पूर्वराजा शाह दिनभर हेटौंडामा व्यस्त, ‘राजा’ लेख्न नपाएकोमा सरकारप्रति आक्रोश

साझाकुरा
२०८० माघ ८, सोमबार १०:४२

हेटौंडा- पूर्वराजा ज्ञानेन्द्र शाह बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार दिनभर व्यस्त भए । पूर्वराजा शाह आफ्नी छोरी प्रेरणा शाहसँगै हेटौंडा आएका हुन् ।बाराको सिमराबाट आफैं गाडी चलाउँदै आएका पूर्वराजा शाह पैदलयात्रा गरेर हेटौंडाको विभिन्न शक्तिपीठहरुमा पूजाअर्चना गरेका छन् । पूर्वराज्ञा ज्ञानेन्द्र शाहले बारा र मकवानपुरको सीमानामा पर्ने चुरियामाई मन्दिर, हेटौंडा–१३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बा र हेटौंडा–१० मा रहेको भुटनदेवी मन्दिरमा पूजाअर्चना गरेका छन् ।

उनले दिउँसो १ बजे चुरियामाई मन्दिरमा हिन्दु परम्परा अनुसार, दिउँसो २ः४५ बजे ज्याङ्छुपलिङ पोताला गुम्बामा बौद्ध परम्परा अनुसार र ४ बजे भुटनदेवी मन्दिरमा पूजाअर्चना गरेका हुन् । राजालाइ मुल समारोह समिति संयोजक दीपकबहादुर सिंहले स्वागत गरेका थिए । राप्रपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सिंह, राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु, उद्योगपति तथा व्यापारी एवम् हजारौँको संख्यामा रहेका सर्वसाधारणले पूर्वराजा रानीको स्वागत गरेका छन् ।

पूर्वराजाको स्वागतका लागि पुगेका राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुले नेपालको झण्डा बोकेका थिए । पूर्वराजा ज्ञानेन्द्रले साँझ हेटौंडा रिसोर्टमा सुभचिन्तकहरुसँग भेटघाटसमेत गरेका थिए । आइतबार दिनभर व्यस्त भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ भनेर लेख्न नदिएको भन्दै प्रतिनिधिसभा सदस्य सिंहले सरकारप्रति आक्रोश ब्यक्त गरेका छन् । शाहको हेटौंडा भ्रमणमा सडकक्षेत्रमा राखिएको स्वागत गेटमा राजा लेखिएको ब्यानर सच्याउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएको भन्दै उनी आक्रोशित बनेका हुन् । भ्रमण सकाएर शाह सिमरा फर्किएपछि पूर्वाधार विकास समिति सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य सिंहले साँझ पत्रकार सम्मेलन गर्दै राजा लेख्दा नै गणतन्त्रवादी सरकार डराएको आरोप लगाए ।

राप्रपाले सञ्चारमाध्यमदेखि ब्यानरमै ज्ञानेन्द्रलाई ‘राजा, महाराज धिराज’ भनेर प्रचार गरेको भन्दै जिल्लास्थित गणतन्त्रवादी दलहरु, नागरिक समाजले विरोध जनाएका थिए । शाहले धार्मिक क्षेत्रको पूजाआजा भनेर राजनीतिक गतिविधि गरिरहेकोप्रति गणतन्त्रवादी दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले ध्यानाकर्षण भइरहेको बताएका हुन् । बहालवाला राजाको जसरी प्रचार गर्नु गणतन्त्रको खिल्ली उडाएको नेताहरुको भनाई थियो ।शाहको स्वागतमा सांसद सिंहको संयोजत्वमा ११११ सदस्यीय समिति बनाइएको थियो । समितिले हेटौंडा बजारका विभिन्न क्षेत्रमा स्वागत गेट निर्माण गर्दा ‘राजा ज्ञानेन्द्र बीरविक्रम शाहदेव’ लेखिएको थियो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा प्रहरीले बिहान पूर्वराजा लेख्न लगाएको थियो । नेता सिंहले प्रशासनबाट राजा ज्ञानेन्द्रवीरबिक्रम शाहदेव अगाडि पूर्व पनि लेख्नपर्छ भनेर दबाब आएको बताए ।

‘बिहानै प्रशासनबाट फोन गरेर पूर्वराजा लेख्न प¥यो भनेर मलाई भने । मैले जे–जे भन्छ त्यही लेख्न मिल्दैन नि भनेँ । माथिबाट प्रेसर आयो भनियो ।’, सिंहले भने, ‘मैले गृहमन्त्रीज्यूलाई फोन गर्दा उहाँको फोन उठेन । गृहसचिवलाई फोन गरेर सोधेपछि उहाँले कहाँ राजा लेख्न पाइन्छ त ? भनेर भन्नु भयो ।’,छेउमा बागमती प्रदेशका राप्रपा सांसद र कमल थापा नेतृत्वको राप्रपा नेपालका नेता राखेर सिंहले सोधे, ‘टाइटल नै राजाको छ त राजा लेख्दा आपत्ति के ?’, । ‘विगतको सरकारले ५०–५० लाख मूल्य राखेर कसैको टाउको तोकेर आतंककारी भनेको थियो । के अब मैले पनि आतंककारी भन्न मिल्छ त उसो भए ?’, उनले प्रश्न गरे । हाउगुजीले नै सरकार आत्तिएको उनको दाबी थियो । पूर्वराजा नलेखेर राजा लेख्दैमा सरकार काम्छ र यो अवस्थासम्म सरकार पुग्छ भनेर आफूले नसोचेको सिंहको भनाई थियो ।

विवाद गर्न नचाहेर डटपेनले पनि ब्यानरमा पूर्वराजा लेखिदिएको उनको भनाई छ । ‘मेरो छोरोले मेरो बाउ राजाको बिवाह भनेर निमन्त्रणा गर्न पाउँछ कि पाउँदैन ।’, सिंहको भनाई थियो । उनले आगामी दिनमा आजको घटना नहोस् भन्दै सरकारलाई चेतावनी दिए । सिंहले गणतन्त्रविरुद्ध फागुनदेखि राप्रपा आन्दोलनमा होमिने बताए । जनता र देशको अवस्था बदल्न राप्रपाले सडक आन्दोलनमा जाने तयारी गरिसकेको र आन्दोलन संसदसम्मै पुग्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*