बालजागृति बालमैत्री विद्यालय घोषणा हुँदै
हेटौंडा-हेटौंडा–२ बासुदेवमार्गस्थित बालजागृति ई·लिस सेकेण्डरी स्कुल बालमैत्री विद्यालय घोषणा हुने भएको छ । हेटौंडा उपमहानगर बालमैत्री पालिका घोषणा हुने क्रममा यही फागुन २२ गते बालजागृति सेकेण्डरी स्कुल बालमैत्री विद्यालय घोषणा हुने भएको हो ।
हेटौंडा उपमहानगर बालमैत्री घोषणा हुने क्रममा बालजागृति ई·लिस सेकेण्डरी स्कुल पहिलो बालमैत्री विद्यालय घोषणा हुने भएको हो । शुक्रवार विद्यालयले पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै शिक्षातर्फका पूरा गर्नुपर्ने पर्ने २६ वटै सूचक पूरा गरिसकेको विद्यालयका प्रधानाध्यापक बिनोद सुबेदीले जानकारी दिए । सुबेदीका अनुसार २२ फागुनमा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा विद्यालयलाई औपचारिकरुपमा बालमैत्री घोषणा गर्ने तयारी भएको छ ।
२६ वटा सूचकमध्ये विद्यालयले व्यवस्थापन समितिमा निर्णय गराएर बालसमूहका १ जना बालक र १ जना बालिका पठाउने व्यवस्था मिलाइएको र बैठकमा बालअनुकूल समय र अर्थपूर्ण सहभागिताको ग्यारेन्टी गरेको जनाइएको छ । विद्यालयको बालसमूहको मासिक बैठक नियमित छ/छैन संरक्षक शिक्षक र प्रअले समेत नियमित गर्ने व्यवस्था मिलाएको जनाएको छ । विद्यालयको गेटमा बालमैत्रीसम्बन्धी सूचना बोर्ड टाँस गरिएको छ भने विद्यालयको चारैतर्फ सय मिटरको दुरीभित्र मद्यपान, धुुम्रपान, सुर्तीजन्य वस्तु विक्री वितरण गर्न नपाईने जनाएको प्रअ सुबेदीले बताए ।
विद्यालयको शौचालयमा साबुनपानीको व्यवस्था मिलाएको र बालमैत्री आचारसंहिताबारे महिनाको एकदिन एक घण्टा विद्यार्थीसँग छलफल गर्ने वातावरण मिलाउने र प्रमाण राख्ने गरेको विद्यालयले जनाएको छ । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरेको हरेक शुक्रवारको गत र चालु वर्षको माइन्युट फोटोकपी, फोटो, पुरस्कार वितरण प्रतिवेदन लगायत अभिलेख राखेको र विद्यालयमा बालअधिकार भनेको के हो ? बालमैत्री स्थानीय शासनको परिभाषा टाँस गरेको जनाइएको छ ।
विद्यालयमा बालअधिकार, बालमैत्री स्थानीय शासन, बालअधिकारको सुरुवातबारे महिनामा ३० मिनेट सचेतना सत्र सञ्चालन गर्ने गरेको समेत विद्यालयले जनाएको छ । नगरले निर्माण गरेको बालविकास केन्द्र र सवारी साधनको सञ्चालन मापदण्ड अनुसार बालविकास केन्द्र व्यवस्थापन गरेको, विद्यालयले बालसंरक्षण नीति बनाई कार्यान्वन गरिएको छ । विद्यालयमा विद्यार्थीलाई बिपद् पूर्वव्यवस्थापनसम्बन्धी अतिरिक्त सत्र सञ्चालन गर्नुका साथै सेनेटरी प्याड प्रयोग, डिस्पोजल प्रवन्ध रेकर्ड व्यवस्थापन तथा छात्राछात्र शौचालयको फोटोसहित रेकर्ड राखेको विद्यालयले जनाएको छ ।
यसैगरी विद्यालयमा बालसमूहको बैठककक्ष व्यवस्थापन गरेको छ । विद्यालय व्यवस्थापन समितिबाट विद्यालयमा विद्यार्थीलाई शारीरिक, मानसिक यातना दिएको छैन र दिइने पनि छैन भनि प्रतिवद्धता गरेको निर्णय गर्ने, विद्यालयमा प्रतिवद्धता ब्यानर टाँस गर्ने र सोको जानकारी निर्णय र फोटोसहित वडालाई दिने विद्यालयले जनाएको छ ।
विद्यालयमा बालमैत्री आचारसंहिता व्यवस्थित गरेकाले सबैले देख्ने स्थानमा जानकारी गराई झुण्डाएको जनाएको छ भने विद्यालयको हाताभित्र रहेको बालबगैंचा, फूलबारी र भवनसहितको फोटो खिचेर प्रमाण वडामा बुझाइएको छ । बालमैत्री धाराको फोटोहरु, विद्यालयको प्रशासनकक्ष भित्रको फोटो, बालसमूहको बैठक बसेको माइन्युटको फोटोकपि र फोटो वडामा पेश गरेको जनाइएको छ ।
बालविकास शिक्षकलाई बालबालिकाप्रति गर्नुपर्ने बालमैत्री व्यवहारमा विशेष ध्यान दिनका लागि व्यवस्थापन समितिले निर्णय गरेर सोही अनुसार व्यवहार परिवर्तनका लागि अनुरोध गरेको प्रअ सुबेदीले बताए । बालबिकास केन्द्रका बालबालिकालाई आवश्यक पर्ने खेलकुद सामग्री उपलब्ध गराउने खाजाको दैनिकतालिका अनुसार स्थानीय खाजाको व्यवस्था गरिएको छ । विद्यालयको अतिरिक्त क्रियाकलापको तालिका र बालसहभागितामा कार्यान्वयन गर्ने गरेको पनि विद्यालयले जनाएको छ ।
यसैगरी विद्यालय अनुगमनमा आउँदा विद्यालय व्यवस्थापन समिति, आगन्तुक/निरीक्षण पुस्तिका, बालसमूह बैठक, विद्यालय व्यवस्थापन समिति रजिष्टर अनुगमन समितिले माग्ने हुँदा सोही अनुसार अभिलेखीकरणमा ध्यान दिने गरेको विद्यालयले जनाएको छ । विद्यालयमा १५ सय ४३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौंडा–२ का कार्यबाहक वडाअध्यक्ष सुरज बर्तौला, वडासचिव रामप्रसाद गुरागाईं, वडासदस्यहरु ईन्द्रप्रसाद रिजाल, मैयाँ परियार, बालमैत्री वडासहजकर्ता राहुल शर्मा र बालसमूहका अध्यक्ष कृशा·ी अर्याललगायतको उपस्थिति थियो ।







