‘ह्याङ तामाङ’ को मंसिर २० गते विशेष प्रिमियर शो हुने
हेटौंडा- तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीमा आधारित चलचित्र ‘ह्याङ तामाङ’ आगामी मङ्सिर २० गते हेटौंडाको ओम्याक्स हलमा बिशेष प्रिमियर शो हुने भएको छ ।शुक्रबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टोली तथा कलाकारले चलचित्र प्रदर्शनको तयारी पूरा भइसकेको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा चलचित्रका नायक सीताराम गोलेले तामाङ रीतिरिवाज, भाषा, कला र संस्कृतिसँगै पछिल्ला वर्षमा समुदायले भोग्दै आएको समसामयिक राजनीतिक तथा सामाजिक यथार्थलाई समेटेर चलचित्र निर्माण गरिएको बताए । चलचित्रले तामाङ समाजको आत्मा, पहिचान र भावनालाई दर्शकसमक्ष गहिरोसँग प्रस्तुत गर्ने उनको धारणा छ ।
चलचित्रका अर्का नायक जय स्याङ्तानले चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत क्षेत्रमा गरिएको जानकारी दिए । नायक स्याङ्तानले विभिन्न भौगोलिक र सांस्कृतिक स्थानमा गरिएको छायांकनका कारण चलचित्रले तामाङ जातिको जीवनशैलीलाई अझ प्रामाणिकरुपमा प्रस्तुत गर्न सकेको बताए । निर्माणपक्षका अनुसार चलचित्र निर्माणमा ३५ लाख रुपैयाँ खर्च भएको छ । चलचित्रमा ख्यातीप्राप्त कलाकारको सहभागिता रहेको छ । अभि लामा, अनिता गोले, निर्मला मोक्तान, सुदीप कोप्रा लगायत कलाकारले चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
तामाङ समुदायका चर्चित कलाकारको अभिनय रहेको यस चलचित्रले सांस्कृतिक पक्षलाई मात्र नभई मनोरञ्जन र सामाजिक सन्देशलाई पनि प्राथमिकता दिएको निर्माण टोलीको भनाइ छ । चलचित्रको निर्देशन नीमा लामाले गरेका हुन् भने सहनिर्देशन प्रबल लामाले गरेका छन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, चलचित्रका कलाकार लगायतको उपस्थिति रहेको थियो ।







