थाहानगरको १४ औं नगरसभाः २५.८८ प्रतिशत वित्तीय प्रगति
हेटौंडा-थाहा नगरपालिकाको १४ औं नगरसभा बुधबार भएको छ । पालुङ जेसीज सभाहलमा भएको सभाले चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्मको समीक्षा सहित केही आयोजना संशोधन तथा रकमान्तर गर्ने निर्णय गरेको छ । सभाले समीक्षा र रकमान्तरको प्रस्तावहरु बहुमतले पारित गरेको हो ।नगरपालिकाले १३ औं नगरसभापश्चात् गरेको कार्यक्रमको समीक्षात्मक वक्तव्य नगरउपप्रमुख भरत गोपालीले सभामा प्रस्तुतगरेका थिए । उपप्रमुख गोपालीले चालु आर्थिक वर्षको हालसम्म २५.८८ प्रतिशत वित्तीय प्रगती हासिल भएको बताए । जसमा चालु खर्च ३५.७९ प्रतिशत र पुँजीगत १३.३ प्रतिशत वित्तीय प्रगती भएको उल्लेख गरे । पालिकाको विषयगत क्षेत्रतर्फ कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ ३५.०१ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १५.६ प्रतिशत, पूर्वाधार विकास क्षेत्रतर्फ १५.९२ प्रतिशत, सामाजिक विकास क्षेत्रतर्फ ३६.६१ प्रतिशत र आर्थिक विकास क्षेत्रतर्फ ६.७६ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ ।
चालु आर्थिक वर्षका लागि १ अर्ब ३ करोड ७० लाख ६४ हजार ८ सय ३५ रुपैयाँको बजेट स्वीकृत गरेको थाहा नगरपालिकालाई हालसम्म ४८.२२ प्रतिशत वास्तविक आय भएको उपप्रमुख गोपालीले सभामा जानकारी गराए । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ७ वटा कार्यविधि पारित गरेको, आर्थिक वर्ष २०७८÷७९ सम्मको बेरुजुमध्ये ५ करोड ५० लाख फछ्र्यौट गरेको, अनुमानित आन्तरिक आयमध्ये ६ करोड ३४ लाख ८१ हजार ९ सय २९ अर्थात २६.०९ प्रतिशत राजश्व संगलन भएकोलगायतका उपलब्धीहरु सभामा उपप्रमुख गोपालीले जानकारी गराए ।
यसैबीच थाहा नगरपालिकाको १४ औं नगरसभाले २ करोड ५७ लाख बजेट रकमान्तर गरेको छ । सभाले विभिन्न वडागत ४६ लाख, सहकारी शाखाको ५० हजार, प्रशासन शाखाको ५ लाख, वातावरण शाखाको ७ लाख, खेलकुद विकासतर्फ ५ लाख, सामाजिक विकासको ८ लाख, पशु विकासको १४ लाख, शिक्षाको ६ लाख बजेट रकमान्तर गरेको हो । त्यस्तै सूचना प्रविधिको ५ लाख ५० हजार, कृषिको ५ लाख ५० हजार, स्वास्थ्यको ५ लाख २५ हजार र योजना महाशाखा अन्तर्गत १ करोड २ लाख बजेट रकमान्तर भएको नगरपालिकाले जनाएको छ ।
सभाले करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने, पालिकाको कर्मचारी संगठन संरचना, राजश्व परामर्श समितिले सिफारिस गरेको निर्णयलाई समेत बहुमतले पारित गरेको छ । त्यस्तै नगरसभाअन्तर्गत रहने गरी विधायन समिति र लेखा समिति गठन तथा विकास तथा सुशासन समितिमा एकजना सदस्य थप गर्ने निर्णय समेत गरेको छ । नगरसभाकै अवसरमा थाहा नगरपालिकामा लामो समयसम्म करार सेवामा रही सेवानिवृत्त भएका धनलाल देउला, धनमायाँ देउला, तेजबहादुर थिङ र लोकबहादुर श्रेष्ठलाई जनही ५० हजार नगदसहित सम्मान तथा विदाई गरेको छ । सभामा सबै जनप्रतिनीधि, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासन महाशखा प्रमुख नबीन खालिङ लगायत पालिका तथा वडा कार्यालयका कर्मचारीको उपस्थिति थियो ।







