जेष्ठ नागरिकलाई उपमहानगरको अभिमूखीकरण
हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा रहेका जेष्ठ नागरिकका पदाधिकारीका लागि अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । उपमहानगरपालिका महिला तथा बालवालिका महाशाखाको आयोजनामा दुईदिने अभिमूखीकरण सुरु भएको हो ।बुधबार र बिहीवार सञ्चालन हुने अभिमूखीकरणको जेष्ठ नागरिक मञ्च बागमती प्रदेशका अध्यक्ष बुद्धिप्रसाद पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा संविधानले व्यवस्था गरेअनुसारको कानुनी प्रकृया, अधिकारको बारे जानकारी, योजना तर्जुमा प्रकृयामा सहभागिता कसरी जुटाउन सकिन्छ र जेष्ठ नागरिकको स्वास्थ्य उपचारको बारेमा जानकारी गराइने महाशाखाले जनाएको छ ।
अभिमूखीकरणमा हेटौंडा उपमहानगरपालिका–२ का अध्यक्ष बिष्णुगोपाल महर्जनले जेष्ठ नागरिकप्रतिको सम्मान घट्दै गएकोप्रति सचेत हुन जरुरी रहेको बताए । उनले बुढ्यौली लाग्दै जाँदा परीवारका सदस्यबाट छुटिनु पर्ने, धेरै ध्यान नदिने समस्या देखिएकाले सचेतनाका कार्यक्रम सञ्चालन गर्दै जेष्ठ नागरिकप्रतिको सम्मानलाई गुम्न नदिने वाताबरण बनाउन जरुरी रहेको बताए ।उनले जेष्ठ नागरिकको मनोभावनालाई समेट्नका लागि २ नम्बर वडा कार्यालयले आउँदो फागुनबाट जेष्ठ नागरिक सेवाकेन्द्र सञ्चालन गर्न लागेको बताए । बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने केन्द्रमा जेष्ठ
नागरिकले आफ्नो समय बिताउन सक्ने बताइएको छ ।
कार्यक्रममा जेष्ठ नागरिकले पाउने यातायात छुटको सुबिधा उपमहानगरमा लागु भएकाले कार्यान्वय प्रकृयामा लैजान माग गरेका थिए । मञ्च बागमती प्रदेशका अध्यक्ष पौडेलले राजधानी सहर भएपनि यातायात व्यवसायीले काठमाडौं सहित अन्य जिल्लामा जस्तो जेष्ठ नागरिक सिट र छुटको व्यवस्था कार्यान्वयन नगरेकाले उपमहानगरले भूमिका निर्वाहगरिदन आग्रह गरेका थिए ।नगरस्तरीय मञ्चले नगरका पाँच वडामा जेष्ठ नागरिक भेला गर्ने तयारी गरेको छ । मञ्चका नगरस्तरीय अध्यक्ष रामचन्द्र ढकालले नगरका ४, ७, १४, १७ र १९ नम्बर वडामा जेष्ठ नागरिक र बालबालिकासँग अन्तरक्रिया गर्ने तयारी गरेको बताए ।
नगरस्तरीय अध्यक्ष ढकालको अध्यक्षतामा भएको अभिमूखीकरणमा महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, महाशाखाका मन्दिरा थापा, जेष्ठ नागरिक मञ्च जिल्ला अध्यक्ष हरिप्रसाद सिग्देलको आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडामा गठित १९ वटै वडाका जेष्ठ नागरिक मञ्चका पदाधिकारीको सहभागिता रहेको थियो । अभिमूखीकरण कार्यक्रमको सहजीकरण उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख लामिछानेले गरेकी छन् ।







