बाइरोड निर्माणको ७० वर्षः जेठो सडकको बलियो सहारा

साझाकुरा
२०८० माघ ३, बुधबार १२:०२

हेटौंडा-राजधानी काठमाडौंलाई मोफसल जोड्ने पहिलो राजमार्ग त्रिभूवन राजपथ निर्माण भएको ७० वर्ष पूरा भएको छ । पप्रायः वर्षायाममा काठमाडौंलाई जोड्ने सबै मार्ग अबरुद्ध हुँदा पनि त्रिुभुवन राजपथ भने खासै अवरुद्ध नहुने गरेको छ । वि.संं २०१० साल मंसिर २६ गते शुक्रबारका दिन तत्कालीन बडामहारानी कान्तिराज्यलक्ष्मीदेवीले थानकोटस्थित हालको चेकपोष्ट चोकमा देशकै पहिलो राजमार्गको शिलान्यास गरेकी थिइन् । तर राजमार्ग निर्माण कार्यले २०१३ सालदेखि तीब्रता पाएको थियो । २०१६ सालमा पूर्ण रुपमा संचालनमा आएको यो राजपथ नेपालको सबैभन्दा जेठो राजमार्ग मानिन्छ । जापान सरकारले बर्दिबास–बनेपा–काठमाडौं सडक खण्ड निर्माण गरेपछि नेपालको पूबी क्षेत्रबाट संचालन हुने साना सवारी साधनलाई सहज भएको हो ।

राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि यो राजमार्ग निर्माण गरिएको थानकोट चेकपोष्टमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ । भारत सरकारको आर्थिक, प्राविधिक सहयोगमा निर्मित ७२ माइल लम्बाइको यो सडक काठमाडौको थानकोटबाट मकवानपुरको भैंसे दोभानसम्म भारतीय वायुसेनाका चिफ इञ्जिनियर लेफ्टिनेण्ट कर्नेल एनबी ग्रान्टको प्रत्यक्ष निगरानीमा निर्माण सम्पन्न भएको थियो ।

यो राजमार्ग निर्माण सम्पन्न भएपश्चात थानकोट नागढुंगामा राजमार्ग निर्माणका क्रममा दिवंगत भएका श्रमिकहरुको सम्मानमा स्मारक निर्माण गरिएको थियो जुन सडक विस्तारका क्रममा हाल ध्वस्त भइसकेको छ । स्थानीयका अनुसार त्रिभूवन राजपथको निर्माणका क्रममा थानकोटका एक युवाको पनि निधन भएको थियो । यो राजमार्ग निर्माणका क्रममा कम्तीमा ९ जना श्रमिकले ज्यान गुमाएको बताइन्छ ।

पृथ्वी राजमार्गको निर्माण हुनुपूर्व काठमाडौंबाट तराई जोड्ने एकमात्र सडक मार्ग हाल सुनसान प्रायः छ । तथापी यसलाई तराई जोड्ने बलियो वैकल्पिक मार्गका रुपमा लिने गरिन्छ । साँघुरो एवम् घुम्तीहरु धेरै भएका कारण नेपालको पहिलो राजमार्ग त्यति सुरक्षित मानिँदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*