मनहरी महोत्सवमा दर्शक बढ्दै

साझाकुरा
२०८० माघ २१, आईतवार ०९:२०

हेटौंडा-पाँचौ मनहरी महोत्सव सुरु भएको पाँचौ दिन महोत्सवस्थल दर्शकले भरिएको छ । १० हजार मानिसले महोत्सवको अवलोकन गरेको पाँचौ मनहरी महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक राजु राउतले बताए । पश्चिम मकवानपुरको ब्यावसायिक केन्द्रको रुपमा मनहरी परिचित छ ।

शनिबार बिदाको दिन परेकाले विद्यार्थी, कर्मचारी तथा व्यवसायीले फुर्सद निकालेर महोत्सव अवलोकन गर्न आएका कारण एकैदिन दर्शकको चाप बढेको आयोजकले जनाएको छ । त्यससँगै चर्चित कलाकारको उपस्थितिले पनि दर्शक तानेको हो । शनिबार चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र सम्झना लामिछाने मगरले दमदार प्रस्तुति दिएका थिए ।

शर्माले ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’, ‘सारङ्गी र्याइँर्याइँ भयो जीवन तिरीमिरी झ्याइँ’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । शर्माले गीत प्रस्तुत गरिरहँदा दर्शकदीर्घामा उत्तेजित माहोल बनेको थियो । दर्शक दीर्घाबाट हुटिङ पनि चर्को थियो । त्यसैगरी अर्की चर्चित गायिका सम्झना लामिछाने मगरले पनि गीत प्रस्तुत गरिन् । लामिछानेले ‘फूल फूलेर पहेलै भयो’ बोलको गीत दर्शकदीर्घामै गएर गाइन् । त्यसक्रममा दर्शकले लामिछानेको हात समातेर नाचेका थिए ।

कार्यक्रममा रियो छमछमीका बिजेता एबम् मनहरी गाउँपालिका–७ घर भएका सरोज प्रजा र उनको जोडी बिना राउतको नृत्यमा पनि दर्शक तानिएका थिए । खासगरी युवा पुस्तामा टिकटक र रिलमा दुबैजना लोकप्रिय छन् । कार्यक्रममा रेश्मा भोम्जन, दीपेन्द्र पुन, अनुसा चेपाङलगायतले प्रस्तुति दिएका थिए । आस्था कलाकेन्द्र मनहरीको तर्फबाट कोरियोग्राफर मनिष लामाको टिमले पनि निरन्तर नृत्यु प्रस्तुत गरिरहेको छ ।

माघ २१ गतेका लागि चर्चित कलाकार धुर्मुश (सीताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) सहित चर्चित गायिका अस्मिता अधिकारी, स्थानीय कलाकार दीपक मुक्तान, उर्मिला चेपाङ र बिक्रम खाती, पवनकुमार चेपाङ र प्रेमकिशोरको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमक्षेत्र समितिको आयोजनामा माघ १६ गते सुरु भएको महोत्सव माघ २८ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय परिकार र उत्पादनसहित १५० स्टल छन् ।

स्थानीय माछा, तामा, मास, गहत, दलहन, चेपाङ जातिले जीवनयापनका लागि उपभोग गर्ने गिठ्ठाभ्याकुर, बनकरिया समुदायद्वारा उत्पादित साबुन, कैलाश गाउँपालिकाको तर्फबाट कुरिलोसहितका कृषिउत्पादन, राक्सिराङ गाउँपालिकामा उत्पादित कृषिजन्यबस्तु तथा फापरको सेलरोटीलगायत स्थानीय बस्तुलाई महोत्सवमा प्रबद्र्धन गरिएको छ । साथै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, विभिन खेलसहितको बालउद्यान, होटल, कपडा, फलामे उत्पादन, इलेक्ट्रोनिक्स सामानसहितका स्टल व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*