चित्लाङ आइरहेको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

साझाकुरा
२०८० पुष २९, आईतवार ११:११

हेटौंडा-काठमाडौंबाट मकवानपुरको थाहा नगरपालिका–९, स्थित चित्लाङ क्षेत्रतर्फ आइरहेको सवारीसाधन दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु भएको छ ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा शनिवार दिउँसो भएको सवारी साधन दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उपचाररत् बालिका गौतम अगाडि चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट चित्लाङ तर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनाबाट चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा काठमाडौं मैतिदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, सोही स्थानका ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं लाजिम्पाटका डा. महेशकुमार गौतम र सोही ठाउँका चारवर्षीय प्रियान्स गौतम थिए ।

दुर्घटनामा स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । चित्लाङ–चन्द्रागिरी सडक खण्डअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर–४ सेतेपहरोमा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । यो सडकखण्ड समयमै निर्माण हुन सकेको छैन । सडक निर्माण समयमै नहुनुमा सरकार र निर्माण कम्पनी दुवै दोषि रहेको भन्दै स्थानीय सर्वसाधारण विगतदेखि नै दुःखित छन् ।

दुर्घटनामा परेका उनीहरु शनिबार पर्यटकीयक्षेत्र चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ । काठमाडौंबाट नजिकै पर्ने चित्लाङ घुम्न आउने धेरै छन् । हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ । छोटो दुरीका अन्य सडकहरु बन्द रहेकाले उनीहरु चित्लाङ–चन्द्रागिरी सडकबाट आएको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*