बाबुलाई खुकुरी हान्ने छोराको समूहबाट मकवानपुरका तीनजना पक्राउ
हेटौंडा- चक्रवर्ती हबी एजुकेसन एकेडेमी, काठमाडौंको बिजुलीबजारका सञ्चालक देवेन्द्र भण्डारीमाथि उनकै छोरा निरज भण्डारीले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् ।बाबुछोराबीच कलेजको सम्पत्तिको विषयलाई लिएर विवाद बढेको थियो । विवादकाबीच सोमबार राति छोराले बाबुमाथि खुकुरी प्रहार गरेका हुन् । सोमबार राति बाबु देवेन्द्र समूहसहित राति कलेजमा प्रवेश गर्न खोज्दा कलेजभित्र समूह सहित नै रहेका निरजले बाबुमाथि खुकुरी प्रहार गरेका हुन् । समूहमा मकवानपुरका तीनजना युवाहरु पनि रहेको प्रहरीले जानकारी दिएकोछ । मकवानपुरका तीन युवा खुकुरीप्रहार गर्ने छोरा निरजको समूहमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
खुकुरी प्रहारबाट देवेन्द्र गम्भीर घाइते भएका छन् । सुरुमा उनको उपचार मीनभवनस्थित सिभिल अस्पतालमा भएको थियो । तर, अवस्था गम्भीर भएपछि उनलाई नर्भिक अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । उनको टाउको चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । यही घटनामा चितवन घरभई शंखमूल बस्दै आएका २२ वर्षीय सुरज रेग्मी पनि घाइते भएका छन् ।
सोमबार राति बाबुछोराको समूहबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यो प्रकरणमा छोरा निरजसहित २४ जनालाई पक्राउ गरी हिरासतमा राखेको हो । २४ जनामध्ये मकवानपुर हेटौंडा घरभई हाल ललितपुर चापागाउँ बस्ने वर्ष २८ का भीमलाल वाइबा, मकवानपुर घरभई हाल काठमाडौं चापागाउँ बस्ने २७ वर्षीय मनिष थिङ र मकवानपुर हेटौंडा घरहुने ३५ वर्षीय संचारसिंह भोलन पक्राउ परेका हुन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको बताएको छ ।







