प्रदेशभर सबैभन्दा बढी दुर्घटना हुने मकवानपुर दोस्रो जिल्ला
हेटौंडा-राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९÷८० मा १२ हजार ३६ वटा सवारी दुर्घटना भएका छन् ।दुर्घटनामा परी ४ सय ८२ जनाको मृत्यु, ९ सय ८७ जना गम्भीर घाइते र १० हजार ४ सय ६१ जना सामान्य घाइते भएका थिए । प्रदेशको १० जिल्ला (उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर बाहेक) सबैभन्दा बढी दुर्घटना चितवनमा हुने गरेको पाइएको छ । सबैभन्दा बढी सवारी दुर्घटना हुनेमा मकवानपुर दोस्रो जिल्लामा पदर्छ । बागमती प्रदेशको काठमाडौं उपत्यका बाहिर रहेका १० जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना चितवनमा भएको प्रतिवेदनमा उल्लेख छ ।
चितवनमा गत आर्थिक वर्ष ३ सय ६ वटा सवारी दुर्घटना भएका थिए । जसमध्ये घटनामा ७६ जनाको मृत्यु भएको थियो । आयोगको प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष मकवानपुरमा २ सय ५५, सिन्धुलीमा १ सय ८२,रामेछापमा ३३, दोलखामा २७, काभ्रेपलाञ्चोकमा १ सय ५६, सिन्धुपाल्चोकमा ५०, नुवाकोटमा ८१, धादिङमा २ सय ४९ र रसुवामा २२ वटा सवारी दुर्घटना भएका थिए ।गत आर्थिक वर्ष दुर्घटनामा परी मकवानपुरमा ६३, सिन्धुलीमा ३४, रामेछापमा ९, दोलखामा ४, काभ्रेपलाञ्चोकमा ४७, सिन्धुपाल्चोकमा १०, नुवाकोटमा १५, धादिङमा ३७ र रसुवामा ४ जनाले ज्यान गुमाएका थिए । सवारी दुर्घटनामा परी गत आर्थिक वर्ष २०७९÷८० मा चितवनमा ५ सय ८१, मकवानपुरमा ५ सय ९५, सिन्धुलीमा ३ सय ८६, रामेछापमा ९८, दोलखामा ५२, काभ्रेपलाञ्चोकमा ३ सय २७, सिन्धुपाल्चोकमा १ सय ९, नुवाकोटमा २ सय १० धादिङमा ४ सय ९७ र रसुवामा ३६ जना घाइते भएका थिए ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा आर्थिक वर्ष २०७९÷८० मा कुल १० हजार ६ सय ७५ वटा सवारी दुर्घटना भएका थिए । सवारी दुर्घटना गराउनेमा सबैभन्दा ठूलो संख्या २५ देखि ४० वर्ष उमेर समूहका चालक भएको पाइएको छ । काठमाडौंमा ७ हजार ५ सय ३७, ललितपुरमा १ हजार ९ सय ४६ र भक्तपुरमा १ हजार १ सय ९२ वटा दुर्घटना भएका थिए । गत आर्थिक वर्ष सवारी दुर्घटनामा संलग्न चालकमध्ये ९ हजार २ सय १७ जना २५ देखि ४० वर्ष उमेर समूहका थिए ।







