मकवानपुरका दुईजना बेपत्ता पारेको आरोपित ‘तपस्वी’ बम्जन पक्राउ

निशा गुरुङ
२०८० पुष २५, बुधबार १२:१८

हेटौंडा-कुनै समय लिटिल बुद्ध भनेर चिनिएका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बूढानीलकण्ठबाट मंगलबार साँझ पक्राउ गरेको सीआईबी प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।बम्जनमाथि बारा, सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका युवतीलाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा फूलमाया रुम्बा र कर्म वाइबालगायतका अनुयायी बम्जनको आश्रमबाटै हराएको भनेर उजुरी परेपछि बम्जनविरुद्धका आरोप थियो । आश्रममा बस्ने गरेका दुईजना अनुयायी खोजीका लागि उजुरी परेकाले उनको आश्रममा प्रहरीले यसअघि पनि छापा मारेको थियो । तीव्ररुपमा बम्जनको आश्रमस्थलमा प्रहरीले निगरानी बढाइरहेको थियो । बम्जनको बुढानीलकण्ठस्थित निवासमा एक महिनादेखि प्रहरीले निगरानी गरिरहेको थियो ।

मकवानपुरकी फूलमाया रुम्बाका भाइ विजय रुम्बा र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबाले बम्जनबिरुद्ध प्रहरीमा उजुरी दिएका थिए । त्यस्तै, बाराका हस्तबहादुर आलेमगर र नुवाकोटकी गंगामाया तामाङ पनि बेपत्ता पारिएको आरोप बम्जनमाथि लागेको छ । बारामै केही स्थानीयमाथि हातपात गरेको आरोपमा उजुरी आएपछि २०६६ मा बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । २०६८ मा करिब तीन महिनासम्म दुईजना विदेशी महिलालाई बन्धक बनाएको आरोपपछि बम्जन प्रहरीको चर्को निगरानीमा रहेका थिए । तर, बम्जनलाई पक्राउ गर्न प्रहरी असमर्थ देखिएको थियो ।

ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । बमजनले बाराको रतनपुर गाउँनजिकैको हलखोरिया जंगलको ठूलो रुखमुनी बसेर २०६१ मा तपस्या सुरु गरेका थिए । उनले मुलुकको विभिन्न ठाउँमा आश्रम बनाउँदै आफ्नो वासस्थानसमेत फेरिरहने गरेका थिए । ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि अर्धभूमिगत बनेका थिए । उनी सम्पर्कविहीन भएपछि उनको खोजीमा सीआईबीको टोली ४ असार २०७७ मा तालिमप्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो।

तर, त्यो समय प्रहरीरित्तोहात फर्किन बाध्य भयो । बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २०रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन् । आश्रमभित्र आफ्ना लागि छुट्टैदरबार निर्माण गरेका छन् । बम्जनको आश्रममा छिरेका प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधासम्पन्न संरचना निर्माण गरेका थिए । आश्रमको चारैनाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेर सुबिधाभोगी बनेका थिए ।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसहितको आदेश दिएको थियो । तर, बम्जन अदालतमा हाजिर भएनन् । सर्लाही जिल्ला अदालतले २०७६ माघमा पहिलोपटक उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत पठाएको थियो ।

प्रहरीले बम्जनका आश्रमबाट यसअघि शब गलाउन प्रयोग गरिएका केमीकल सहित नुनका ढिकाहरु बरामद गरेको बताइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीले सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ बाडेगाउँ र सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेधापसार आश्रममा छापा मा¥यो । प्रहरीले बम्जनको आश्रमलाई अनुसन्धानको लागि भन्दै घेराबन्दीसमेत गरेको थियो । अनुसन्धानको लागि भन्दै सिन्धुलीबाट २ अनुयायी प्रहरीले पक्राउ गरेको थियो । तर, बम्जन प्रकरणबारे प्रहरीले अहिलेसम्म न ठोस तथ्य भेट्न सकेको थियो, न त खुलेरै लाग्न ।

बाराको रतनपुरीमा वि.सं २०४६ चैत २७ का दिन जन्मिएका विवादास्पद तपस्वी तथा बौद्धधर्मका गुरु, जसले गौतम बुद्धको पुनर्जन्मको कारण व्यापक ध्यान र सञ्चारमाध्यममा लोकप्रियता कमाएका थिए । आफ्नो नामदेखि लगाई खुवाई बेलाबेलामा परिवर्तन गरिरहने बम्जन हाल महासम्बोधि गुरु धर्मसंघको नामले परिचितछन् । उनको धार्मिक संगठन बोधिश्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङका अनुसार रामबहादुरदेखि धर्मसंघ बन्नेसम्मको बीचमा उनले आफूलाई तपस्वी पनि भन्ने गरेका थिए ।

बम्जनको सिन्धुपाल्चोक आश्रमबाटै हराएका भनिएका सञ्चलाल वाइबाको छोरा महेन्द्रले बाबु हराएको भनी जिल्ला प्रहरी कार्यालयका उजुरी गरेपछि बम्जन प्रकरणको रहस्य झनै संबेदनशील बन्दै गएको थियो । बम्जनले सञ्चलाललाई आश्रममै हत्या गरी बेपत्ता पारेको प्रमाणनजिक पुगेको प्रहरीले बताउँदै आएको थियो । तर, पछिल्लो सयम प्रहरीले बम्जनबारे अनुसन्धानकै क्रममा रहेको बताइरहेको थियो । यो धार्मिक बिषय पनि भएकाले गंभीर रुपमा अध्ययन गरेर मात्र एक्सनमा उत्रने तयारीमा प्रहरी लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*