राक्सिराङमा वन मासेर सडक निर्माण, दोषि उम्काउन एक्साभेटर भगाएको खुलासा

साझाकुरा
२०८० फाल्गुन १२, शनिबार ०८:००

हेटौंडा–मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा वनक्षेत्र मासेर फराकिलो सडक निर्माण गरिएको घटनामा संलग्न एक्साभेटर भगाएर दोषि उम्काइएको पाइएको छ । पञ्चकालिका सामुदायिक वन क्षेत्रमा ४० क्यूफिट साल र चिलौनेको रुख ढालेर पुरानो ट्रयाक रहेको सडक विस्तार गरिएको घटनामा संलग्न व्यक्ति र निर्माणको क्रममा प्रयोग गरिएका दुईवटा एक्साभेटर भगाइएको हो । संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि नबढाउँदा चार महिनासम्म घटनाले कानुनी बाटो लिन सकेको छैन । एक्साभेटर भगाउँदा दोषि पत्ता लाग्न कठिनाई भएको देखिएको छ ।

राक्सिराङ गाउँपालिकाको ४ नम्बर वडास्थित पर्सिकोट गाउँ र ऋद्धिसिद्धि सिमेन्ट उद्योगको किन्दुराङ खानी क्षेत्र पुग्ने सडक स्तरोन्नतीको क्रममा कार्तिकदेखि वन फँडानी भएको बताइएको छ । करिब ३ वर्षअघि नै गाउँपालिकाको बजेटबाट यस क्षेत्रमा नयाँ ट्रयाक खोलिएको वडा कार्यालयले जनाएको छ । सोही सडकलाई फराकिलो बनाउँदा रुख ढालेको आरोप ऋद्धिसिद्धि सिमेन्टमाथि लागेको छ ।

कार्तिकमै ४ नम्बर वडाका स्थानीयले राप्ती डिभिजन वन कार्यालय मनहरी, सव डिभिजन वन राक्सिराङ र गाउँपालिकाको कार्यालयमा घटनाको दोषिलाई कारबाही माग गर्दै उजुरी दिएका थिए । किन्दुराङ खानी प्रभावित क्षेत्र हकहित संरक्षण समितिले २४ कार्तिक २०८० मा दिएको उजुरीमा ऋद्धिसिद्धि सिमेन्ट उद्योगले आफ्नो किन्दुराङ खानी क्षेत्र जाने सडक निर्माणको क्रममा रुख ढालेको आरोप लगाइएको छ ।

सडक निर्माणमा दुईवटा एक्साभेटर प्रयोग भएको स्थानीयको उजुरीमा उल्लेख छ । उजुरीमा जनाइएअनुसार एक्साभेटर प्रयोग भएको सव डिभिजन वन कार्यालय राक्सिराङले नै पुष्टि गरेको छ । सव डिभिजन वन राक्सिराङका सहायक वनअधिकृत दिनेश सत्यालले दुईवटा एक्साभेटर ल्याउन नसकेकाले छोड्नु परेको बताए । ‘एक्साभेटर ल्याउन सकिँदैन थियो । त्यही भएर छोडेका हौं ।’, सत्यालले भने । उनले एक्साभेटर तत्काल ल्याउन नसक्ने अवस्थामा छोड्ने प्रावधान रहेको बताए । वन ऐन, २०७६ मा कसुर र सजायको दफा ४९ को खण्ड (ग) अन्तर्गत् प्रयोग भएका मेसिनरी औजार, साधनसमेत जफत हुने कानुनी व्यवस्था रहेको छ ।

तर, घटनामा अनुसन्धान अधिकृत तोकिएका सत्यालले सव डिभिजन कार्यालयमा एक्साभेटर ल्याउन नसकेपछि घटनस्थलमै एक्साभेटर छोडेको स्वीकार गरेका हुन् । ‘डाइभर फेला नपारेको अवस्थामा त कसरी ल्याउनु ?’, सत्यालले प्रतिप्रश्न गरे । घटनास्थलमा जाँदा प्रहरी साथमा नरहेको पनि सत्यालले खुलाए । उनले वन फँडानीमा ऋद्धिसिद्धि सिमेन्ट उद्योग र सामुदायिक वनलई दोषी बनाएर मुद्दा दायर गर्ने तयारी गरिरहेको बताए । प्रमाणबिनाको मुद्दा कमजोर हुँदैन ? भन्ने प्रश्नमा उनले जवाफ दिएनन् ।

राप्ती डिभिजन वन मनहरीका प्रमुख रोकराज नेपालले घटनास्थलबाट एक्साभेटर जफत हुन नसकेको बताए । ‘एक्साभेटर त नियन्त्रणमा लिएकै छैन । खोजी भइरहेको छ ।’, उनले भने । उनले एक्साभेटर प्रयोग गरेर सडक निर्माण गरिएको देखिए पनि नियन्त्रणमा नलिनु गलत भएको बताएका छन् । नेपालले पनि दोषी पत्ता लागिनसकेको बताए । ‘हामीले पनि वन समूहलाई सोध्ने हो । उद्योगले सडक बनाएको सुनिएको छ । सुनेकै भरमा हुँदैन । दोषी पत्ता लगाउन अनुसन्धान गर्दैछौं ।’, नेपालले भने ।

ऋिद्धिसिद्धि सिमेन्ट उद्योगका जिएम रेवन्तराम ढकालले सडक निर्माण गरेको भनेर आरोपमात्रै लगाइएको दाबी गरे । उद्योगले सडक निर्माण पनि नगरेको र कुनै एक्साभेटर पनि प्रयोग नगरेको उनको भनाई छ । उद्योगमाथि आरोप लाग्दा आफू आश्चर्यमा परेको ढकाल बताउँछन् । विगतमा सडक निर्माणका लागि प्रस्ताव आएको र स्थानीयस्तरमा विवाद भएपछि उद्योग पछाडि हटेको उनले जानकारी दिए ।
ऋद्धिसिद्धिलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले १ मंसिरमा ध्यानाकर्षण तथा आवश्यक कारबाही सम्बन्धमा भन्दै पत्र काटेको थियो । प्रशासनले उजुरीको प्रतिलिपिसहित आरोप लागेको उद्योगलाई नै ध्यानाकर्षण भएको र आवश्यक कारबाहीको लागि भन्दै पत्राचार गरेको हो । सव डिभिजन राक्सिराङले भने ८ मंसिर २०८० मा विवरणसहित उपस्थित हुन सिमेन्ट उद्योगलाई पत्राचार गरेको थियो ।

रुख फँडानी गरिएको क्षेत्रमा सडक निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा ७ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । योजना सम्झौता भने नभएको उनले बताए । गाउँपालिकाको बजेट नै कार्यान्वयन नभएकाले सडक निर्माण कसले गर्यो ? भन्ने जानकारी नभएको उनको दाबी छ । ‘हामीले नगरेकाले कसले बनायो ? थाहा भएन । वन कार्यालयको कार्यक्षेत्र भएकाले गाउँपालिकालाई ध्यानाकर्षण मात्रै भएको छ ।’, उनले भने ।

४ नम्बर वडाको किन्दुराङ खानीबाट चुनढुंगा उत्खनन् भइनसकेको उद्योगले जनाएको छ । खानीबाट उत्खनन् गर्न खोजेको भन्दै सडक निर्माण उद्योगले गरेको आरोप लागेको हो । ४ नम्बर वडाकै गिङ्गुस्थित खानीबाट भने यसअघि उत्खनन् गरिएको थियो । गिङ्गु खानीमा चुनढुंगा सकिएपछि हाल उद्योगले चितवनको शक्तिखोरस्थित खानीबाट चुनढुंगा उत्खनन् गरिरहेको उद्योगका एक कर्मचारीले जानकारी दिए ।

पञ्चकालिका सामुदायिक वन समितिका अध्यक्ष राज लामाले सडक निर्माण गर्ने सुनेपछि आफूले रोक्ने प्रयास गरेको बताए । उनले ऋिद्धिसिद्धि सिमेन्ट उद्योगले नै खानीक्षेत्र पुग्ने सडक बनाएको जनाए । सडक निर्माण गर्दा जानकारी नभएको उनको भनाई छ । ‘पहिले गाउँपालिकाको बजेटले सडक निर्माण गरेको भने पनि पछि उद्योगले बनाएको थाहा पाएँ । अरु मलाई केही जानकारी भएन सर ।’, उनले भने ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*