भैंसे–भीमफेदी सडक निर्माण चैतभित्र सकिन्छः मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानी हेटौंडा र काठमाडौं जोड्ने भैंसे–भीमफेदी सडकखण्ड अबको करिब ३ महिनाभित्रमा निर्माण सम्पन्न हुने बताएका छन् । बुधबार भैंसे–भीमफेदी सडकखण्डको अनुगमन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।वातावरणमैत्री हुनेगरी डबल लेनको सडकको रुपमा स्तरीकरण गर्ने सरकारको योजना रहेको थियो । ११ दशमलव ५१ किलोमिटर लम्बाई रहेको भैंसे–भीमफेदी सडकको निर्माणकार्यको अनुगमनको क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको कार्यभार आफूले सम्हाल्दै गर्दा यो सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको जानकारी दिएका छन् । २०७७ सालमा निर्माण सुरु गरिएको भैंसे–भीमफेदी सडक संघीय राजधानी र मध्यतराई जोड्ने सेतुको रुपमा रहेको छ ।
सडकको अनुगमन गर्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलालले विगतमा मुआब्जाको समस्याले निर्माण कार्य ढिलो भएपनि स्थानीय जनतासँगको छलफल पश्चात ठेक्का लगाएकाले निर्माण कार्यले गति लिएको बताए । भैंसे–भीमफेदी सडकको ८० प्रतिशत काम सकिएको बताउँदै अब २० प्रतिशत मात्रै काम सम्पन्न गर्न बाँकी रहेको मन्त्री दुलालले जानकारी दिए । सडक चौडा र टेवा पर्खाल, ड्रेन सहित करिव ९५ प्रतिशत काम सकिएको छ । हालसम्म २ किलोमिटर कालोपत्रे निर्माण पनि सम्पन्न भएको छ ।
त्यसैगरी बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताले आफ्नो गाउँ विकास गर्न सरकारलाई सहयोग गरेको कारण सडक निर्माण काम छिटो भएको बताइन् । बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका ईञ्जिनियर हरिप्रसाद ओझाले अनुमानित लागत ६३ करोड ७० लाख ६५ हजार ४ सय ४७ रुपैंया रहेकोमा ३८ करोड ७८ लाख ८ सय ९७ रुपैंयामा सम्झौता गराएर काम भइरहेको जानकारी दिए । यो सडकमा पर्ने पाँच पुलमध्ये ४ वटा निर्माणाधीन अवस्थामा रहेको छ भने एउटा पुल निर्माण सम्पन्न भइसकेको ओझाले बताए ।
२०७७ साल असार २४ गते ठेक्का लगाएको आयोजनाको दुईपटक म्याद थप भएकोमा अब काम अन्तिम चरणमा रहेको ओझाको भनाई छ । अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री दुलाल, सामाजिक विकास मन्त्री मोक्तान सहित आयोजनाका कर्मचारीहरु सहभागी रहेका थिए । राणाकालीन ईतिहास बोकेको यो सडकखण्डभारतीय सरकारको सहयोगमा निर्माण भएको थियो । अहिले नेपाल सरकाले पुननिर्माण गर्न लागेको हो ।
भीमफेदी–२, ४ र ६ नम्बर वडा भएर गएको यो सडक छेउमा रहेका घरजग्गा तथा अन्य संरचना हटाउन नसक्दा सडक निर्माण कार्यले गति लिन सकेको थिएन । सडक क्षेत्रमा भीमफेदी गाउँपालिकाका २ र ४ नम्बर वडाका केही व्यक्तिका घर पनि परेका थियो । घरधनीले मुआब्जा माग गरे पछि निर्माण कम्पनीले समयसीमाभित्र काम गर्न नपाएको जनाइएको छ । यो सडकमा पर्ने ४० मिटर लम्बाईको ढोकाफेदी खोलाको पुल र ६० मिटर लम्बाईको माण्डुखोलाको पुलको ठेक्का आह्वानको केही समय ढिलो गरी भएको थियो । २०७७ असार २४ गते कूल ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाँ लागतमा सडकस्तरोन्नति कार्यको ठेक्का सम्झौता गरिएको हो । एक वर्षभित्र निर्माणकार्य सक्ने गरी यो सडक स्तरोन्नति गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौंडाले निर्माण कम्पनी आशिष÷ डिएस जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।
जनताको सहयोगमा निर्माणकार्य दु्रतगतिमाः मन्त्री मोक्तान
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जनताको सहयोगमा मात्र विकास निर्माण कार्य छिटो सम्पन्न गर्न सकिने बताएकी छन् । भैंसे–भीमफेदी सडकखण्डको अनुगमन गर्ने क्रममा मन्त्री मोक्तानले यस्तो बताएकी हुन् ।मन्त्री मोक्तानले मकवानपुरका जनताले अनुमति दिएर आफ्नो जग्गाको मुआब्जा लिई सडक निर्माणमा सहयोग गरेकोले यो सडक निर्माण दु्रतगतिमा भइरहेको जनाउदै अब चैतसम्ममा निर्माणकार्य सम्पन्न हुने उनले बताइन् । मन्त्री मोक्तानका अनुसार २०७७ सालमा सडकको पहिलोपटक ठेक्का लगाउने क्रममा स्थानीयबासीसँगको छलफल कम भएकोले कार्यप्रगति निर्धारित समयमा हुन नसकेको भएपनि पछिल्लोपटक भने जनताले नै चाहेको हुनाले निर्माणकार्य दु्रतगतिमा अघि बढेको हो ।जनताले आफ्नो गाउँठाउँको विकास गर्न सरकारलाई सहयोग गरेको कारण सडक निर्माणको काम छिटो भएको उनले बताइन् । अनुगमनका क्रममा गाउँपालिकाका जनप्रतिनिधिलगायत स्थानीयवासीको उत्साहपूर्ण सहभागिता रहेको थियो ।







