संरचनात्मक सुधारमा साढे ५ करोड खर्चिने बागमती सरकारको निर्णय
हेटौंडा- बागमती प्रदेश सरकारले भौतिक संरचनाको संरचनात्मक सुधारका लागि विभिन्न शीर्षकमा ५ करोड ५६ लाख खर्चको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।आइतबार प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सिफारिसमा संरचनात्मक सुधारका लागि यो रकम खर्च गर्ने निर्णय गरेको हो । जसअन्र्तगत बागमती सरकारले प्रदेश प्रहरी अस्पताल भवन निर्माणका लागि ३ करोड रुपैयाँ, प्रदेश प्रहरी र ट्राफिकप्रहरी सुरक्षा उपकरण खरिद, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय रामनगरका लागि ५० लाख उपलब्ध गराउने भएको छ ।
यसैगरी, बायोग्याँस निर्माणको लागि ३० लाख रुपैयाँ, जिल्ला ट्राफिकप्रहरी कार्यालय सिन्धुलीको महिला आवास भवन निर्माणका १० लाख रुपैयाँ, प्रहरीचौकी भवन दोलखा मर्मत सुधारका लागि १५ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानरायण श्रेष्ठले जानकारी दिए । यसैगरी, जिल्ला प्र्र्रहरी कार्यालय धादिङको कम्पाउण्ड वाल निर्माणका लागि १५ लाख, बागमती प्रदेश प्रहरी कार्यालय कम्पाउण्ड वाल मर्मत सुधारका लागि १० लाख, ईलाका प्रहरी कार्यालय बस्तीपुर घेराबारको लागि २० लाख, प्रहरीचौकी रामपुर सिन्धुलीको कम्पाउण्ड वाल निर्माण १५ लाख, कारागार कार्यालय काभ्रेपलाञ्चोकको कार्यालय भवनको स्तरोन्ती गर्नका लागि २५ लाख र महिला करागारको संरचनात्मक सुधार गर्न सिन्धुपाल्चोकका लागि २० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
बागमती प्रदेश तालिम केन्द्र धुदौली क्यान्टिन निर्माण गर्न २० लाख, सार्वजनिक नागरिक प्रदर्शनस्थल १३ वटै जिल्लामा २÷२ लाखका दरले २६ लाख उपलब्ध गराउने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आन्दोलनकारीले विरोधका कार्यक्रम गर्दा सार्वजनिक सम्पत्ति तोडफोड हुनबाट बचाउन सार्वजनिक नागरिक प्रदर्शनस्थल निर्माण गर्न लागिएको बताए । यसैगरी बैठकले १० समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।संस्कृति पर्यटन तथा सहकारी मनत्रालयको सिफारिसमा काठमाडौं महानगरपालिका–३१ का प्रशान्त अधिकारीको संयोजकत्वमा ३ सदस्यी गठन गर्ने निर्णय गरेको छ । समितिमा काठमाडौं महानगरपालिका–४ का यज्ञनाथ दाहाल, मकवानपुरका यतीराज सापकोटा सदस्य रहनेछन् ।
यसैगरी, सरकारले जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धी कार्यविधि २०८० स्वीकृत गर्ने प्रदेश सरकारको निर्णय छ ।यसैगरी सरकारले द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गर्ने सरकारको निर्णय छ । प्रदेशसभा सदस्य गीता गुरुङको हेयरिङ मेशिन खरिद गर्ने सरकारले निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । यसैगरी सरकारले एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेको छ । एक विद्यालय एक नर्स कार्यक्रम सन्चालन (दोश्रो संसोधन) कार्यविधि २०८० स्वीकृत गर्ने सरकारको निर्णय छ ।
यसैगरी गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाइउद्दार सेवासम्वन्धी कार्यविधि २०८० स्वीकृत गर्ने बागमती सरकारको निर्णय छ । प्रदेश सरकारले दुर्गमक्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धी कार्यविधि २०८० स्वीकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।







