रुपचन्द्र विष्टको शालिकमा माल्यार्पण
हेटौंडा-थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको ९० औं जन्मजयन्तीको अवसरमा थाहा नगरपालिकामा रहेको स्व. विष्टको शालिकमा माल्यार्पण गरिएको छ ।थाहा नगरपालिका मेयर विष्णु विष्ट र उपमेयर भरत गोपालीले विष्टको तस्विरमा फूलको मालाले माल्यार्पण गरेका थिए । थाहा नगरपालिकामा–३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका पत्रकारद्वय सुजन ढकाल, राजुकमार केसी र जनकल्याण माध्यमिक विद्यालयमा शिक्षाक्षेत्रमा योगदान पु¥याउनु भएका कृष्णबहादुर विष्टलाई सम्मान गरिएको थियो । उनीहरुलाई थाहा नगरपालिकाका मेयर विष्ट र उपप्रमुख गोपालीले सम्मान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर विष्टले थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टलाई सम्झनाको लागि थाहा नगरपालिकाले वृहत अन्तरक्रियाको कार्यक्रम आयोजना गर्ने बताए । ‘रुदानेको सुशासनलाई लिएर अगाडि बढिरहेका छौँ ।’, उनले भने, ‘रुपचन्द्र विष्टले गर्नुभएको काम र विचारलाई लिएर एउटा किताब पनि प्रकाशन गर्नेछौँ । नगरपालिकाले बजेट विनियोजित गरी थाहा दर्शनको बारेमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गर्नेछौँ ।’,
कार्यक्रममा सम्मानित विष्टले रुपचन्द्र विष्टकै योगदानबाट आफू अहिले यो ठाउँसम्म उभिएको धारणा ब्यक्त गरे । थाहा नगरपालिकामा ४० वर्ष शिक्षाक्षेत्रमा योगदान गरेका विष्टलाई विहीबार सम्मान गरिएको हो । यसैगरी फरक सोचका अभियन्ता यादवजंग रायमाझीले थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्न फरक सोचले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।‘थाहा फैलाउन र चिनाउन फरक सोचले काम गर्दै आइरहेको छ ।’, उनले भने, ‘आफू विदेश रहँदा रुपचन्द्र विष्टको स्मृतिमा सप्ताहव्यापी कार्यक्रम हुने गर्दथ्यो । अहिले एकदिने कार्यक्रम आयोजना गरेतापनि उनको आस्था र विचार खुम्चेको छैन ।’ थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको जन्मजयन्तिको अवसरमा फरक सोचले विगत वर्षदेखि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।







