मकवानपुरमा ४ सय ३७ सम्बन्धविच्छेदका मुद्दा

साझाकुरा
२०८० चैत्र ३, शनिबार ०८:००

हेटौंडा–हेटौंडा उपमहानगरपालिका–३ का नवराज सिग्देल अहिले श्रीमतीसँग सम्बन्धविच्छेदको कानूनी प्रक्रियामा छन् । विगत ४ वर्षदेखि श्रीमती अलग बसेकाले सम्बन्धविच्छेदका लागि उनले जिल्ला अदालत मकवानपुरमा माघ १८ गते उजुरी दर्ता गरेका हुन् ।

हेटौंडा उपमहानगरपालिका–१९ का २९ वर्षीय धनबहादुर केसीले पनि गत माघ २८ गते सम्बन्धविच्छेदका लागि उजुरी दिएका छन् । पत्नी घरभन्दा बढी माइती बस्ने गरेको, घर व्यवहारप्रति जिम्मेवार नभएको र नगद सम्पत्ति हिनामिना गरेकाले अलग हुन चाहेको केसीको जिकिर छ ।

छोरीमात्र पाएको भनेर श्रीमान्ले मादकपदार्थ सेवन गरेर कुटपिट गर्ने गरेकाले अंशसहित सम्बन्धविच्छेद गरी पाउँ भनेर भीमफेदी गाउँपालिका–१ की नम्रता लामा फागुन ४ गते जिल्ला अदालतको ढोका ढकढक्याउन पुगेकी छन् । २३ वर्षीया लामाको ३ छोरी छन् । मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिका–६ की १८ वर्षीया सुनितामाया चेपाङले पनि पतिसँग सम्बन्धविच्छेद गर्नका लागि फागुन २८ गते अदालतमा निवेदन दर्ता गरेकी छन् ।

तीनवटा बच्चाकी आमा सुनितामायाको २१ वर्षीय पति सोमवहादुर चेपाङले गाउँकै अर्को युवतीसँग विहे गरेपछि उनले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएकी हुन् । १४ वर्षको उमेरमा सोमवहादुरसँग उनको विवाह भएको थियो । यी त केही उदाहरण मात्रै हुन् । जिल्ला अदालत मकवानपुरमा दैनिक सरदर तीनवटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा १५ सय ९९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ४ सय ३७ थान मुद्दा सम्बन्धविच्छेदका छन् । सम्बन्धविच्छेदका लागि महिला र पुरुष दुवैले मुद्दा दर्ता गराएका छन् ।

सम्बन्धविच्छेदका लागि दर्ता भएकामध्ये पुस मसान्तसम्म ३ सय ७३ वटा मुद्दा फसर््यौट भइसकेका छन् । गत आवको ६ महिना अर्थात् यही अवधिमा जिल्ला अदालतमा ४ सय ३० थान मुद्दा दर्ता भएका थियो । अदालतमा दर्ता भएको मुद्दा तथ्यांकअनुसार सरदरमा दैनिक ३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको हो । जिल्ला अदालतमा आव २०७९/८० मा ३ हजार ३ सय ५७ मुद्दा दर्ता भएका थिए । तीमध्ये २८ दशमलव ५० प्रतिशत अर्थात ९ सय ७५ थान सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

सम्बन्धविच्छेदका लागि आएका अधिकांश महिला पति एवम् घर परिवारको हिंसा सहन नसकेर अदालतको ढोका ढकढक्याउन आउने गरेका छन् । श्रेस्तेदार पौडेलका अनुसार बालविवाह पनि क्रमशः सम्बन्धविच्छेदमा परिणत हुन थालेको छ । विवाह १५/१६ वर्षको उमेरमा हुने र २१/२२ वर्ष पुगेपछि काखमा नानी च्यापेर सम्बन्धविच्छेदका लागि आउनेको संख्या बढ्दो रहेको छ । मुलुकमा नयाँ संहिता कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ ।

जसले गर्दा सम्बन्धविच्छेदको मुद्दा अदालतमा ह्वात्तै बढेको अधिवक्ता मदन दाहालले बताए । अहिले अदालतमा दर्ता भएका मुद्दामध्ये झण्डै ३० प्रतिशत मुद्दा सम्बन्धविच्छेदका छन्, उनले भने, ‘महिलासरह पुरुषहरु पनि सम्बन्धविच्छेदका लागि अदालत जान सक्ने कानुनी व्यवस्था गरिएका कारण पनि मुद्दा बढेका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published.


*