी बेरोजगार रहेका युवालाई सीपमार्फत प्रत्येक्ष रोजगारीमा जोड्ने कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्ने प्रस्ताव पास गरेको छ । उपमहानगरक्षेत्रमा प्रर्यटकको आगमन बढाउनका लागि बाह्य जिल्ला र भारतको पटनालगायत सहरसँग सस्थागतरुपमा प्रर्यटन प्रवद्र्धनका लागि आवश्यक सम्वाद र छलफल अघि बढाउने प्रस्ताव स्वीकृत गरको छ । सभाले संसोधित नीति, कार्यक्रम तथा बजेट एवम् बिभिन्न ऐन सर्वसम्मत पारित गरेको छ ।
हेटौडा उपमहानगरपालिकाको १४ औं नगरसभा हेटौंडा–१८ स्थित गुम्बा डाँडामा गरिएको हो । स्थानीयस्तरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक बजारक्षेत्रभन्दा बाहिर नगरसभा आयोजना गरेको उपमहानगरपालिकाले जनाएको छ । मेयर लामा तथा उपमेयर बानियाँसहित नगरसभाका सदस्य सहित उपमहानगरपालिका कर्मचारीको उपस्थितिमा सभा सञ्चालन भएको हो । हेटौंडा–१८ हर्नामाडीस्थित गुम्बाडाँडा सामुदायिक वनमा निर्माणाधीन मूर्तिपार्क पर्यटकीय गन्तव्यकोरुपमा रहेको छ ।







