शिवम् खानीको ओभरवटन खोलामा, ३०० घरधुरी र सयौं हेक्टर सिचाईं क्षेत्र जोखिममा

साझाकुरा
२०८० माघ ९, मंगलवार १०:२६

हेटौंडा-शिवम् सिमेन्ट उद्योगले खानी क्षेत्रको ओभरवटन (चुनढुंगा उत्खनन् गर्दा निस्किएको काम नलाग्ने बस्तु) सीधै खोलामा फालेपछि आधा दर्जन गाउँ जोखिममा परेको छ ।हेटौंडा उपमहानगरपालिका–१७, हटियास्थित उद्योगको मकवानपुरगढी गाउँपालिका–७ र ८ नम्बर वडामा चुनढुंगा खानी छ । शिवम्ले ७ नम्बर वडाको खोटार खानीको ओभरवटन सीधै बुढीचौर खोलामा खसालेको स्थानीयले बताएका छन् । शिवम्ले चुनढुंगा उत्खनन् गर्दा निस्किएका ओभरवटन आफैंले व्यवस्थापन गर्नुपर्नेमा सीधै खोलामा खसालेको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानले शिवम्लाई खोलामा खसालिएको ओभरवटन व्यवस्थापन गर्न निर्देशन दिएपनि उद्योगले अटेर गरेको पाइएको छ ।

ठाडो बुढीचौर खोलामा खसेको ओभरवटन बगेर आउँदा मकवानपुरगढी गाउँपालिकाको ७, २, ३, ५ र ६ नम्बर वडाको ३०० बढी घरधुरी र सयौं हेक्टर सिचाईंक्षेत्र जोखिममा पर्ने ३ नम्बर वडाअध्यक्ष भागवत घिमिरेले बताए । ७ नम्बर वडाको पाङटोल, गीताधर्म, आम्बोटे, भण्डारे, किटिनी, न्यौपानेटार, भुँडेदमार, सातकन्या, कोलदमार, मच्छेडाँडा, वतासेडाँडा, हुलाकदमार, नरसिंडाँडा, जिमरगेबडाडा, थासाटोल लगायत गाउँ खानी प्रभावित क्षेत्र हुन् ।

खानीको कारण मकवानपुरगढीको वडा नम्बर २, ३, ४, ५, ६ को सामरी तटका स्थानीय प्रभावित छन् भने वडा नम्बर ८ र ७ का पनि प्रभावित छन् । वडा नम्बर ७ र ८ का स्थानीयहरु बाह्रै महिना धुलोमैलो, ध्वनी प्रदुषण झेल्दै आएका छन् । वडाअध्यक्ष घिमिरेले खोलामा सीधै ओभरवटन खसालेर सिंगो गाउँ नै खोजिममा पार्ने शिवम्लाई गाउँपालिकालगायत सम्बन्धित निकायले तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।बर्षायासमा अव्यवस्थित ओभरवटन बगेर आउँदा खोलाको सतह बढेर खेतियोग्य जग्गा र बस्ती कटानसँगै सिचाईंमा समस्या भएको र शुद्ध खानेपानी समेत पाईन छाडेको वडाध्यक्ष घिमिरे बताउँछन् । खानेपानी विस्तारको पाइप लाइन क्षति हुनुका साथै तटीय क्षेत्रका गाउँबस्तीका घर, विद्यालय, पाटीपौवा, मठमन्दिर, स्वास्थ्यचौकी, पानीघट्टहरु बाढी र पहिरोको जोखिममा रहेको घिमिरेले बताए ।

बुढीचौर खोला ७ नम्बर वडाको सुकौरा खोलामा आएर मिसिन्छ । बुढीचौर र सुकौरा खोलाको दोभानमा करिब ५० घरधुरीको सुकौरा बस्ती र खोला नजिकैको जनता मावि नै पहिलो खोजिममा परेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की बताउँछन् । बुढीचौर र सुकौला खोला मिसिएर बन्ने सामरी खोलाको नजिकै ३०० घरधुरी रहेका छन् ।शिवम्को खानी क्षेत्रको ओभरवटनले ७ नम्बर वडाको सुकौरासहित २ नम्बर वडाको कुर्ले बासपानी, ३ नम्बर वडाको सिचाईं क्षेत्र धमिले फाँट, ६ नम्बर वडाको १०० घरधुरी रहेको ठूलो बस्ती डुम्रेकुना, २०० बढी घरधुरी रहेको ५ नम्बर वडाको भालुखोला, धादिङ र सिमलटार बस्ती जोखिममा परेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए । धादिङ, भालु खोलाको सयौं हेक्टर सिचाईं क्षेत्र पनि जोखिममा परेको छ । सामरी खोलामा बाढी आउँदा त्यसको पूभाव राप्ती खोलामा पनि पर्ने गरेको छ । हेटौंडा–१, ३, ११, १२, १९ कातल्लो तटीय क्षेत्रमा पनि धेरथोर असर पुग्ने स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*