प्रजा माविका २७ विद्यार्थी परिवारलाई खाद्यान्न
हेटौंडा- मानवअधिकारको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था हिमराइट्स मकवानपुरले राक्सिराङ गाउँपालिका–५ स्थित प्रजा जागृति माध्यमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीका परिवारलाई खाद्यान्न प्रदान गरेको छ ।हिमराइट्सले आर्थिक अभावका कारण पढाइबाट बन्चित हुने सम्भावना भएका र पढाइ छाडेर श्रममा जान सक्ने जोखिममा रहेका विद्यार्थीका परिवारलाई चामल, चिउरा, दाल, तेलसहितका खाद्यान्न बितरण गरेको हो । हिमराइट्सकी कार्यक्रम संयोजक कुमारी वाइबाले आर्थिक अभावका कारण पढाइबाट बन्चित नहोस् भन्ने उद्देश्यले विद्यार्थीका परिवारलाई खाद्यसामग्री बितरण गरिएको बताइन् ।
खाद्यान्न हस्तान्तरण गर्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले खाद्यान्न, स्टेशनरी तथा पोशाकजस्ता कुराहरुको व्यवस्थापनले गर्दा विद्यार्थीहरु विद्यालयमा आउने वातावरण तयार हुने र बालबालिकालाई पनि पढाई सहज हुने भन्दै हिमराइट्सलाई धन्यवाद दिए । कार्यक्रममा नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशीलाल चेपाङ, सञ्चारकर्मीहरु, २७ जना विद्यार्थीका अभिभावकहरु, शिक्षक लगायतको सहभागिता रहेको थियो ।प्रधानाध्यापक सूर्यबहादुर प्रजाको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन अधिकारवादी एबम् माइती नेपालकी संयोजक माया लामाले गरेकी थिइन् ।







