जोखिम घटाउँदै सामी परियोजनाः वैदेशिक रोजगारीमा गएका मकवानपुरका १९३ जनाले गुमाए ज्यान

प्रतिक्षा न्यौपाने
२०८० चैत्र ३, शनिबार ०८:०५

हेटौंडा–परिवारको खुशी र सुखी जीवनका लागि वैदेशिक रोजगारीमा होमिएका मकवानपुरका युवाहरु उतै अस्ताउने क्रम रोकिएको छैन । पछिल्लोपटक २१ माघ २०८० मा मकवानपुरगढीका एक युवकले वैदेशिक रोजगारीकै क्रममा मलेशियामा ज्यान गुमाए । घरको कमजोर आर्थिक अवस्था उकास्न मलेसिया पुगेका थिए, मकवानपुरगढी–५ का माधव ढुंगाना । घरको जेठो छोराको जिम्मेवारी काँधमा बोकेर २५ वर्षको उमेरमै वैदेशिक रोजगारीका लागि मलेसिया हानिएका माधवको शव बाकसमा फर्किँदा गाउँ शोकमग्न बन्यो ।

हेन्ग हिआप इण्डष्ट्रिज एसडीएन बिएचडीमा मजदुरको रुपमा कार्यरत् ढुंगानाको कोठामा सुतिरहेको अवस्थामै मृत्यु भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको थियो । परिवारकाअनुसार उनको हृदयघातको कारण मृत्यु भएको हो । बेलुकाको काम सकेर कोठामा आएपछि खाना खाँदै परिवारसँग कुरा गरिरहेका माधवको स्वर घरमा कहिल्यै नसुनिने गरी बन्द हुन पुग्यो । माधव ८ महिना अघि मात्रै मलेसिया पुगेका थिए ।

मलेसियास्थित नेपाली दुतावास र वैदेशिक रोजगार बोर्डको सचिवालयको सहजीकरणमा माधवको शव ६ दिनमा नेपाल ल्याइएको थियो । माधव जस्तै १९३ जना व्यक्तिले २०६५ सालदेखि २०८० को फागुनसम्म वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा रहेको आप्रवासी स्रोतकेन्द्रकाअनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०८०/८१ को फागुनसम्म १ सय ९३ जनाले ज्यान गुमाएको तथ्यांक शुक्रबार हेटौंडामा आयोजित पत्रकारसँगको अन्तरक्रियामा सुरक्षित आप्रवासन (सामी) परियोजनाले जानकारी दिएको छ ।

यसैगरी विगत १० वर्षमा वैदेशिक रोजगारीमा गएका मकवानपुरका ६२ जना बिरामी तथा अंगभंग भएको परियोजनाले उल्लेख गरेको छ । बागमती प्रदेशमा २०७५/७६ मा ९७ जनाको मृत्यु भएको सामी परियोजनाले जनाएको छ । २०७६/७७ मा ९५ जना, ०७७/७८ मा १६९ जना, २०७८/७९ मा १६९ जना र २०७९/८० मा १२५ जनाको मृत्यु भएको जनाइएको छ । देशभर २०६५/६६ यता १५ वर्षमा ५ हजार २ सय ७९ जनाले वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र बैदेशिक रोजगार बोर्डको तथ्यांक रहेको सामी परियोजनाले जनाएको छ ।

मकवानपुरबाट गतवर्ष ०७९/८० मा विदेशिनेहरु १३ हजार १ सय १ जना रहेको परियोजनाले जनाएको छ । तर, यस तथ्यांकमा अध्ययनका लागि विदेशिएकाहरु समेटिएका छैनन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गतवर्ष राहदानी लिने २३ हजार ३ सय ८३ जना थिए । चालू आव २०८०/८१ को फागुनसम्म प्रशासनबाट ६ हजार ३ सय ५० जनाले राहदानी लिएको परियोजनाकी मकवानपुर संयोजक अञ्जिता थापा मगरले जानकारी दिइन् । मकवानपुरबाट चालू आवको फागुनसम्म ७ हजार ६ सय ४७ जनाले पुनः श्रम स्वीकृति लिएको र ५ हजार ३ सय ३७ जनाले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक छ ।

सामी परियोजना मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया र मनहरी गाउँपालिकामा सञ्चालित छ । परियोजनाले विदेश जान चाहनेलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाको परिवारलाई वित्तीय शिक्षा तथा मनोसामाजिक परामर्श, र वैदेशिक रोजगारबाट फर्किएकाबाट सूचना तथा अनुभव आदानप्रदानको लागि समुदायस्तरका काम गरिरहेको छ । सामी परियोजनामार्फत वैदेशिक रोजगारी जानु अघि आवश्यक कागजपत्रको सुरक्षण, सीप, भाषालगायतको पूर्वतयारी बारे परामर्श दिने गरिएको संयोजक मगरले बताइन् ।

यसैगरी, वैदेशिक रोजगारीबाट फर्केकाहरु र वैदेशिक रोजगारमा रहेकाहरुको परिवारलाई वित्तीय साक्षरता कक्षामार्फत आर्थिक व्यवहार परिवर्तन, पारिवारिक बजेट, फजुलखर्च कटौती जस्ता कार्यमा प्रोत्साहि गर्दै आएको छ । वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरुलाई न्यायमा पहुँच बढाउन परामर्श र सहायत प्रदान गर्ने गरेको परियोजना संयोजक थापा मगरले बताइन् ।

परियोजनाले प्रतिवर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति वैदेशिक श्रमबजारमा प्रवेश हुने गरेको उल्लेख गरेको छ । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबीलगायतका कारण वैदेशिक रोजगारीप्रति आकर्षण बढेको मगरले जानकारी दिइन् । नेपालबाट श्रमस्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघिसकेको छ । हाल दैनिक सरदर २ हजार २ सय जना वैदेशिक रोजगार जाने गरेको, श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानेको संख्या पनि उल्लेख्य रहेको र मुख्य गन्तव्यः मलेसिया/खाडी मुलुकहरु रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*