टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उद्घाटन

साझाकुरा
२०८० माघ १, सोमबार १३:४७

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१३, स्थित मेम्बर टोलमा रहेको टासी छ्योलिङ गुम्बाको नवनिर्मित भवन उदघाटन गरिएको छ ।टासी छ्योलिङ गुम्बाकी अध्यक्ष लक्ष्मी थिङको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले आईतबार टासी छ्योलिङ गुम्बाको १५ औं साधारणसभाको अवसरमा नवनिर्मित गुम्बा भवन उद्घाटन गरेका हुन् । २०७२ सालको भुकम्पबाट पूर्णरुपमा क्षति भएको गुम्बा संघीय सरकार, बागमती प्रदेश सरकार र वडाको सहयोग तथा स्थानीयको श्रमदान १ करोड १७ लाख रुपैयाँमा निर्माण गरिएको गुम्बाको उदघाटन गरिएको हो ।

साधारणसभा तथा गुम्बा भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेता बानियाँले तामाङ जातिको बाहुल्य रहेको मेम्बर टोलमा बौद्ध गुम्बाले सबै टोल समुदायमा रहेका जनतालाई एकजुट बनाउँदै सत्य र अहिंसाको बाटोमा लाग्न प्रेरित गर्ने विश्वास लिए । भुकम्पबाट क्षतविक्षत भएको गुम्बा स्थानीय समाजसेवी तथा अग्रजहरुको आग्रहमा आफूले प्रदेश सरकारबाट वजेट विनियोजनमा सहयोग गरेको बताउँदै नेता बानियाँले आगामी दिनमा पनि यसको घेराबारा तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, हेटौंडा–१३ का वडाअध्यक्ष पेम्बा लामा, बौद्ध धर्मगुरु निमा छोगेल लामा, गुम्बाका उपाध्यक्ष शंकरबहादुर थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*