मनहरीखोला किनारमा पाँचौ मनहरी महोत्सव

साझाकुरा
२०८० माघ २, मंगलवार १२:३९

हेटौंडा, १ माघ÷ मकवानपुरको दोस्रो ठूलो व्यापारिक केन्द्र मनहरी बजारमा पाँचौ संस्करणको मनहरी महोत्सव आयोजना हुने भएको छ । मनहरी महोत्सव यसवर्ष जिल्लाको तेस्रो महोत्सव हुनेछ ।यसअघि थाह नगरपालिका र हेटौंडामा महोत्सव आयोजना भइसकेका छन् । मनहरी महोत्सव यसअघि कोभिड–१९ का कारण रोकिएको थियो । माघ १६ गतेबाट महोत्सव सञ्चालन हुने आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिले जानकारी दिएको छ । मनहरी–७ स्थित रोटरी मार्केटमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संघका सभापति एबम् महोत्सव मूल आयोजक समितिका संयोजक गणेशमान मानन्धरले माघ १६ देखि सुरु हुने महोत्सव माघ २८ गते समापन हुने जानकारी दिए ।

महोत्सवको व्यवस्थापनका लागि सभापति मानन्धरको संयोजकत्वमा मूल समिति गठन भएको छ भने पश्चिम क्षेत्र समितिमा रहेका २३ जना कार्यसमिति सदस्य र पदाधिकारी सबैलाई फरकफरक बिषय र क्षेत्रका संयोजक तोकेर २३ वटा समिति निर्माण गरिएको छ । संघका निवर्तमान सभापति नारायण सुवेदीले पश्चिम मकवानपुरको मौलिक उत्पादनको प्रवद्र्धनमा महोत्सवले ध्यान दिएको बताए । ‘महोत्सवमा हामीले लोकल कुखुरा, घट्टमा पिसेको मकै, कोदोको पिठोको व्यापार राम्रो भएको देख्यौं ।’, निवर्तमान सभापति सुवेदीको भनाई थियो, ‘यसक्षेत्रका मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रवद्र्धन गर्न हामीले तत्परता देखाएका हौं ।’,

महोत्सवमा १५० वटा स्टल रहनेछन् । यीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपंक्षीलगायतको प्रवद्र्धनका लागि २० वटा स्टल सम्बन्धित पालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा हात्ती सफारीमार्फत् वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिने संघका महासचिव पदमबहादुर तितुङले जानकारी दिए । मनहरी महोत्सवको पाँचौ संस्करणमा आइपुग्दा फरक–फरक ३ स्थानमा आयोजना भएको छ । २०६७ सालमा पहिलो मनहरी महोत्सव राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको परिसरमा आयोजना भएको थियो भने त्यस यता मनहरी–८ स्थित बेलुवा बगर र मनहरी–७ स्थित माथिल्लो बजार मनहरी खोलाकिनारमा हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*