बागमती प्रदेशबाटै सवारी लाइसेन्स वितरणको तयारी
हेटौंडा-सवारी लाइसेन्सको प्रिन्ट तथा वितरणको काम प्रदेशबाटै गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । योसँगै लामो समयदेखि लाइसेन्सको समस्या भोग्दै आएका सेवाग्राहीले राहत पाउने आशा गरिएको छ ।राज्यले तोकेको शुल्क र प्रक्रिया पूरा गर्दा पनि १४ लाख ४० हजार जनाले अझै सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड लाइसेन्स) पाएका छैनन् । एउटा सामान्य चिर्कुटको भरमा सवारी चलाएर गन्तब्यमा जानुपर्ने अवस्था रहेको छ ।
अब यो समस्याका लागि सातवटै प्रदेशले प्रिन्टर मेसिन खरिद गर्ने भएका हुन् । जसकारण अब बागमती प्रदेशबाटै सवारीलाइन्सेस वितरण हुने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले लाइसेन्स वितरणको समस्या समाधानका लागि प्रदेशले प्रिन्टर र कार्ड खरिदको तयारी भइरहेको बताए ।
‘सामान्य खालको लाइसेन्स प्रिन्टरलाई ५ लाख पर्ने रहेछ । १० लाख कार्ड किन्ने तयारी भएको छ । लाइसेन्स प्रिन्टमा प्रयोग हुने प्रतिकार्ड १५० रुपैयाँमा किन्न सकिने रहेछ । अहिले प्रयोगमा आएको कार्डभन्दा पनि सरल प्रकारको कार्ड हो । त्यो कार्डमा पैसा टपअप पनि गर्न मिल्छ । भने, अन्य ४० वटा जति एप पनि हाल्न सकिने रहेछ ।’ उनले भने । प्रदेशले छाप्ने लाइसेन्समा अगाडि आफ्नो प्रदेशको नाम र प्रदेशले चाहेको फोटो प्रयोग गर्न सक्नेछ । पछाडिपट्टि संघ सरकारको नाम र लोगो हुनेछ ।
कर्णाली प्रदेशले लाइसेन्समा राराको फोटो हाल्ने तयारी गरिरहेको रिजालले बताए । मधेस प्रदेशले जानकी मन्दिरको फोटो हाल्नेछ । अहिले स्मार्ट लाइसेन्समा प्रयोग भएको कार्ड कन्ट्याकलेस कार्ड हो । भने, प्रदेशले किन्न लागेको कार्ड कन्ट्याकवाटा हो । यो कार्ड प्रयोग भएर बनेको लाइसेन्स सामान्य मोबाइल एपबाटै सबै विवरण हेर्न सकिने हुन्छ ।







