उद्योग संघ मकवानपुरमा शर्मा

मयुरधाप औद्योगिक क्षेत्र पीपीए मोडलमा निर्माण गर्ने तयारी
साझाकुरा
२०८० पुष २९, आईतवार १०:४६

हेटौंडा-उद्योग मन्त्री रमेश रिजालले मयुरधाप औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण गर्ने तयारी भइरहेको बताएका छन् । मन्त्री रिजालले निर्माणका क्रममा आइपरेको बाधा अड्चनलाई समाधान गर्नको लागि सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बताएका हुन् । उद्योग संघ मकवानपुरको २२ औं वार्षिक साधारसभालाई शनिबार हेटौंडामा सम्बोधन गर्दै मन्त्री रिजालले हेटौंडाको प्रस्ताबित मयुरधाप औद्योगिक क्षेत्र पीपीए मोडलमा निर्माण गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिए । मन्त्री रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि संभव नभएको र यसका लागि सार्वजनिक निजी साझेदारी पीपीए मोडलमा काम गर्नुपर्ने बताए । निजीक्षेत्रसँगको समन्वय र सहकार्यले सरकारको काम गर्नुपर्ने आवश्यक रहेको मन्त्री रिजालको धारणा रहेको थियो ।

देशको समग्र सामाजिक र आर्थिक विकासमा निजीक्षेत्रले दिगो र फराकिलो आधार तयार गर्न सक्ने बताउँदै मन्त्री रिजालले भने,–‘निजीक्षेत्र भनेको देशमा रोजगारी सृजनाका साथै औद्योगिक विकासको प्रमुख माध्यम हो निजीक्षेत्रको सक्रिय सहभागिता भएका मुलुकमा औद्योगिक विकासका साथै आर्थिक विकास पनि राम्रो भएको देखिन्छ । निजीक्षेत्रको अधिकतम क्रियाशीलताले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास सम्भव हुन्छ भन्नेमा वर्तमान सरकार विश्वास राख्दछ । ’देशमा औद्योगिक विकासको लागि सरकार आफैंले उद्योग सञ्चालन गर्ने भन्दा पनि निजीक्षेत्रलाई उद्योग, कलकारखाना सञ्चालनको लागि अनुकूल वातावरण बनाइदिनुपर्छ भन्ने मन्त्री रिजालको धारणा थियो । यसका निम्ति वर्तमान सरकारले आवश्यक नीति, नियम तर्जुमा गर्ने, लगानीको वातावरण बनाउने, औद्योगिक सुरक्षाको प्रत्याभूति दिने, सरोकारवाला निकायवीच समन्व गर्ने गराउने, करमा सहुलियत दिने, नवप्रवर्तन र स्टार्टअपलाइ अवसर दिने जस्ता विषयमा ध्यान केन्द्रित गरी सोही अनुरुप काम गरिरहेको उनले बताए ।

औद्योगिक क्षेत्रको पूर्वाधारहरु निर्माण गर्न मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेको बताउँदै मन्त्री रिजालले क्रमशः पूर्वाधारको विकास र सुधार हुँदै जाने विश्वास व्यक्त गरे । औद्योगिक क्षेत्रको विद्युत क्षमता बढाउनको लागि विद्युत प्राधिकरणसँग क्षमता विस्तार गर्ने सन्दर्भमा पहल भइरहेको समेत उनले जानकारी दिए । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको पूर्वाधारलाई प्रयोग गरी नेपाली सेनाद्वारा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव प्राप्त भएको मन्त्री रिजालले जानकारी दिए । मकवानपुर औद्योगिक क्षेत्रमा हाल प्रयोगविहीन रहेका संरचना तथा जमीनमा नयाँ उद्योग प्रवद्र्धन गर्नको लागि आवश्यक निर्देशन दिईसकेको बताउँदै मन्त्री रिजालले लामो समयदेखि औद्योगिक क्षेत्रको जमीन लिजमा लिने तर, उद्योग स्थापना नगर्ने, एउटा प्रयोजनको लागि जमीन लिने तर, अर्कै प्रयोजनमा प्रयोग गर्ने वा अर्को व्यक्तिलाई भाडामा दिने जस्ता प्रवृत्तिलाई अब पूर्णतः नियन्त्रण गरिने दाबी गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन नहुँदा समस्या सिर्र्जना भएको र यो औद्योगिक क्षेत्र संचालनमा आएको अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्षगरी ३०÷४० हजारले रोजगारी पाउने भन्दै सरकारको ध्यानाकर्षण गराए । सभापति सिंहले राजनीतिक दलमा आवद्ध भयो भन्दैमा हलीगोठालालाई पनि राजनीति नियुक्ति दिन नहुने बताए । हेटौंडा सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुग्नुमा अक्षम राजनीतिक नियुक्ति भएको सभापति सिंहले बताए ।

प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले सचेतक महेशकुमार बर्ताैलाले २०७२ सालमा प्रकृया अगाडि बढाएको मयुरधाप औद्योगिक क्षेत्रलाई घोषणा गरेपनि वन मन्त्रालयले मध्यवर्ती क्षेत्र देखाएर रोकेको बताए । बर्तौलाले मयुरधाप औद्योगिक क्षेत्रमा मध्यवर्ती क्षेत्रले सिर्जना गरेको समस्या र वन मन्त्रालयको निकुञ्ज विभागको दादागिरिले पूर्वाधार निर्माण गर्न र प्रकृया अगाडि बढाउन बाधक बनेको समस्यालाई खुलाउन उद्योग मन्त्री रिजाललाई आग्रह गरे ।

प्रदेश सांसद तथा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले उद्योगको क्षमता हेरेर सञ्चालन गर्नुपर्ने बताए । बानियाँले आर्थिकमन्दीका कारण उद्योगी मर्कामा परेको बताउँदै मजदुरलाई तलब खुवाउन पनि समस्या भएको र सरकारले उद्योगमैत्री नीति निर्माण गर्न आवश्यक रहेको दाबी गरे । सरकारले विकास खर्च गर्ने क्षमता बढाउन सके अर्थतन्त्र चलायमान बन्ने नेता बानियाँले दाबी गरे । ८ वर्ष अघि घोषणा भएर तीनपटक शिलान्यास भइसकेको हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र सञ्चालनमा आएको खण्डमा ६२ वटा उद्योग स्थापना हुने र कम्तिमा २१.३ करोड प्रवेश शुल्कबापत सुरुमै आम्दानी हुने उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए । मयुरधाप औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगले चार हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने र १० प्रतिशत
राजश्वमा योगदान हुने संघका अध्यक्ष प्याकृुरेलले बताए ।

मयुरधाप औद्योगिक क्षेत्रमा १६६.०८ जग्गा सम्भौता भइसकेको र सम्झौता भएको ७÷८ वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको उनले बताए । सरकारको नीतिगत निर्णयले गर्दा सञ्चालन आउन नसकेको बताउँदै अध्यक्ष प्याकुरेलले हेटौंडा कपडा उद्योग चल्ने नचल्ने भन्ने कुरा बर्षौदेखि सुनिरहेको भन्दै सरकारलाई सञ्चालन गर्न नसक्ने हो भने निर्णय गरेर अन्य उद्योगलाई दिन सुझाव दिए । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले हरेक आर्थिक वर्षमा ल्याउने गरेको बजेट, नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन नसकेको कारण पनि आर्थिक क्षेत्र चलायमान बन्न नसकेको बताउँदै सार्वजनिक खरिद ऐनलगायत बाधक ऐनहरु संशोधन गर्न ठिला गर्न नहुने धारणा राखे । कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्त, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहीरा पाठकलगायतले सरकारले लागनीमैत्री वातावरण तयार गर्न नसकेको बताए ।

संघको अध्यक्षमा शर्मा निर्वाचित

उद्योग संघ मकवानपुरको २२ औं साधारणसभा तथा अधिबेशनले बद्रीनाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा श्रीहरि मास्के, उपाध्यक्षमा किशोर अर्याल र बासु कार्की, सुदर्शनप्रसाद अधिकारी, महासचिवमा सुयशराज पराजुली, सचिवमा श्यामप्रसाद ढकाल र शिरोमणि प्याकुरेल, कोषाध्यक्ष बुद्धराज अर्याल, सहकोषाध्यक्ष दिवस चौलागाई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिहर अर्याल, लिलाचन्द्र तिमल्सिना, नवराज मिश्र, ज्ञानराज लामा, केदार अर्याल, समीक्षा दाहाल, सुकृतराज पराजुली, मनोज रावल चयन भएका छन् । दुईवर्षे कार्यकाल रहने समितिको १ जना सदस्य पछि मनोनित गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*