कैलाशमा स्थानीय वन विधेयकसहित कर्मचारी दरबन्दी स्वीकृत
हेटौंडा–बागमती प्रदेशले विकट क्षेत्र भनेर घोषणा गरेको मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्ताव पारित भएको छ ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको हो । गाउँसभामा उपाध्यक्ष मल्लले चालू आवमा १ करोड ११ लाख आन्तरिक आय प्रक्षेपण गरेकोमा पुस मसान्तसम्म २० लाख मात्र प्राप्त भएको बताए । गाउँपालिकाले चालू आवमा २७ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा गाउँसभामा २८ करोड ५१ लाख रुपैयाँको संशोधित अनुमान प्रस्तुत गरिएको थियो ।
गाउँसभामा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पेश गरेको नामटार–कालिकाटार सडक आयोजनाको भेरियसनसम्बन्धी प्रस्ताव पनि गाउँसभाबाट पारित गरिएको छ । अधिवेशनको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने तथा उत्कृष्ट कर्म गर्ने व्यक्तिलाई सम्मानसमेत गरिएको छ । कैलाश गाउँपालिकाको वृहत्तर हित, प्रगतिशील विकास र सुशासनको सवालमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष केशव समर्पणलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
‘कैलाश सेवा पुरस्कार’बाट पालिकामा कार्यरत उत्कृष्ट कर्मचारी छनोट गरी नगद पाँच÷पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा प्राविधिकशाखाका ईञ्जिनियर महेश केसी र असिस्टेन्ट सब ईञ्जिनियर नरेन्द्रदत्त भट्ट, एमआइएस अपरेटर उमेशकुमार मुक्तान, वडासचिव शशिकला सिन्तान, निरश मुक्तान पशुप्राविधिक, कार्यालय सहयोगी अनिल प्रजा, अहेब विश्वप्रकाश सिंह, अहेब जयप्रकाशकुमार साह, विद्यालय स्टाफनर्स बिन्दा तितुङ, प्रधानाध्यापक श्यामबहादुर सिन्तान, शिक्षक दीपकुमार चेपाङ, शिक्षक ध्रुबराज बिष्ट, बालविकास शिक्षक शुक्रबहादुर प्रजा र विद्यालय सहयोगी सीताराम सुनार रहेका छन् ।
राष्ट्रपति रिनङशील्ड प्रतियोगिता २०८० को हाइजम्पतर्फ संवरणपदक विजेता गोमा बर्ताैला र तेक्वान्दोतर्फ स्वर्णपदक विजेता अनिशा विकलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिका माविका विमशा घिसिङ र प्रेम सुनार, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सोही विद्यालयकी निर्मला हिम्डुङ र एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कैलाश–२ को कमलादेवी माविका प्रधानाध्यापक रामएकवाल राययादव सम्मानित भएका छन् ।
गएको आर्थिक वर्षको उत्कृष्ट उपभोक्ता समितिको रुपमा कैलाश वडा नम्वर १ को क्यूरेनी वर्ष भवन निर्माण समिति र ४ नम्वर वडा घेराबार तथा मर्मत समिति सम्मानित भएका छन् । बालबिवाह न्युनीकरणमा विभिन्न कार्यक्रम गरिरहेको गाउँपालिकाले कक्षा १२ उत्तीर्णका साथै २० वर्ष उमेर पुगी बिवाह गर्ने ८ जना चेलीलाई प्रोत्साहनस्वरुप सम्मान गरेको छ । बजेटमै चेलीप्रोत्साहन कार्यक्रम उल्लेख गरी कार्यान्वयन गरेको गाउँपालिकाले गाउँसभाको अवसरमा ८ जना चेलीलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।
सम्मानित हुनेहरुमा वडा नम्वर १० निवासी सम्झना स्याङ्तान, वडा नम्वर ६ निवासी गोमा थोकर, वडा नम्वर ९ निवासी राममाया विश्वकर्मा, गंगा घिमिरे, सजिना शिवाकोटी, अमिरा थापा, पार्वती बर्ताैला, राधिका कालाखेती रहेका छन् । बालविवाह कम गर्नुका साथै शिक्षामा अब्बल बनाउन गाउँपालिकाले हरेक वर्ष प्रोत्साहन कार्यक्रम गरिरहेको गाउँपालिकाका अध्यक्ष मुक्तानले जानकारी दिए ।







