संघको साधारणसभामा कड्किए मुख्यमन्त्री, सडकको नाममा राजनीति नगर्न चेतावनी
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सडकको नाममा राजनीति नगर्न चेतावनी दिएका छन् । ‘सँधैभरि सडकको नाममा राजनीति गर्न पाइदैन अब विकासको साझा काम हो सडक ।’, उनले भनेका छन् ।शनिवार हेटौंडामा भएको उद्योग वाणिज्य संघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेललले आफू व्यक्तिगतरुपमा सडक भत्काउनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘व्यक्तिगतरुपमा सडक भत्काउनुपर्छ भन्ने पक्षमा म छु । तर, यो मेरो क्षेत्राधिकार होइन । संधै सडकको नाममा राजनीति हुन्छ, नभत्काउने वा विकल्प खोज्ने उद्योग वाणिज्य संघले निर्णय गर्नुस् ।’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘होइन भने सरकारकहाँ जानुस् धर्ना बस्नुस् र एउटा निर्णय लिएर आउनुस् ।’,
विगतदेखि नै हेटौंडाको सडक विस्तारमा उद्योग वाणिज्य संघ र सडक डिभिजन कार्यालयको टकरावका कारण सडक बिस्तार अन्यौल भएको थियो । तर, सर्वोच्च अदालतले रिट निवेदन खारेज
गरेसँगै हेटौंडा बजार क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग फराकिलो बनाउने कार्यमा डिभिजन सडक कार्यालयलाई बोटो खुलिसकेको छ । बजार क्षेत्रका घरधनीहरुले दायर गरेको रिट निवेदन सर्वोच्चले खारेज गरेपछि सडक विस्तारसम्बन्धी कार्य कसरी अगाडि बढ्छ ? भन्नेमा अधिकांशलाई अन्यौलता छ ।
उद्योग वाणिज्य संघको साधारणसभा सडकको विषय चर्कैसँग उठेपछि मुख्यमन्त्री जम्कट्टेल कड्किएका हुन् । प्रदेशको राजधानीमा साँघुरो सडक भएकै कारण टिकाटिप्पणी हुने गरेको उनको धारणा छ । जम्कट्टेल २०७४ पछि बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदै बजारको सडक विस्तार गर्नुपर्ने पक्षमा उभिएका नेता हुन् । उनले पहिलो कार्यकालको प्रदेशसभाको बैठकमै मुख्य सडक फराकिलो पार्नुको कुनै विकल्प नभएको बताएका थिए । मुख्यमन्त्री जम्कट्टेलले शनिवार कार्याक्रममा सरकारले वजेट ल्याउनु अघि मौद्रिकनीति ल्याउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकारको दायरा ठुलो नहुँदा धेरै काम गर्न नसक्ने अवस्थामा रहेको बताए । उद्योगको क्षेत्रमा तालिम, कृषिक्षेत्रमा काम र उत्पादनमूलक सीपमात्र दिनसक्ने तर, ठुला औद्योगिक क्षेत्रको दायरा प्रदेश सरकारसँग नभएको बताए । उनले हस्तकला र घरेलु उद्योगलाइ अगाडि बढाउन, उद्योगग्राम, कोशेली घर निर्माणको चरणमा रहेको बताए । संसारका धेरै मुलुकले नीति बनाउनु र लगानी गर्नुअघि आन्तरिक र बाह्य उत्पादन र निर्यातको आंकलन गरेर मात्र उद्योग सुरु गर्ने गरेको बताउँदै नेपालमा भने त्यस्तो नभएको बताए ।
‘चामल मिल चाहिँ खोल्ने तर, धान अन्तवाट ल्याउने जस्तो किसिमको परिपाटी छ । हचुवाको भरमा उद्योगहरु खुलेको कारण व्यवसाय धरासायी भएका छन् ।’, उनले भने, ‘नेपाल कृषिप्रधान मुलुक हो । वैदेशिक भेटवार्ता भने राजनीति र व्यावसायिक भएको छ । उद्यमशीलता भनेको स्थानीय उत्पादनको उपज गर्नु हो ।’, उनले निर्यातमुखी व्यवसाय तथा उद्योगमात्र रहेको बताए । प्रदेश सरकारले ८५ वटा पालिकालाई उत्पादनको पकेटक्षेत्र तोकिने योजनामा रहेको जानकारी दिँदै बागमती प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको सुनाए ।
जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडामा एक हजार मान्छे आए भने बस्ने होटलसमेत नहुने गरेकोप्रति चासो दिए । उनले व्यावसायिक ढंगले हेर्ने हो भने बिचौलिया पनि खराव नभएको बताए । मुख्यमन्त्रीले उद्योग वाणिज्य संघ र प्रदेश सरकार उत्पादनको सवालमा सम्झौता गरेर अघि बढ्नुपर्ने बताए । मुख्यमन्त्री जम्कट्टेलले कार्यक्रममा ढुंगा, गिट्टी बालुवा झिक्न किन नदिएको ? भन्दै झोक्किए । उनले नदीजन्यपदार्थ उत्खनन् गर्न नदिएको विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं र जिल्ला समन्वय समितिका प्रमुख ललित घलानलाई समेत प्रश्न गरे । एउटा घर बनाउन स्थानीयले मधेश प्रदेशबाट ढुंगा, गिट्टी, बालुवा ल्याउनुपर्ने अवस्था रहेको र यस्ता परिस्थिति सिर्जना हुन नदिन उनको भनाई थियो ।
राष्ट्रियसभा सदस्य रामचन्द्र राईले बाले उत्पादन गरेको सागको मुठा सहरमा बस्ने छोराले थोरै मात्र थप लगानी गरेर खरिद गर्न सक्ने वातावरण बनाउन आग्रह गरे । उत्पादकले १० रुपैयाँमा बिक्री गर्ने तरकारी उपभोक्तासम्म पुग्दा ४० रुपैयाँभन्दा बढी हुने भन्दै बीचको मूल्य कहाँ पुग्छ ? भनेर प्रश्न सोधेका छन् । उद्योग वाणिज्य संघले उपभोक्ता र उत्पादकको बीचको पुल बनेर काम गर्नुपर्ने उनको धारणा थियो । वस्तु र सेवा सरकारी निकायको नियन्त्रणमा आम नागरिकले सुलभ ढंगले प्रयोग गर्न पाउनुपर्ने उनको भनाई छ ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णकुमार गुप्ताको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्यहरु एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, भारती पाठक, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मणिराज घिमिरे, कृष्ण कटुवाल, नेपाली कांग्रेस जिल्ला सचिव भीमसेन महत, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव भीम पाख्रिन, मकवानपुरका प्रमुख प्रहरीउपरीक्षक सीताराम रिजाल लगायतको आतिथ्यता थियो ।







