हुप्रचौरको बहुउद्देशीय भवन निर्माण प्रक्रिया अगाडि बढाइने
हेटौंडा- हेटौंडा–४ हुप्रचौरमा बहेद्देशीय ब्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । हेटौंडा उपमहानगरको ३८ औं कार्यपालिका बैठकले हुप्राचौरमा बहुउद्देशीय ब्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।कार्यपालिका बैठकपछि नगरप्रवक्ता सबिन न्यौपानेले जारी गरेको बिज्ञप्तीमा बहुउद्देशीय ब्यावसायिक भवन निर्माण प्रक्रियामा आएको अवरोध हटेपछि उपमहानगरले पुरानै बोलपत्रअनुसार तत्काल निर्माण कार्य थालनी गर्ने निर्णय गरिएको छ । शाहीकालका नगरप्रमुख मधु अधिकारीले ‘दीपेन्द्र सभागृह’ का नाममा सभागृह निर्माण थालनी गरेका थिए । तत्कालीन राजा बीरेन्द्रको शालिक पनि स्थापना गरिएको थियो ।
पछि २०६२÷६३ को आन्दोलन सहीद भएका बासुदेव घिमिेरको स्मृतिमा यो सभागृहको नाम परिवर्तन गरी बासुदेव सभागृह राखियो । मुलुकको शासकीय स्वरुप परिवर्त भएर संघीयतामा गएपछि पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित नगरप्रमुख हरिबोल महतले बहुउद्देशीय ब्यावसायिक भवन निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेका थिए । उपमहानगरपालिकाले बोलपत्र स्वीकृत गरेपछि तत्कालीन राजा बीरेन्द्रको शालिक भत्काउने बिषयमा समस्या आएर बहुउद्देशीय भवन निर्माण प्रक्रिया अबरुद्ध बनेको थियो ।
हेटौंडा–४ का वडाध्यक्ष नबीन सिग्देलको संयोजकत्वमा गठन भएको समितिले अध्ययन गरी स्थानीयसँग रायसुझाव सहितको प्रतिबेदन उपमहानगरपालिकालाई बुझाएको छ । तत्कालीन राजा बीरेन्द्रको शालिक उपयुक्त स्थानमा राख्ने गरी सहमति जुटेको प्रतिबेदन उपमहानगरमा आएपछि कार्यपालिका बैठकले बहुउद्देशीय भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । बिगतमा भवन निर्माण पक्रियामा देखिएको अवरोध सबै हटेर समाधान भएकोले कार्यपालिकाले यो निर्णय गरेको प्रवक्ता न्यौपानेको भनाइ छ ।
२०६० सालमा निर्माण सुरु भएर तीन वर्षसम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडा कोषको एक करोड ३० लाख रुपैयाँ खर्च गरिएको थियो, सभागृहमा । त्यसपछि सभागृह निर्माणको काम अघि बढ्न सकेको थिएन । त्यसैले सभागृहलाई सुधारका साथ अघि बढाएर लैजान तत्कालीन समयमा करिब चार करोड ३५ लाख रुपैयाँ लाग्ने तत्कालीन हेटौंडा नगरपालिकाले अनुमान गरेको थियो । हालसम्म दुई करोड भन्द धेरै खर्च भइसकेको सभागृह उपयुक्त नभएको भन्दै उपमहानगरपालिकाले भत्काउने निर्णय गरेको हो ।
यसबाहेक अर्को समस्या पनि श्रृजना भएपछि निर्माण ककार्य प्रभाबित भएको थियो । स्थानीय बजेटले नपुग्ने र राष्ट्रिय योजनामा नपरेका कारण पनि निर्माण अलपत्र परेको हो । आठ कठ्ठा क्षेत्रफल रहेको भवनमा प्रदेशसभाको लागि आवश्यक पर्ने सत्तापक्षको लागि भवन, प्रतिपक्षी दलको कार्यालय, संसदीय समितिको लागि आवश्यक कार्यालय भवन निर्माण, मर्यादापालकको लागि भवन र पार्किङको लागि केही अपुग हुने भए पनि अन्य दृष्टिकोणले उपयुक्त हुने बताइएको थियो । तर, प्रदेश सरकारले पनि यसलाई खासै चासो नदिएपछि उपमहानगरपालिकाले अब भ्युटावरसहितको व्यापारिक भवन निर्माण गर्ने योजना अघिसारेको हो ।
१२ तलाको बहुउद्देशीय व्यापारिक भवन निर्माण गर्नका लागि २० मंसिर २०७८ मा उपमहानगरपालिकाले बानियाँ निर्माण सेवासँग सम्झौता गरेको थियो । व्यापारिक भवनको ठेक्का ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा बानियाँ निर्माणले पारेको हो । १२ तले भवनमा दुइ तलाको अण्डर ग्राउण्ड, चारतिरबाट लिफ्ट, दुईवटा भ¥याङ, सबैभन्दा माथि भ्यूटावर निर्माण गरिने पूर्वनगरप्रमुख हरिबोल महतले जानकारी दिए । सम्झौतामा तीन वर्षभित्र योजना सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको थियो ।
नगर स्थापना दिवस मनाइनेहेटौंडा नगरको ५५ औं स्थापना दिवस आगामी फागुन १ मा मनाइने भएको छ । हेटौंडा उपमहानगरको ३८ औं कार्यपालिका बैठकले ५५ स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय गरेको हो ।
कार्यपालिका बैठकले हेटौंडा–४ हुप्राचौरमा बहेद्देशीय ब्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाइने निर्णय गरेको छ । हेटौंडा उपमहानगरको ३८ औं कार्यपालिका बैठकले हुप्राचौरमा बहुउद्देशीय ब्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । कार्यपालिका बैठकपछि नगरप्रवक्ता सबिन न्यौपानेले जारी गरेको बिज्ञप्तीमा बहुउद्देशीय ब्यावसायिक भवन निर्माण प्रक्रिया अगाडि बढाउने, ब्यवसायिक मत्स्यविकास केन्द्रको गेट नजिकै बनेका अबैध संरचना भत्काउने निर्णय भएको छ ।
त्यस्तै, नगरको सामाजिक समावेशी नीति तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने, बिभिन्न निकायबाट जग्गा प्राप्तीका लागि भएका शिफारिसलाई स्थलगत अध्ययन गरी प्रक्रिया अगाडि बढाउने, बिभिन्न वडाले निर्माण गरेका पञ्चवर्षीय आवधिक योजना स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताएका छन् । बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा गर्ने क्रममा बालबालिकाको क्षेत्रमा पञ्चवर्षीय आवधिक योजना निर्माण गरिएको हो ।







