मुख्यमन्त्रीले ल्याए ‘क्रान्तिकारी मजदुर आन्दोलन’ पुस्तक
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले क्रान्तिकारी मजदुर आन्दोलन पुस्तक ल्याएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तकको शुक्रबार विमोचन गरेका हुन् ।
२३ औं मजदुर बलिदान दिवसको अवसर पारेर मुख्यमन्त्री जम्कट्टेलले पुस्तकको विमोचन गरेका हुन् । मजदुर आन्दोलनमा लामो समय संघर्ष गरेका उनले आफ्ना अनुभव र मजदुरका समस्यालाई पुस्तकमा समावेश गरेका छन् । जनयुद्धमा मजदुर आन्दोलनले खेलेको भूमिका, व्यवस्था परिवर्तन र मजदुरका अवस्थाका संगालोलाई पुस्तकमा समावेश गरिएको मुख्यमन्त्री जमकट्टेलले बताएका छन् ।
व्यवस्था परिवर्तन अघि र हाल मजदुरहरुको अवस्थाका निकै परिवर्तन आएको उनको भनाई छ । पुस्तकमा माओवादी केन्द्रको विचार र सिद्धान्तलाई माथि उठाउन मजदुरले खेलेको भूमिकाबारे चर्चा गरिएको उनले बताए । मजदुर आन्दोलनलाई वर्ग संघर्षसँग जोड्ने आँखीझ्यालको रुपमा रहेको उनको भनाई छ । जनयुद्धको जगमा नेपाली क्रान्तिकारी मजदुर वर्गले सामाजिक सुरक्षाको अधिकारलगायत अन्य थुप्रै अधिकार प्राप्त भएको उनले बताए । राजनीतिक फेरबदलसँगै संघर्षको कार्यदिशा र संघर्षको स्वरुप बदलिने गरेको उनको भनाई छ ।
पुस्तकमा जनयुद्ध र शान्तिप्रक्रियापछिका विभिन्न समयमा घटित राजनीतिक घटनाक्रम, वर्गसंघर्ष, अन्तरसंघर्ष र मजदुरवर्गका पेसागत सवालसँग जोडिएका लेखरचना, प्रतिवेदन, अन्तर्वार्ता तथा वक्तव्यहरु समेटिएको उनले बताए । पुस्तकमा समेटिएका लेख–रचनाहरु राजनीतिक परिवेश अनुसार लेखिएको उनले बताए । अखिल नेपाल ट्रेड युनियन महासंघमा २०४९ मा आबद्ध भएका मुख्यमन्त्री जम्कट्टेल तत्कालीन समयमा ललितपुरको महालक्ष्मीस्थान तीखेदेवलमा रहेको काभ्रे आइरन इण्ड्रस्टीजको एकाइ समितिबाट संगठित भएका थिए ।
उनी मजदुर संगठन ललितपुरको अध्यक्ष, अखिल नेपाल औद्योगिक मजदुर संघको केन्द्रीय अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कोषाध्यक्ष र २०६० असारबाट २०७४ माघसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्षको जिम्मेवारीमा रहेर काम गरेका थिए ।







