हेटौंडा सिमेन्टको उत्पादन माघ तेस्रो साताबाट सुरुगर्ने प्रतिबद्धता

साझाकुरा
२०८० माघ ५, शुक्रबार ११:५४

हेटौंडा-कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ ।आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकोमा सरकारले अनुदान उपलब्ध गराएमा माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना रहेको उद्योग कार्यालयले जनाएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले उद्योग व्यवस्थापनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष सरकारको तर्फबाट केही अनुदान उपलब्ध गराउन अनुरोध गरेको जानकारी दिए ।

यथाशीघ्र उद्योगलाई आवश्यक पर्ने कोइला आपूर्ति गर्नका लागि अनुदान उपलब्ध गराउन अनुरोध गरिएको जनाउँदै उनले माघ तेस्रो सातासम्ममा कोइला खरिद प्रक्रिया सुरु गरी सिमेन्टको उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए । उद्योगले सिमेन्ट उत्पादन गर्न आर्थिक संकटका कारण कठिनाइ व्यहोर्नु परिरहेको छ । उद्योग व्यवस्थापनले अहिले पर्याप्त आर्थिक स्रोत जुटाउने प्रयास गर्दागर्दै पनि तत्काल स्रोत जुटाउन नसक्दा बोलपत्र आह्वानमार्फत कोइला खरिद गरी ल्याउने कार्यमा अहिले अवरोध उत्पन्न भएको जनाएको छ ।

उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब तीन हजार मेट्रिकटन कोइला आवश्यक पर्ने र कोइलाले एक महिनासम्म सिमेन्ट उत्पादन गर्न पुग्ने उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार अहिले उद्योगको भण्डारणमा करिब छ सय मेट्रिकटन मात्रै कोइला मौज्दात रहेको छ । उद्योगबाट उत्पादित मौज्दात सिमेन्ट दुई लाख २५ हजार बोरा तत्काल बिक्री हुन नसकेकाले आर्थिक संकटआइपरेको कर्णले बताए ।

संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेशप्रसाद रिजालले केही दिनअघि उद्योगको आकस्मिक अनुगमन गरी के–कति कारणले आर्थिक संकट आइपरेको अवलोकन गरेका थिए । उनले जीर्ण भएका उपकरणलाई तत्कालै मर्मतसम्भार गरी सञ्चालन गर्ने विषयमा पनि जानकारी लिएका थिए । त्यस अवसरमा मन्त्री रिजालले उद्योगलाई यथाशीघ्र सञ्चालनमा ल्याउन प्रधानमन्त्री र आफ्नो मन्त्रालयले सक्दो अनुदानको व्यवस्था गराउनेतर्फ पनि विचारविमर्श भइरहेको जानकारी दिएको नायब महाप्रबन्धक कर्णले बताए ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने दैनिक १६ हजार बोरा लक्ष्य रहेको भए पनि अहिले विभिन्न उपकरण जीर्ण भइसकेकाले दैनिक १० हजार बोरा मात्रै उत्पादन गर्ने गरिएको जानकारी दिए । विसं २०३३ मा हेटौंडा सिमेन्ट उद्योग स्थापना गरिएकामा विसं २०४३ मङ्सिर २६ देखि व्यावसायिक रुपमा उत्पादन गरी काठमाडौंलगायत विभिन्न सहरमा बिक्री वितरण भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगमा प्रशासन, लेखा र मजदुर गरी एक सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*