थानकोट–चित्लाङ सडकमा बजेट मागेको २० करोड, आयो ६ करोड

साझाकुरा
२०८० माघ १५, सोमबार १२:३९

हेटौंडा-अर्थ मन्त्रालयबाट थानकोट–चित्लाङ सडक (गणेशमान सिंह मार्ग) स्तरीकरणका लागि थप बजेटको स्रोत सुनिश्चितता गरिएको छ ।११ माघमा अर्थ मन्त्रालयमा भएको मन्त्रिस्तरीय निर्णयले स्रोत सुनिश्चितता तथा सहमति दिएसँगै थानकोट (चित्लाङ सडक निर्माणसहित स्तरीकरणका लागि कुल ७ करोड ९९ लाख बजेट थपिएको हो । जसमध्ये २ करोड रुपैयाँको यसअघि नै ठेक्का लगाएर काम भइरहेको छ । बजेट सुनिश्चितताबिनै ठेक्का लगाएर काम भइरहेपनि भर्खरै बजेटको सहमति दिइएको हो । सडकमा नयाँ बजेट भने ५ करोड ९९ लाख थपिएको हो ।

२८ पुसमा चन्द्रागिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएपछि सरकारले यसक्षेत्रका जनप्रतिनिधिको दबाबमा थप बजेटको सहमति दिएको हो । काठमाडौंबाट चित्लाङ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खस्दा काठमाडौं मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी र ६४ वर्षीया कल्पना तिवारी, डा. महेशकुमार गौतम र चार वर्षीय प्रियान्स गौतमको मृत्यु भएको थियो । दुर्घटनामा घाइते ६ वर्षीया स्मारिका गौतमको उपचार क्रममा बयोधा अस्पतालमा मृत्यु भयो ।

दुर्घटना लगत्तै ३ माघमा मकवानपुर–२ का सांसद महेशकुमार बर्तौलासहित संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, पूर्वसांसद रामनारायण विडारी, थाहा नगरपालिका प्रमुख विष्णु बिष्ट ‘आदर्श’ इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी, थाहा–९ चित्लाङका वडाअध्यक्ष राजकुमार बलामीलगायतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर चालु आवमै २० करोड बजेट माग गरेका थिए । अर्थ मन्त्रालले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजित २ करोडसहित एकमुष्ट ७ करोड ९९ लाखको स्रोत सहमति दिएको छ ।

बर्तौलाले २० करोड बजेट माग गरेकोमा भौतिक पूर्वाधार मन्त्रालयले घटाएर १० करोड अर्थ मन्त्रालयमा पठाएको जानकारी दिए । २० करोड रुपैयाँ मागेको ठाउँमा अर्थले २ करोड बजेट बिनियोजन गरेको बर्तौलाले जानकारी दिए । कानूनी व्यवस्था अनुसार बिनियोजित बजेटको चार गुणासम्म चालू आवमै थप गर्न मिल्ने भएकाले अर्थ मन्त्रालयसँग पुनः ८ करोड माग गरिएको बर्तौलाको भनाई छ । जसमा अर्थ मन्त्रालयले ५ करोड ९९ लाख रुपैयाँ मात्रै स्रोत सुनिश्चितता गरेको उनले जानकारी दिए । त्यसमा सडक बोर्डको थप एक करोड ५० लाख रुपैयाँ समेतको काम भइरहेको बर्तौलाले जानकारी दिएका छन् । सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी सरकारले पर्याप्त बजेट नपठाएकाले मर्मत सम्भार गर्न नसकेको बताएका छन् ।

उनले थानकोट–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो रहेकाले त्यसलाई सुधार गरेर कालोपत्र नगरेसम्म सधैं दुःख हुने बताए । चालू आर्थिक वर्षमा डिभिजन कार्यालयमा २२ करोड रुपैयाँ माग गरेकामा २ करोड रुपैयाँमात्र पाएको भण्डारीले जानकारी दिए । ‘हामीले मागेको बजेटको १० प्रतिशत भन्दा कम आएको छ । अब यति बजेटले कति काम हुन्छ ?’, उनले भने । यो बजेटले थानकोटतर्फको उकालोमा ५ सय मिटर कालोपत्रे गर्न सम्झौता भएको बताए ।

बजेट स्रोत सुनिश्चितता तथा सहमतिपत्र अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले १२ माघमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको छ । मन्त्रालयले सहमती प्रदान गर्दा आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८० को पूर्ण परिपालाना गर्ने गरी भनिएको छ । अर्थले आयोजनाको बहुवर्षीय ठेक्का सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८० को पूर्ण परिपालनालाई जोड दिइएको छ भने प्रचलित, ऐन, कानून र स्वीकृत मापदण्ड बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी कानून र मापदण्डको पूर्ण परिपालनाको सवाललाई उल्लेख गरेको छ ।

बहुवर्षीय ठेक्काको स्रोत सहमति प्राप्त भएको आयोजनाको खरिद प्रक्रिया कात्तिकभित्र सुरुगरिसक्नुपर्ने मापदण्डको दफा ६ (७) मा उल्लेख छ । तर, आर्थिक वर्ष ०८०÷८१ को हकमा मंसिर मसान्तसम्म खरिद प्रक्रिया सुरु गर्न बाधा नपर्ने मापदण्डमा भनिएको छ । तर, गणेशमान मार्गको स्रोत सुनिश्चितता तथा सहमति मंसिर मसान्त पश्चात् ११ माघमा निर्णय भएको छ । १२ माघमा प्रदान गरिएको स्रोत सहमतिको अवधि बढीमा ३ वर्षको हुने मापदण्डको दफा ६ (२) मा उल्लेख छ ।

मापदण्ड अनुसार स्रोत सहमति पाएको गणेशमान मार्गको आउँदो २०८१ कार्तिक महिनाभित्र ठेक्का भैसक्नुपर्ने छ । स्रोत सहमति पश्चात बजेटको ठेक्का लगाउने म्याद ९ महिनाको हुनेछ । अर्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावसमेत पालना हुनेगरी आगामी आर्थिक वर्षको लागि सृजना हुने दायित्व बराबरको रकम मापदण्डको दफा (६) (३) बमोजिम तहाँ मन्त्रालयलाई तत्तत् आवमा प्राप्त बजेट सीमाबाटै अनिर्वाय रुपमा बजेट प्रस्ताव गर्ने भनेको छ ।

अर्थले कानून र मापदण्डको पूर्ण परिपालनाको जवाफदेहिता सम्बन्धित लेखा उत्तरदायी अधिकारी र सम्बद्ध पदाअधिकारी रहने जनाएको छ । काठमाडौं–चन्द्रागिरी– चित्लाङ जोड्ने २२ किलोमिटर मोटरबाटो डरलाग्दो र धराप बनेपछि सर्बत्र चासोको बिषय बनेको थियो । यो सडक खण्डको अप्ठेरो भाग थानकोटदेखि चन्द्रागिरी डाँडासम्म छ । सडकका कारण सवारीसाधन टुटफुट हुनु, दुर्घटना हुनु, धुलैधुलो हुनु आमयात्रुको दिनचर्या बनेको छ । सडक पहिले भन्दा केही फराकिलो भयो तर, कच्ची अवस्थाका कारण हिउँदमा धुलैधुलो र वर्षामा हिलाम्य हुनाले गाडी चलाउन कठिन बनिरहेको छ । सडकको अवस्था धेरै जोखिमपूर्ण भए पनि छोटो दूरी हुने भएकाले काठमाडौंबाट मकवानपुरको हेटौंडा, बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्ला जाने जिपहरु यही सडकबाट चल्छन् ।

नेपालको प्राचीन सडक अर्थात् पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङ जोड्न भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले चासो देखाएपनि सोचेअनुरुपको प्रगति हासिल भएको छैन । थानकोट–चित्लाङ सडकलाई समग्र मकवानपुर र विशेष उत्तरीक्षेत्र थाहानगर, इन्द्रसरोबर गाउँपालिकाले ‘समृद्धि ढोका’को रुपमा लिने गरेका छन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य थाहानगर र ईन्द्रसरोवरको पर्यटनको विकासका लागि यो सडक छिटो निर्माण गर्न जरुरी रहेको थाहा नगरपालिका प्रमुख विष्णु विष्ट बताउँछन् । सडक राम्रो नभएकै कारण अपेक्षाअनुसारको पर्यटन विकास र पर्यटक भित्र्याउन नसकेको उनले बताए । प्राचिन चित्लाङ गाउँ, कुलेखानी जलाशय, दामन, पालुङ, नेपालकै ठूलो चौरको रुपमा परिचित चित्लाङको भेडा फार्मलगायतका थुप्रै आकर्षक पर्यटकीयस्थल यस क्षेत्रमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*