सञ्चारकर्मीको अधिकार, चुनौती र समाधान विषयक कार्यशाला

साझाकुरा
२०८० माघ ६, शनिबार १०:५२

हेटौंडा- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने बताएका छन् । लोकतन्त्र र गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै उनले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने बताए ।नेपाल प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको नेपाली सञ्चारकर्मीको अधिकार, चुनौती र समाधान विषयक कार्यशालामा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थामा मात्रै नेपाली पत्रकारिता फस्टाउन सक्ने दावी गरे ।

‘निरंकुश शासन व्यवस्थामा नेपाली पत्रकारिता फस्टाउन सक्दैन, राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता शसक्त र जिम्मेवार भएमात्रै मुलुकमा सुशासन स्थापना गर्न सहज हुन्छ । त्यसकारण हामी सबैपक्षबीच समन्वय जरुरी छ ।’, उनले भने ।मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयको स्थापना गरी काम गरिरहेको स्पष्ट पारे । उनले महिना महिनामा पत्रकारसँग भेटघाटगरी सल्लाह सुझाव लिने, सरकारका गतिविधिबारे जानकारी दिने, सञ्चार क्षेत्रको हित प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकारिता क्षेत्र गुमेको विश्वास आर्जन गर्दै थप परिस्कृत एवम् परिमार्जित हुँदै अघि बढनुपर्ने बताए । नयाँनयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेको भन्दै पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, सञ्चारगृह स्वयम् पनि सँच्चिन तयार हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म बहस र विश्लेषण सहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । पत्रकारिताको अवस्था पत्रकारिताको विकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढेको भन्दै उनले ती समस्याको समाधान गर्न नेपाल पत्रकार महासंघले प्रयास गरिरहेको बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैंडाले पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि वा स्वतन्त्र पत्रकारिता स्थापनाका आवश्यक ऐन कानूनसमेत संशोधन गरेर अधि बढ्न आफूहरु तयार
रहेको बताए ।

कार्यक्रममा सञ्चार कानूनका जानकार अधिवक्ता संजीव घिमिरेले नेपाली सञ्चारकर्मीको अधिकार, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बागमती प्रदेश सञ्चार माध्ययम व्यवस्थापन ऐन २०७५ बारे चर्चा गर्दै आफ्नो कार्यालयले गरेका गतिविधि र पत्रकारिका क्षेत्रको सुधारका लागि सुझाव प्रस्तुत गरेका थिए ।प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलिप पौडेल, पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्य, मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, पूर्वअध्यक्ष प्रताप विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*