मकवानपुरका ७९ वडा ग्रामीण वडाको सूचीमा

साझाकुरा
२०८० माघ २१, आईतवार ०९:००

हेटौंडा-१ सय २ वटा वडा रहेको मकवानपुर जिल्लाका अधिकांश क्षेत्र ग्रामीण क्षेत्रको सूचीमा रहेको प्रतिवेदन सार्वजनिक भएको छ । सरकारले सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या धेरै भएको र सहरीकरण बढेको देखाउनका लागि विकट ग्रामीण क्षेत्रलाई पनि नगरपालिका घोषणा गरेका कारण यस्तो देखिएको उल्लेख छ ।

मकवानपुरका १ सय २ वडामध्ये जम्मा १२ वटा वडा अर्थात ११.७६४ प्रतिशत मात्र सहरीकरण भएको तथ्यांक सार्वजनिक भएको छ । ११ वटा वडा अर्थात १०.७८४ प्रतिशत सहरोन्मुख र बाँकी ७९ वटा वडा अर्थात ७७.४५ प्रतिशत वडा ग्रामीण वडाको सूचीमा परेका छन् । नगरपालिकामा समाबेश भएका तर, ग्रामीण वडाको सूचीमा रहेका वडाबासीले सरकारलाई तिर्नुपर्ने कर बढी हुने तर, राज्यबाट पाउने सेवासुबिधा भने न्यून हुन्छ ।

मकवानपुर थाहा नगरपालिकाको दुईवटा वडा मात्र सहरी वडाको रुपमा सूचीकृत भएको छ । राष्ट्रिय तथ्याड्ढ कार्यालय थापाथली, काठमाडौंले प्रकाशन गरेको नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गिकरण प्रतिवेदनमा थाहा नगरपालिकाको २ वटा वडा सहरी क्षेत्रमा वर्गीकृत भएको हो । तथ्यांक कार्यालयले प्रत्येक १०/१० वर्षमा विभिन्न सूचकको आधारमा पालिकाको वडालाई ग्रामीण र सहरी क्षेत्रमा वर्गीकरण गर्ने गरेको छ ।

सहरी क्षेत्रमा सूचिकृत हुनका लागि आवश्यक पूर्वाधारको पर्याप्तता हुनु जरुरी छ । तर, सरकारले भएभरका ग्रामीण क्षेत्रलाई नगरसँग गाभेर जवर्जस्ती नगर बनाउन खोजेको बताइएको छ । थाहा नगरपालिकाको १ र ६ नम्बर वडा सहरी क्षेत्रमा परेको छ । १२ वटा वडा रहेको थाहा नगरपालिकाको अरु १० वटा वडा ग्रामीण क्षेत्रमा सूचीकृत भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनाको क्रममा लिएको प्रतिव्यक्ति आय, आधारभूत विकासका पूर्वाधारहरुको पहुँच, सूचना तथा सञ्चारको पहुँच, शिक्षा, खानेपानी, सडकलगायतको पहुँचका आधारमा सहरीकरणको सूचीमा समावेश गर्ने गरेको छ ।

मकवानपुरमा ११ वटा वडा सहरोन्मुख वडामा सूचीकृत भैरहँदा थाहा नगरपालिकामा एउटा पनि वडा सहरोन्मुखको सूचीमा छैनन् । यद्यपि वि.सं. २०६८ को जनगणनामा ग्रामीण नगरपालिकाको रुपमा रहेको थाहा नगरपालिका क्रमशः सहरी पालिकातर्फ उन्मुख भएको भने तथ्यांकले देखाएको छ । थाहा नगरपालिकाको कुल ३८ हजार ८ सय ७० जनसंख्याको ८०.४१ प्रतिशत क्षेत्र ग्रामीण र १९.५९ प्रतिशत सहरी क्षेत्र अर्थात वडा नम्बर १ र ६ मा बसोबास गर्दछन् ।

यसैगरी ५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिका पूर्ण ग्रामीण वडामा रहेको पालिकाको सूचीमा परेको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर १ मार्खु पर्यटकीय हबकै रुपमा परिचित भएपनि यो क्षेत्र समेत राष्ट्रिय तथ्याड्ढ कार्यालयको प्रतिवेदनमा ग्रामीण वडाको सूचीमा छ । त्यस्तै मनहरीको एउटा वडा सहरी र दुईवटा वडा सहरोन्मुख क्षेत्रको सूचीमा छ । कालोपत्रे सडक, नाली, विद्युतीय पहुँच, शिक्षा, स्वास्थ्य, संचार, खानेपानी, सिंचाई जस्ता विकासका न्यूनतम पूर्वाधार नभएका वडालाई ग्रामीण वडाको सूचीमा राखिएको हो ।

मनहरीको ७ नम्बर वडा सहरी, ३ र ८ नम्बर वडा सहरोन्मुख वडामा सूचीकृत छन् । बाँकी ६ वटा वडा ग्राणीम क्षेत्रको सूचीमा छ । यो तथ्यांक अनुसार मकवानपुरकै एकमात्र नगरपालिका थाहा सहरीकरणको सूचकमा मनहरी गाउँपालिका भन्दा पछाडि छ । मकवानपुरगढीको ४ नम्बर वडा सहरी वडाको सूचीमा छ भने बाँकी सबै वडा ग्रामीण वडाको रुपमा रहेको छ ।

मकवानपुरको इन्द्रसरोवरसहित राक्सिराङ, कैलाश, बागमती, बकैया र भीमफेदी गाउँपालिका शतप्रतिशत ग्रामीण वडा भएको पालिकाको सूचीमा छन् । यि ६ वटा पालिकामा ५४ वटा वडा रहेका छन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १८ र १९ ग्रामीण वडाको सूचीमा छ । सहरोन्मुख वडाहरुमा १, ३, ६, १२, १३, १४, १५, १६ र १७ सूचीमा छ भने वडा नम्बर २, ४, ५, ७, ८, ९, १० र ११ सहरी वडाको सूचीमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*