चेपाङ बाहुल्य क्षेत्रलाई विशेष क्षेत्र घोषणाको तयारी

साझाकुरा
२०८० पुष २४, मंगलवार १०:४३

हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका चेपाङ बाहुल्य क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरी विशेष कार्यक्रम ल्याउन लागिएको बताएका छन् ।प्रदेशका धादिङ, मकवानपुर र चितवनलाई यसअघि नै संरक्षित क्षेत्र घोषणा गरेको प्रदेशले सीमान्तकृत चेपाङ समुदायको उत्थानका लागि ‘चेपाङ चिउरी र चमेरो’ कार्यक्रम कार्यान्वयन गर्न कार्यविधिसमेत पास गरिसकिएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाको चैनपुरमा सोमबार भएको गाउँसभाको हिउँदे अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले धादिङको बेनिघाट रोराङ र गजुरी, चितवनको इच्छाकामना, कालिका, राप्ती र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई चेपाङ विशेष क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम लागू गर्ने तयारी गरिएको बताए । चेपाङ समुदायको विकासको लागि बागमती प्रदेश सरकार लागि रहेको बताउँदै उनले विशेष क्षेत्रमा अध्ययन तथा कार्यक्रम ल्याउन अध्ययन टोली खटाइएकोसमेत बताए ।

प्रदेश सरकारले गृहिणी महिला, युवा लक्षित र किसान लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए । मनहरी हुँदै राक्सिराङको चैनपुरबाट मलेखु निस्कने बाटो महत्वपूर्ण रुट रहेकाले प्रदेश सरकारले माघभित्रै सडक स्तरीकरणको काम सुरु गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए । समयमै काम नगर्ने ठेकेदार कम्पनीको सम्झौता रद्द गरेको बताउँदै विकास निर्माणको विषयमा प्रदेश सरकार दृढपूर्वक अगाडि बढेको स्पष्ट पारे । गणतन्त्र विरोधी शक्ति सलबलाएको बताउँदै प्रदेश चाहिँदैन भनेर आवाज निकाल्न थालेकाले सबै राजनीतिक दलहरु यसमा सजग हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेकपा एमाले संसदीय दलका सचेतक महेश वर्ताैलाले गाउँपालिकाले कृषि, उद्यम र पर्यटनलाई प्राथमिकता दिँदै गर्दा शिक्षालाई पनि उत्तिकै जोड दिनुपर्ने धारणा राखे । आमजनताको विकास सबैको साझा एजेन्डा भएको बताउँदै उनले सबै जनप्रतिनिधिले समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा वर्ताैलाले जोड दिए । कार्यक्रममा सहभागी अतिथिहरुले गाँजा खेतीलाई वैधानिकता दिन पहलकदमी गर्नुपर्नेमा जोड दिइरहेका बेला मकवानपुर क्षेत्र नम्बर २ का सांसद वर्ताैलाले गाँजा वैधानिकता बनाउँछु आफूले भोट नमागेको र गाँजा बैधानिकता गर्दा धेरै चुनौती रहेको औंल्याए ।

बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले राक्सिराङ, कैलाशलगायतका विकट क्षेत्रको विकासमा आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए । संयुक्त राष्ट्रसंघले समेत गाँजालाई जडिबुटीजन्य बिरुवाको सूचीमा राखिएको भन्दै गाँजाखेतीलाई नेपालमा निश्चित कानुन बनाएर वैधानिकता दिन सबै एकजुट हुनुपर्नेमा जोड दिए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशसभाका पूर्वसदस्य ओम ग्लान, गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ, राष्ट्रिय स्वतन्त्र पार्टी राक्सिराङ अध्यक्ष राजन मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*