अग्रगति साकोसको कारोबार दुई करोड ३० लाख
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१, स्थित अग्रगति बचत तथा ऋण सहकारी संस्थाको बुधबार ११ औँ वार्षिक साधारणसभा भएको छ ।संस्थाका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सभा भएको हो । सभामा संघका अध्यक्ष श्रेष्ठले सहकारीका नीति, विधि र नियमबारे जानकारी गराएकी थिइन् । उनले बचत र ऋणको कारोबार गर्दै आइरहेकाले अब शेयर सदस्यलाई उत्पादन र व्यावसायिक बनाउनेतर्फ ध्यानदिन आग्रह समेत गरकी थिइन् ।
सहकारीले आव ०७९÷८० मा दुई करोड ३० लाख १७ हजार ८८६ रुपैयाँको कारोबार गरेको छ । ७३६ जना शेयर सदस्य रहेको सहकारीमा ५५ लाख ८४ हजार ५ सय शेयरपुजीँ रहेको छ भने जगेडा कोषमा ६ लाख २२ हजार ९०८ रुपैयाँ रहेको संस्थाका व्यवस्थापक दिव्या सापकोटाले बताइन् । सहकारीले सदस्यलाई दुई करोड १० हजार ७२४ रुपैयाँ कर्जा लगानी गरेको र संस्थाको बचत निक्षेप भने एक करोड ८ लाख ८६ हजार ९६४ रुपैयाँ रहेको व्यवस्थापक सापकोटाले बताइन् ।
सभामा अध्यक्ष श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक कारोबारको प्रतिवेदन कोषाध्यक्ष प्रल्हाद मिश्रले प्रस्तुत गरेका थिए ।सभामा लेखासदस्य रमा तिवारीले लेखासमितिको र ऋण समिति संयोजक मीनु अग्रवालले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।सभामा जेष्ठ शेयर सदस्यतर्फ यदबहादुर आलेमगर र मीनाकुमारी स्याङ्तान, उत्कृष्ट बचततर्फ यमलाल लामिछाने र देवनारायण साह र एसईइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विविज्ञ बर्तौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बललामा, संस्थाका सल्लाहकार प्रकाश खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।







