हेटौंडामा पर्यटक लक्षित योजना र होटल खोई ?, फेरिएन नियति
हेटौंडा-भारतीय सीमाबाट नजिक भएकाले विहारका पर्यटक हेटौंडा ल्याउने योजना बन्नुपथ्र्यो । तराईका सर्लाहीदेखि रौतहट, बारा, पर्सा र चितवनकै नजकि भएकाले पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्न हेटौंडाले सक्नुपथ्र्यो ।तर, भइदियो उल्टो । तराईबासीका लागि हेटौंडा राजमार्ग हुँदै अन्यत्र जाने ‘बाइपास सहर’ जस्तै बनेको छ । चितवनबासीका लागि हेटौंडा पर्यटकीय गन्तव्य कहिल्यै बन्न सकेको विगतले देखाउँदैन । भारतीय पर्कटक हतपत्त बारा र मकवानपुरको सीमाक्षेत्र चुरेको डाँडो कट्दैनन् । भारतीयहरु हेटौंडा आइहाले पनि रात नबिताई सोही दिन फर्किने गरेको सरकारी निकायको अध्ययनले नै देखाएको छ । हेटौंडामा भारतीय वा आन्तरिक पर्यटकका लागि एकदिनको पिकनिक स्पट मात्रै बनेको छ ।
भारतीय पर्यटक आकर्षित गर्ने पर्यटकीयस्थल वा होटल व्यवस्थापन हेटौंडामा कहाँ छ ? यो प्रश्नको जवाफ सर्वसाधारणले मात्र हैन, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पनि मागेका छन् । हेटौंडा बागमती प्रदेशको राजधानीसमेत हो । अहिले हेटौंडा प्रदेशको राजधानी भएपछि नै होटलमा औपचारिक कार्यक्रमका गतिविधि बाक्लिएका छन् । तर, बागमती प्रदेश सरकारको कुनै कार्यक्रम गर्नुपर्दा यहाँ सुहाउँदो पर्याप्त होटल भने पाईदैन । यहाँका अधिकांश होटलहरु राजमार्गका यात्रुहरुमा मात्र निर्भर देखिएका छन् ।
प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले समेत २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको छ । भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेर कार्यक्रम अगाडि बढाइसकेको छ । तर, हेटौंडामा भने पर्यटकीय गतिविधि लगभव शुन्य छ । पर्यटकीय गतिविधि नहुनु र पर्यटकको आगमन कम हुँदा हेटौंडामा ठुला लगानी सहितका होटलहरु अझै भित्रिन सकेको छैन ।
गत मंसिरमा नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो अधिवेशन हेटौंडामा आयोजना हुँदा यहाँका होटल पहिल्यै भरिए । प्रतिनिधिलाई चितवनको सौराहा, बाराको अमलेखगञ्जदेखि पर्साको बीरगञ्जमा बास बस्ने व्यवस्था मिलाएर हेटौंडा ल्याउनु परेको थियो । बागमतीका मुख्यमन्त्री जम्कट्टेलले सरकारले कुनै कार्यक्रम सञ्चालन गर्दा हेटौंडामा होटलको समस्या हुने गरेको बताए । ‘राजधानीमा बसेको ठ्याक्कै ६ वर्ष पुग्यो तर, यहाँ एउटा राम्रो होटल छैन । यति धेरै व्यवसायीहरु हुनुहुन्छ । तर, खै सुबिधा सम्पन्न होटल ?’, शनिवार मउवा संघको साधारणसभामा जम्कट्टेलले भनेका थिए ।
‘केहीदिन अगाडि अन्तर प्रदेश कार्यक्रममा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु आउनु भयो बस्ने ठाउँ छैन । धन्न मोटल एभोकाडोले एउटा हल बनाएर मात्रै केही सहज भएको छ ।’, उनले थपे । एक हजार मान्छे हेटौंडा आए बस्ने ठाउँसमेत राजधानी सहरमा नभएको उनको भनाई थियो । मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशको राजधानी हेटौंडा भइसकेपछि व्यवसायीले सुबिधासम्पन्न होटल सञ्चालन गर्नुपर्ने बताए । बीरगञ्जदेखि पाहुना हेटौंडा धेरै आउने हुँदा नयाँ मोडलबाट सोचेर जान उनले होटल व्यवसायीलाई आग्रह गरेका छन् ।
पर्यटक शुन्य भएकोमा निराश हुनुभन्दा प्रदेशको राजधानी हेटौंडामा पाहुना राख्न व्यवस्थित होटल सञ्चालन गर्न मुख्यमन्त्री जम्मकट्टेलको सुझाव थियो । यहाँ मोटल एभोकाडो एन्ड अर्किड रिसोर्ट, होटल स्मारक, होटल प्रकाश इन्टरनेशनल, हेटौंडा रिसोर्ट, होटल सीमा, होटल सामना, होटल लोकप्रिय, होटल सूर्यान्स, होटल लिडो इनलगायत केही होटलमात्रै स्तरीय मानिन्छन् । यी बाहेक हेटौंडामा साना लजहरु र होटलहरु नभएका होइनन् । बसपार्क क्षेत्रलाई लक्षित गरेर साना लगानीमा थुप्रै होटलहरु खुलेका छन् । तर, उनीहरु पर्यटकभन्दा बढी राजमार्गका यात्रुमा बढी लक्षित र निर्भर छन् ।
हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले प्रदेश सरकारको राजधानी हेटौंडा भएपछि नियमित गतिविधिहरु धेरै हुने गरेको बताए । एकैपटक विभिन्न मन्त्रालय एवम् स्थानीय तहको कार्यक्रम हुँदा होटल पाउन समस्या हुने गरेको उनले बताए । उनका अनुसार व्यवसायीले रात्रिकालीन प्याकेजहरु ल्याएर ठुला होटल सञ्चालन गर्नुपर्ने बताउँछन् । हरेक समय सरकारको कार्यक्रम नहुने र व्यवसायीले सौराहाका होटलहरु जस्तै हेटौंडाका होटल व्यपसायीले पनि विभिन्न खालका प्याकेज ल्याउनुपर्ने बताए । उपमहानगरपालिकाले पर्यटन क्षेत्रमा विभिन्न कार्यक्रम अगाडि बढाएको हुँदा व्यवसायीलाई पनि सहज हुने उनले बताए ।
हेटौंडामा अझै पनि ठूला र सुविधासम्पन्न सभा÷सेमिनार गर्ने हलको अभाव भएको कारण ठूला कार्यक्रम पनि हेटौंडामा गर्न गाह्रो रहेको मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण गुप्ताअग्रवालले बताए । हेटौंडामा अहिले पनि ठूला हलसहितका होटल खुल्ने हो भने ब्याज तिर्न समेत जोखिम रहने उनको भनाई छ । ‘यहाँको मौसम र वातावरण अत्यन्तै राम्रो छ, तराई र भारतबाट पनि सभा सेमिनारका लागि यहाँ पाहुना आउन सक्छन् ।’, उनी भन्छन्, ‘तर, हामीसँग ठूलो सभाहलसहितका होटल छैनन् । सार्वजनिक हल पनि सुविधासम्पन्न छैनन् ।’,
‘पहिले भारतीय पर्यटकले हेटौंडालाई धेरै रोज्थे तर, बाराको सिमरामा तारे होटल नै खुलेपछि यता आउने भारतीय पनि उतै रोकिए ।’, उनले भने, ‘अब हेटौंडाले पनि उनीहरुलाई यहाँसम्म तान्ने गरी प्याकेज बनाउनुपर्छ ।’, अग्रवालले लगानी गर्न समस्या भएका कारण नै ठुला होटल सञ्चालनमा आउन नसकेको बताए । हेटौंडामा आधुनिक सुविधासहितका होटल खुलेका छैनन् । जसका कारण प्रिमियम सुविधा लिन चाहनेहरु हेटौंडामा बस्न रुचाउँदैनन् । तर, अब सम्भावना देखेर केही लगानीकर्ता हेटौंडामा तारे होटल खोल्न कस्सिएका छन् ।
मकवानपुर होटल एसोसिएसनका उपाध्यक्ष विष्णुगोपाल महर्जनका अनुसार मकवानपुरमा ठुला–साना गरी जम्मा ९५ वटा होटल छन् । भएका होटलमा पनि समयसमयमा प्रहरी प्रशासनले ‘अवैध गतिविधि’ रोक्ने नाममा अभियान चलाउने कारण ठूला होटल पनि मर्कामा परेको महर्जन बताउँछन् । खासै पर्यटकीय गतिविधि नहुनु र पर्यटकको आगमन दरमा तीव्रत्तर वृद्धि नआउनुले हेटौंडामा ठूला लगानीसहितका होटल भित्रन नसकेको पनि उनले बताए । महर्जनले व्यवसायीहरु लगानी गर्न डराएको बताए । सरकारको नीति र बैंकका कारण व्यवसायी मर्कामा पर्दा यस्तो स्थिति सिर्जना भएको उनले बताए ।
पर्यटनलाई उकास्न उपमहानगरको कसरत
पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको मिलनविन्दु नजिकै भएपनि हेटौंडाले खासै पर्यटक लक्षित कार्यक्रम ल्याउन सकेको भने छैन ।हेटौंडाका होटलहरु अहिले दुई पाटोबाट मात्रै धानिएका छन्, सडकमार्ग भएर आवात–जावत गर्दा बास बस्ने पाहुना र अर्को सभासेमिनार तथा प्रादेशिक प्रशासनिक काममा आउने सेवाग्राही । यसबाहेक हेटौंडा नै घुम्न भनेर आइपुग्ने पर्यटकको संख्या निकै न्यून छ । मकवानपुरकै थाहा नगरपालिका (दामन, पालुङ, चित्लाङ र बज्रबाहराही क्षेत्र) मा पर्यटकीय चहलपहल बाक्लो छ । मार्खु र कुलेखानी आसपासको मानवनिर्मित ताल इन्द्रसरोबरको आसपास क्षेत्रमा पनि दैनिक सयौं पर्यटक पुग्छन् । तर, हेटौंडाले ती पर्यटकलाई तान्न सकेको छैन ।
धेरैलाई हेटौंडामा पनि घुम्न मिल्ने गज्जबका स्थानहरु छन् भन्ने जानकारी नै छैन । त्यसैले हेटौंडाको पर्यटकीय चहलपहल र होटलहरु सुस्त गतिमा चलिरहेका छन् । हेटौंडाको सहीदस्मारक वर्षमा ५ लाख पर्यटकले घुम्ने स्थान हो । यहाँ विभिन्न जिल्लाबाट नै पर्यटक आउँछन्, तर, राजमार्गको सहज पहुँच रहेका कारण यहाँ आएकालाई घुमफीर गर्न बढीमा ३ घण्टा नै काफी हुन्छ । त्यसपछि हेटौंडामा कहाँ घुम्न जाने ? जिल्लाबाहिरका पर्यटकलाई कुनै पत्तो छैन । सहीदस्मारक आएर घुम्नेहरु कि सौराहा लाग्छन् कि त सीमभञ्ज्याङ । हेटौंडामा एकरात पर्यटकलाई बसाउने गरी कुनै सम्भावित गन्तव्यलाई प्रवद्र्धन गरिएको छैन ।
हेटौंडामा रहेका विभिन्न मठमन्दिर तथा शक्तिपीठको प्रचार गर्न स्थानीय सरकार चुकेको छ । चुरियामाई, भुटानदेवीमाई, मनकामनामाई, कुष्माण्ड सरोबर त्रिवेणी धाम, त्रिखण्डेश्वर महादेव, वनसखण्डीदेवीको मन्दिरलगायतका स्थान हेटौंडाका धार्मिक आकर्षणका केन्द्र हुन् । तर, हेटौंडाबाहिर यस्ता मन्दिरको प्रचार गर्न स्थानीयस्तरमा खासै प्रयास भएको छैन । पछिल्लो केहीवर्षदेखि साइकलप्रेमीहरुले कोरा राइडको नाममा हेटौंडा नगरका मन्दिरलाई थोरै भएपनि प्रचार गरिरहेका छन् ।
हेटौंडा नजिककैको मकवानपुरगढी दरबार, एसियाकै पहिलो दाबी गरिएको चुरिया सुरुङमार्ग, मूर्तिकला बगैँचा, सहीद स्मारक, पुष्पलाल स्मृतिपार्क, जुरेथुम, चिसापानीगढीलगायतका थुप्रै पर्यटकीय स्थलबारे पनि जिल्लाबाहिर प्रचार भएको छैन । यी गन्तव्यहरु आन्तरिक पर्यटकका लागि आकर्षकस्थल हुन सक्छन् । तर, यसबारेमा प्रचार–प्रसार गर्ने काम लगभग शून्य जस्तै छ ।
यिनै कारणले हेटौंडाको पहिचान एउटा औद्योगिक तथा हरित नगरीबाट फराकिलो भएर ‘पर्यटकीय नगरी’तर्फ उन्मुख हुन सकिरहेको छैन । नजिकैको सौराहामा विदेशी पर्यटकको ओइरो लाग्दा हेटौंडा पर्यटकको पखाईमा झिँगा धपाउँदै बस्नुपरेको छ । हेटौंडाले पर्यटक नपाइरहेका बेला मकवानपुरको उत्तरी क्षेत्रमा भने पर्यटकको आगमन वर्षेनि वृद्धि हुँदै गएको छ ।
काठमाडौंबाट नजिक रहेका कारण पनि दामन, पालुङ, टिुष्टुङ, बज्रबाराही, चित्लाङ, कुलेखानी, मार्खुलगायत क्षत्रेमा पर्यटक आवागमन बढ्दो दरमा छ । त्यसैका कारण यो क्षेत्रमा पर्यटकीय होटलहरु थपिने क्रम तीव्र छ । मकवानपुर उद्योग वाणिज्य संघदेखि अन्य संघसंस्थाले वर्षैपिच्छे हेटौंडा, पालुङ, मनहरी र टिुष्टुङमा स्थानीय महोत्सवहरु आयोजना गर्ने गरेका छन् । तर, यसले अपेक्षित रुपमा पर्यटन प्रवद्र्धन गर्न सकेका छैनन् ।
फेरिएन नियती
हेटौंडामा रहेका ब्यवसायीले पर्यटकलाई गर्ने ब्यवहारमा खासै परिवर्तन आएको छैन । उदाहरणका लागि अन्नपूर्ण, मनास्लु, सगरमाथा, कञ्चनजंघा, क्षेत्रका ब्यवसायीले पर्यटकलाई गर्ने स्वागत र हेटौंडाका ब्यवसायीले गर्ने स्वागत फरक छ । ब्यवसायीले पर्यटकलाई ‘अतिथि देवो भव’ को ब्यवहार गर्नु जरुरी छ । तर, हामीकहाँ ‘मुर्गा संस्कृति’ पेरिन सकेको छैन । पर्यटकसँग ‘पटके ब्यवहार’ गर्ने
परम्परा परिबर्तन गर्नै पर्छ । यसका लागि तीनै तहका सरकारले ब्यवसायीलाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाउनु जरुरी छ ।
हेटौंडाका होटल ब्यवसायीले पर्यटकलाई दिनभरि घुम्नका लागि सवारी साधन ब्यवस्थापन गर्नु जरुरी छ । उदाहरणका लागि गाडी चढेर घुम्न चाहनेका लागि साना सवारी, विद्युतीय सवारी, मोटरसाइकल आदिको ब्यवस्था देखिंदैन । यतिसम्म कि यहाँका ठूला भनिने होटलहरुले २÷४ वटा साइकल राखेर पर्यटकलाई घुम्ने रुटको ब्यवस्थापन गर्न सकेका छैनन् । पर्साको ठोरीमा गतवर्ष खुलेको होटलले पर्यटकलाई भाडामा साइकल उपलब्ध गराउन थालेको छ ।
हेटौंडा आइपुगेका बाह्य वा आन्तरिक पर्यटकलाई कस्तो सुबिधा उपलब्ध गराउँदा उनीहरुको हेटौंडामा बसाइ लम्ब्याउन सकिन्छ भन्ने बिषयमा खासै अध्ययन भएको छैन । आन्तरिक होस वा बाह्य पर्यटकको बसाइ लम्ब्याउने उपायको खोजी गर्न जरुरी छ । बसाइ अवधि बढेको खण्डमा यहाँको ब्यवसाय बढ्ने हो ।







