हेटौंडा जेसीजमा नयाँ कार्यसमितिको पदस्थापना
हेटौंडा-हेटौंडा जेसीजको ४६ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । पुष १४ गते भएको निर्वाचनबाट निर्वाचित वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठसहित जेसीज टिमको पदस्थापना भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले स्थापना कालदेखि नै जेसीजले युवाको व्यक्तित्व, नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकोमा खुसी व्यक्त गरे । उनले जेसीजमा विधिको शासन, बन्धुत्वको भावना प्रष्ट देखिएको भन्दै जेसीजको एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणा निकै राम्रो भएको उल्लेख गरे ।
कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट एसइइ परीक्षामा जिल्लामै उत्कृष्ठ नतिजा ल्याउन सफल आधुनिक राष्ट्रिय माविकी छात्रा अन्सु कुमारीलाई नगद १० हजार १११ सहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकारिता क्षेत्रमा क्रियाशील रिपोटर्स क्लब नेपाल मकवानपुरका अध्यक्षसमेत रहेका अन्नपूर्ण पोष्टकर्मी बलराम पुडासैनीलाई नगद ५ हजार ५५५ सहित सम्मान गरिएको थियो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले उद्यमशीलताको विकास र युवामैत्री वातावरण बन्नुपर्नेमा जोड दिए । साथै युवाको रचनात्मकता र सृजनशीलतालाई विकास गर्न बहु आयामिक पहलकदमीकोआवश्यकतालाई औंल्याउँदै अब राज्य र युवाबीचको प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले आफ्नो कार्यकालमा सहयोग पु¥याउनेलाई मायाको चिनो वितरण गरेका थिए ।
कार्यक्रम बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ, जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष विकास मानन्धर, पूर्वअध्यक्ष अरुणेश्वर खनाल, वर्तमान कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवारलगायतले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे । पदस्थापनापश्चात अध्यक्ष श्रेष्ठले विस्तार गरेको ३५ जनाको कार्यसमितिले पद र गोपनीयताको सपथ लिएको छन् ।







