मकवानपुरगढीको ३ करोड बजेट घट्यो, ८ योजना थप
हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०÷८१ मा बिनियोजित बजेटमा हेरफेर गरेको छ । चालु आवको हिउँदे अधिवेशनले यस्तो निर्णय गरेको हो ।८ नम्बर वडाको बुढीचौरमा १० औं गाउँसभा गर्दै गाउँपालिकाले संसोधनसहितको विनियोजन विधेयक र आर्थिक विद्येयक पारित गरेको छ । दुई विधेयक पारित भएसँगै गाउँपालिकाको कुल बजेटमा ३ करोड ३६ हजार कटौती भएको छ । अनावश्यक र खर्च गरेर रहेको बजेटबाट ३ करोड बजेट घटाइएको गाउँपालिकाले जानकारी दिएको छ । यसैगरी, गाउँसभाले १ करोड २६ लाख रुपैयाँ बजेट थप पनि गरेको छ ।
गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा भएको गाउँसभामा पालिका उपाध्यक्ष मानकुमारी नेपाली(पाख्रिन)ले संसोधन सहितको विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेकी थिइन् ।गाउँपालिका उपाध्यक्ष नेपालीले ८४ वटा योजनाबाट ४ करोड २६ लाख ३६ हजार बजेट घटाएर छुटेका ८ वटामा योजनामा १ करोड २६ लाख बजेट रकमान्तर गरिएको जानकारी दिइन् । चालू आवमा गाउँपालिकाले ७२ करोड ८२ लाख २ हजार ४ सय ६९ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । कुल बजेटबाट गाउँपालिकाले ४करोड २६ लाख ३६ हजार रुपैयाँ बजेट कटौती गरेकोमा गाउँसभाले १ करोड २६ लाखको बजेट थप गर्दा ३ करोड ३६ हजार बजेट घट्न पुगेको हो । गाउँपालिकाले कर्मचारीको तलब भत्ताबाट मात्रै ८० लाख रुपैयाँ कटौती गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।
विपद् व्यवस्थापन कोषबाट १० लाख, विपन्न वर्गको लागि स्वास्थ्य बीमा कार्यक्रमबाट १८ लाख, मनकामना–कालीखोल सडकको ३० लाख बजेट कटौती गरिएको छ । यसैगरी, सुकौरा–बुढीचौर सडकको २० लाख, वासुदेव मार्गको साना पुलपुलेसा निर्माण योजनाको २० लाख, झोलुङ्गे पुल साझेदारी कार्यक्रमको १० लाख, साइलेज उत्पादनसम्बन्धी योजनाको २५ लाख, पशुधन सुरक्षा बीमाको २० लाख लगायत गरेर ४ करोड २६ लाख ३६ हजार बजेट कटौती गरिएको थियो । गाउँसभाबाट अन्य फिर्ता शीर्षकमा ५ लाख, प्रतिलिटर दूध अनुदानमा ६० लाख, सामाजिक सुरक्षा भत्ता वितरणमा ४ लाख, कार्यालय व्यवस्थापन खर्चमा १० लाख, गाउँ प्रहरी तलब भत्तालगायत खर्चमा ३० लाखलगायतका योजनामा गरेर १ करोड २६ लाख बजेट थप गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए ।
उपाध्यक्ष नेपालीले प्रस्तुत गरेको आयव्यय विवरण अनुसार पालिकाले चालु आर्थिक वर्षमा ४३ दशमलव ३ प्रतिशत अर्थात ३१ करोड ५३ लाख ६१ हजार वास्तविक आम्दानी भएको छ । चालु आर्थिक वर्षको वितेको ६ महिनामा १८ करोड ३५ लाख ४ हजार खर्च अर्थात २५ दशमलव १८ प्रतिशत वित्तीय प्रगति हासिल भएको उनले जानकारी दिइन् । सभाले करारका कर्मचारीहरुको म्याद थप गर्ने, जिन्सी समान लिलाम, धुल्याउने र मिन्हा गर्ने, तलबी प्रतिवेदन स्वीकृत, आयव्यय विवरण समर्थन, आर्थिक र प्रशासनिक निर्णय अनुमोदन नियमावली कार्याविधि अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।
सभामा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वय गर्न बनेको विधेयक संशोधन समेत पास गरिएको छ । प्रस्तुत गरी विभिन्न प्रस्तावलाई पूर्वाधार विकास समितिका संयोजकसमेत रहेका वडा नम्बर २ का वडाध्यक्ष बखानसिं पाख्रिन र अर्थ समितिका संयोजक तथा ६ नम्बर वडाका वडाध्यक्ष कृष्णप्रसाद बजगाईले सर्मथन पश्चात सभाबाट प्रस्तुत भएका सबै प्रस्तावहरु बहुमतले पास गरिएको प्रवक्ता दिपेश दाहालले बताए । सभाले आर्थिक विधेयकको अनुसूची १२ (क) चालु आर्थिक वर्षका लागि नक्सा पास तथा नक्सासँग सम्बन्धित दररेट समेत पास गरिएको छ । गाउँसभामा वडाअध्यक्षहरु आइतसिं लो, बखानसिं पाख्रिन, भागवत घिमिरे, अर्जुनप्रसाद तिमल्सिना, दिपेश दाहाल, कृष्णप्रसाद बजगाईं, सूर्यबहादुर रुम्बा, कुमारसिं घिसिङसहित कार्यपालिका सदस्यहरु, वडासदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।







