मुख्यमन्त्रीले गरे कार्यप्रगति सार्वजनिक, उल्लेख्य काम गरेको दाबी
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले एकवर्षमा गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।२०७९ पुस २५ गते नेकपा माओवादी केन्द्रको नेतृत्वमा राप्रपा र नेकपा एमाले सम्मिलित तत्कालीन गठबन्धनबाट जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धन राष्ट्रिय निर्वाचनसम्म कायम रह्यो । अन्ततः फागुन १० मा राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको समीकरण बनेसँगै राप्रपा सरकारबाट अलग भयो भने चैत १० गते एमाले पनि सरकारबाट बाहिरियो ।
एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि हालको सत्ता गठबन्धनले मुख्यमन्त्री जमकट्टेल नेतृत्वको सरकारलाई समर्थन दिँदै सरकारमा सहभागी भएको थियो । २ पटक संसदबाट विश्वासको मत लिएर सरकार टिकाएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले एकवर्षको अवधिमा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।मुख्यमन्त्री जम्मकट्टेलले ६६ पृष्ठमा उल्लेख गरेको कार्यप्रगति प्रतिवेदनअनुसार पूर्वाधार निर्माणतर्फ यस अवधिमा प्रदेशमा २७२ किलोमिटर पक्की तथा १५९ किलोमिटर ग्राबेलस्तरको सडक निर्माण तथा स्तोरोन्नति भएको उल्लेख छ । २६ वटा झोलुंगे पुल निर्माण, पर्यटकीय तथा ऐतिहासिक महत्व रहेको दक्षिण एसियाको पहिलो सुरुङ मार्गको रुपमा परिचित चुरियामाई सुरुङमार्ग मर्मत भएको मुख्यमन्त्री जम्मकट्टेलले जानकारी दिए ।
२ वटा सरकारी, १७६ वटा सामुदायिक तथा अन्य भवन निर्माण, ६ वटा पार्क निर्माण, जनता आवास कार्यक्रम अन्तर्गत २५५ व्यक्तिगत आवास निर्माण भएको बताइएको छ । सामुदायिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर सुधारका लागि ९३ वटा दुई कोठे भवन निर्माण, १२८ वटा विद्यालय घेराबारा, ३३ वटा शौचालय तथा ३१ वटा खानेपानी निर्माण गरिएको, २३६ वटा खेलमैदान निर्माण, चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा प्रदेश सरकारले साझेदारी गर्नेगरी कार्यप्रारम्भ गरिएको बताइएको छ ।
सामुदायिक विद्यालयलाई विद्यार्थी आवागमन सहजताका लागि बस खरिदका गर्न अनुदान दिई सञ्चालनमा आएको र ११ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि सहजीकरण गरिएको बताइएको छ ।सडक मानवमुक्त प्रदेश स्थापनाका लागि मानवसेवा आश्रम हेटौंडा, मानवकल्याण समाज भक्तपुर र कोशिस नेपाल ललितपुरलाई अनुदान सहयोग तथा नर्सिङ् सेवाका लागि स्वयम्सेवक व्यवस्थापन गरिएको बताइएको छ ।
बागमती सरकारले अस्पतालको क्षमता तथा गुणस्तरीय सुधारका लागि भक्तपुर र हेटौडा अस्पताललाई ३०० शैया, सिन्धुली, त्रिशुली, बकूलहर रत्ननगर र धादिङ अस्पताललाई १०० शैया, मेथिनकोट, चौतारा, रामेछाप र पशुपति चौलागाईं स्मृति अस्पतालालाई ५० शैया, बज्रबाराही चापागाउँ, टोखा चण्डेश्वरी र रसुवा अस्पतालाई २५ शैयामा स्तरोन्नति गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताएका छन् ।
प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय मातहत रहेका १३ वटा प्रादेशिक र सबै अस्पतालमा विपन्न असहाय, बेबारिसे बिरामीको लागि कूल शैयाको १० प्रतिशत शैया निःशुल्करुपमा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिएको, प्रदेशमा बसोबास गर्ने लोपोन्मुख सीमान्तकृत जातिहरु, क र ख वर्गका अपा·ता भएका व्यक्तिहरु, आश्रमआश्रित असहाय नागरिकहरु र महिलाल सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य बीमाको प्रिमियम प्रदेश सरकारले व्यहोर्ने व्यवस्था गरेकोमा हालसम्म ६३७ परिवार संख्या आबद्ध भएको बताइएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उच्चस्तरको स्वास्थ्य जनशक्ति उत्पादनका लागि आवश्यक समन्वय सहजीकरण गरी बीपीएच, बीएस्सी नर्सिङ, बीफार्मेसी, बीएस्सी एमएलटी र एनेस्थेसिया असिस्टेन्ट कोर्सको पठनपाठन भइरहेको छ । सिन्धुली जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा गरिएको छ । एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत बागमती प्रदेशका ११९ स्थानीय तहमा ५१९ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तार भएको र थप २६४ विद्यालयमा कार्यक्रम विस्तार गर्ने बताइएको छ ।
प्रदेशका ८ जिल्लाका १० स्थानमा शीतभण्डारको निर्माण कार्य ५ प्रतिशत सम्पन्न, रसुवामा सञ्चालनमा आएको, दोलखाको जिरी, सिन्धुपाल्चोकको लिशंखुपाखर, सिन्धुलीको मुलकोट र रामेछापको मन्थलीमा परीक्षण सम्पन्न भएको, यी सबै शीतभण्डारमा करिब १५,०० मेट्रिकटन भण्डारणको क्षमता रहेको जनाइएको छ । हेटौंडामा निर्माणाधीन दूध पाउडर प्लान्टको निर्माण भई परीक्षण कार्य भइरहेको बताइएको छ । हेटौंडा–११ मा निर्माणाधीन प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।
धार्मिक÷ऐतिहासिक÷ पर्यटकीय÷पुरातात्विक महत्वका स्वयम्भु काठमाडौं, सन्तानेश्वर ललितपुर, डोलेश्वर भक्तपुर, भीमेश्वर दोलखा, पलाञ्चोक भगवती काभ्रे, गौरती भिमज सिन्धुपाल्चोक, भैरवी मन्दिर धादिङ, देवीघाट नुवाकोट, पार्वतीकुण्ड रसुवा, देवघाट चितवन, भुटनदेवी मकवानपुर, सिन्धुलीगढी सिन्धुली, खाँडादेवी मन्दिर रामेछापलाई प्रदूषणमुक्त क्षेत्र घोषणा गरी सरसफाई तथा स्वच्छता अभियान कार्य निरन्तररुपमा सञ्चालन भइरहेको जनाइएको छ ।
हेटौंडा कपडा उद्योग, हेटौंडा सिमेन्ट उद्योग, रिद्धिसिद्धि सिमेन्टको स्थलगत अवलोकन गरी अध्ययन प्रतिवेदन तयार गरिएको, सहकारीसम्बन्धी २३६ उजुरी परेकोमा ३४ सहकारी माथि छानवीन र कारवाहीका लागि नेपाल प्रहरी समक्ष लेखी पठाएको जनाइएको छ । २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षकारुपमा मनाउन २०८० पुस १६ बाट औपचारिकरुपमा सुरुवात् गरिएको बताइएको छ । बागमती प्रदेशमा जम्मकट्टेल नेतृत्वको सरकारले एक वर्षको अवधिमा ७ वटा ऐन जारी गरेको छ । नीतिगत सुधारतर्फ मुख्यमन्त्री जमकट्टेल नेतृत्वको सरकारले एकवर्षको अवधिमा २ वटा सालबसाली ऐन, ३ वटा मूल ऐन र २ वटा संशोधन ऐन जारी गरेको बताइएको छ ।
आर्थिक वर्ष २०७९÷८० यातायात क्षेत्रबाट कूल १२ अर्ब ४ करोड ७० लाख रुपैयाँ राजश्व संकलन भएको, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ३ अर्ब ७५ लाख रुपैयाँ संकलन भएको, २ लाख ४ हजार ८सय ६५ जनालाई नयाँ सवारी चालक अनुमतिपत्र वितरण गरिएको, १ लाख ७ हजार २ सय १९ वटा सवारी दर्ता गरिएको बताइएको छ । ३९४ वटा विद्युत पोल जडान भएको, २७ किमि ग्रामीण विद्युतीकरण र ४१ वटा सौर्य÷ विद्युतीय उर्जा जडान भएको, हालसम्म मर्मत बाहेकका ११५ वटा सिंचाई योजना सम्पन्न, ५२५ वटा सिंचाई योजना मर्मत, ४८६ वटा नदी नियन्त्रण योजना सम्पन्न भएको जनाइएको छ ।







