राष्ट्रियसभा निर्वाचन बागमती प्रदेशका लागि आठ प्रकारका १७६० मतपत्र आइपुग्यो
हेटौंडा-आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ गरी निर्वाचन आयोगले सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ ।बागमती प्रदेशको निर्वाचन कार्यालय हेटौंडास्थित प्रदेश निर्वाचनको कार्यालयमा आयोगले मतपत्र पठाइदिएको छ । निर्वाचनका लागि ३८ प्रकारका कूल ६ हजार ९ सय १० मतपत्र छपाइ गरी पठाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।
यसअनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिन्ह रहेको मतपत्र छपाइ भएका छन् । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार प्रदेशगतरुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९ सय २० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९ सय ४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि ८ प्रकारका एक हजार सात सय ६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्र रहेका छन् ।
लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७ सय ४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका सात सय ५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९ सय मतपत्र रहेका छन् ।