हेटौंडामा ‘महाराजधिराज ज्ञानेन्द्र राजा’ आउने प्रचार, गणतन्त्रवादी दलको ध्यानाकर्षण

साझाकुरा
२०८० माघ ७, आईतवार १०:५२

हेटौंडा-पूर्वराजा ज्ञानेन्द्र शाहले २९ जेठ २०६५ बाट नारायणी दरबार त्यागे । देशमा राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको स्थापना हुन पुग्यो ।ज्ञानेन्द्रले नारायणहिटी छोड्नु अघि २०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे शाही राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो । दोस्रो संविधानसभाबाट ०७२ असोज ३ मा जारी संविधानले गणतन्त्रलाई संस्थागत ग¥यो । यसबीचमा ज्ञानेन्द्र पूर्वराजाको हैसियतमा सम्मानित व्यक्तिको रुपमा रहँदै आइरहेका छन् । राजतन्त्रको अन्त्यपछि पूर्वराजा ज्ञानेन्द्र सक्रिय थिएनन् । उनी विगत ४–५ वर्षदेखि सक्रिय हुँदै आएका छन् ।

देश दौडाहकै क्रममा ज्ञानेन्द्र आज आइतबार हेटौंडा आउँदैछन् । उनले हेटौंडाको धार्मिकस्थलदेखि राप्रपाका कार्यकर्तासँगको भेटघाट गरेर दिनभर यतै बिताउने पूर्वनिर्धारित कार्यक्रम छ । राप्रपालेज्ञानेन्द्रको भ्रमणलाई हेटौंडा र ग्रामीण क्षेत्रमा पनि ‘माइकिङ’ गरेर प्रचार गरिरहेको छ । तर, राप्रपा मकवानपुरले गरेको प्रचार भने विवादित हुन पुगेको छ । राप्रपाले सञ्चारमाध्यमदेखि ब्यानरमै ज्ञानेन्द्रलाई ‘महाराजधिराज राजा सरकार’ भनेर प्रचार गरिरहेको छ । गणतन्त्रवादी दलहरुले ज्ञानेन्द्र शाहलाई ‘महाराजधिराज राजा सरकार’ भनेर प्रचार गर्नु भ्रमको खेती भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा प्रदेशसभा सांसद एकालाल श्रेष्ठले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर गरिएको प्रचार गलत भएको बताए । ‘राजा भनेर प्रचार गर्नु ठीक होइन । उनी पूर्वराजा पनि होइन, ज्ञानेन्द्र शाह हो’, श्रेष्ठले भने । ज्ञानेन्द्र शाहले धार्मिक क्षेत्रको पूजाआजा भनेर राजनीतिक गतिविधि गरिरहेकोप्रति गणतन्त्रवादी दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले ध्यानाकर्षण भइरहेको बताएका छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगरका सचिव सविन न्यौपानेले ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर गरिएको प्रचार भ्रमको खेतीको रुपमा टिप्पणी गरे ।
उनले बहालवाला राजाको जसरी प्रचार गर्नु गणतन्त्रको खिल्ली उडाएको बताए । ‘राजा नै नभएको बेला राजा भनेर प्रचार गर्नु गणतन्त्रको खिल्ली उडाएको हो । भ्रमको खेती गर्नेलाई कारबाही हुनुपर्छ ।’, उनले भने । उनले राजतन्त्रमा राजाको दमन र निरकुंशताविरुद्ध बोल्ने नागरिकलाई जेलनेलको सजाय दिने राजावादीले गणतन्त्रमा मिति सकिएको ‘राजा’लाई बहालवाला जसरी प्रचार गर्नु कुनै कोणबाट पनि ठीक नभएको न्यौपानेले बताए ।

नागरिकमा भ्रामक प्रचार हुँदा पनि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले संविधानले नै बोल्न दिएको र मान्न वा नमान्न सक्ने अधिकार पनि दिएको प्रतिक्रिया दिए । प्रशासनको ध्यानाकर्षण भए पनि उत्पन्न परिस्थितिलाई आंकलन गरेर कतिपय निर्णय नगर्नु पनि ठीक हुने उनको भनाई थियो । शान्तिसुरक्षाको दृष्टिकोणमा कुनै समस्या देखिए प्रशासनले आफ्नो तरिकाले काम गर्ने चापागाईं बताउँछन् ।

यता राप्रपा मकवानपुर भने ज्ञानेन्द्रलाई पूर्वराजा मान्न तयार छैन । राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेलले ज्ञानेन्द्रपछि दोस्रो राजा नभएको भन्दै राजा नै भन्नुपर्ने तर्क दिए । ‘उहाँ राजा नै हो । उहाँपछि दोस्रो राजा नै छैन । त्यही भएर उहाँ राजा हो ।’, डोटेलले भने ।धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजाआरधानाका लागि हेटौंडा आउन लागेका पूर्वराजा शाहसँग भेटघाट कार्यक्रमको तय र व्यवस्थापन राप्रपाले गरेको छ । पूर्वराजा ज्ञानेन्द्रलाई ७ गते दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागतगरिने आयोजक मूल समारोह समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले जानकारी दिए ।

सोही दिन दिउँसो साढे १२ बजे हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पूजाआराधना, साढे २ बजे हेटौंडा–१० स्थित भूटनदेवी मन्दिरमा पूजाआराधनासहित शुभेच्छुक भेटघाट र साढे ४ बजे रिगल हेटौंडा रिसोर्टमा खेलप्रमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गरी साँझ पुन सिमरा फर्किने कार्यतालिका रहेको सिंहले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*