‘भ्रष्टाचार देशको महारोग, नरोके विकास असम्भव’
हेटौंडा- बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले देशको विकासका लागि भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिएका छन् ।उनले भ्रष्टाचार नियन्त्रण बिना देशको विकास नहुने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बिहीबार गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाबिना देशमा विकास र समृद्धि सम्भव नभएको बताएका हुन् । उनले भ्रष्टाचार देशको महारोग भएको बताए ।
मन्त्री श्रेष्ठले भ्रष्टाचार राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सबैतिर फैलिएको बताए । उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न उच्चनेतृत्वले जीवन व्यवहारमा उच्चनैतिक मानक कायम गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले भ्रष्टाचारलाई अपराध कर्मको रुपमा लिदैँ देश र जनताको सेवा नै पवित्र कर्म हो भन्ने मान्यतालाई दह्रोसँग स्थापित गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । उनले सम्पत्ति र सत्तालाई शक्तिको स्रोत ठान्ने संस्कृतिलाई बदल्नुपर्ने बताए ।
उनले भ्रष्टाचारीलाई कानुनी कारबाहीसँगै सामाजिकरुपमा समेत बहिष्कार गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरे । मन्त्री श्रेष्ठले अहिलेको निर्वाचन प्रणाली नै भ्रष्टाचारको ठूलो मुहान भएको दाबी गरे । उनले प्रत्यक्षको विशेषतासहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न पहल गर्नुपर्ने बताए । निश्चित मापदण्डका आधारमा दललाई राज्यले चुनावी खर्च उपलब्ध गराउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।







