मकवानपुर मुद्रण उद्योग संघको तेस्रो साधारणसभा
हेटौंडा- छपाईको काम जिल्ला बाहिर गएपछि मकवानपुरका मुद्रण व्यवसायीहरु चिन्तित भएका छन् । शनिबार हेटौंडामा भएको मकवानपुर मुद्रण उद्योग संघको तेस्रो साधारणसभामा व्यवसायीले मर्का परेको बताएका थिए ।साधारणसभालाई सम्बोधन गर्दै नेपाल मुद्रण व्यवसायी महासंघका केन्द्रीय सदस्य इन्द्र नेपालले मकवानपुरमा क्षमतावान व्यवसायी हुँदाहुँदै यहाँका कार्यालयहरु तथा निजी क्षेत्रले बाहिर काम लैजानु दुखद् भएको बताए । उनले सप्लायर्सहरुले पनि छपाईको काम लिएर अन्यत्र जिल्लामा जाँदा मकवानपुरका मुद्रण व्यवसायी मर्कामा पर्दै गएको बताए । संघ अध्यक्ष राजु नेपालको अध्यक्षतामा भएको साधारण सभाले सचिव पुरुषोत्तम ढकाल र कोषाध्यक्ष शंकरगोपाल खड्कीद्वारा पेश भएको प्रतिवेदन पास गरेको छ ।
साधारणसभाले वार्षिक कार्ययोजना बनाउने, मुद्रण व्यवसायीको लगानी, रोजगारी सिर्जना, राजश्वमा योगदान लगायतको सर्भे गर्ने निर्णय गरेको छ । कार्यक्रममा हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडाका वडाध्यक्ष सविन न्यौपाने, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, संघका संस्थापक अध्यक्ष गोकर्ण सुवेदी, निवर्तमान अध्यक्ष अजीव भट्टराई, पूर्वउपाध्यक्ष गोपाल कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।







