जम्कट्टेलको विश्वासको मत फेल गराइदिन प्रस्ताव आएको सभामुखको खुलासा
हेटौंडा-बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले १९ चैतमा हुने विश्वासको मतको बैठकमा अनुपस्थित हुन प्रस्ताव आएको खुलासा गरेका छन् । चितवनमा भएको प्रदेशसभा र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने सम्बन्धीको प्रदेशसभा बैठकमा आफूलाई अनुपस्थिति हुन प्रस्ताव आएको बताएका हुन् । ञविश्वासको मतमा मलाई अनुपस्थिति हुन प्रस्वात आएको थियो । दबाब आएको थियो । म अनुपस्थिति भए के हुन्थ्यो ? कोशीमा जस्तै घटना हुन्थेन ? पाठकले भने । पाठकले यो प्रस्तावलाई अस्वीकार गरेको बताउँदै निष्पक्ष ढंगले अगाडि बढ्ने बताए ।
आफू प्रदेशसभाको खेलाडी नभई एम्पायर भएकोले भूमिका निष्पक्ष हुने बताए । दबाब कहाँबाट आएको भन्ने उनले खुलाएनन् । संवैधानिक व्यवस्थाअनुसार जम्कट्टेलले ३० दिनभित्र अर्थात २२ चैतसम्ममा विश्वासको मत लिनुपर्नेछ । जसकारण १९ गतेदेखि २२ गतेसम्म सभामुखलाई बैठकमा अनुपस्थित हुन प्रस्ताव आएको थियो । उनी अनुपस्थित भए सभा सञ्चालन हुन्थेन । पाठकले आफू अनुपस्थित हुँदा सभा सञ्चालनको उपसभामुख अप्सरा चापागाईंलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । सभामुखले लिखित जिम्मेवारी नदिएसम्म उपसभामुखले बैठक चलाउन नसक्ने संवैधानिक व्यवस्था छ ।
यदि उपसभामुखलाई सभा सञ्चालनको जिम्मेवारी नदिए बैठक बस्न सक्ने अवस्था हुन्थेन । पाठक अनुपस्थिति हुँदा र उपसभामुखलाई संवैधानिक व्यवस्थाअनुसार सभा सञ्चालनको जिम्मेवारी नदिँदाको अवस्थामा सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने जोमिख हुन्थ्यो । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाए प्रदेशसभाको ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुन्छ ।
जम्कट्टेलले १९ चैतमा कसिलो अंकगणितकाबीच विश्वासको मत लिँदैछन् । सरकारमा सहभागी भएकाले उनको दल नेकपा माओवादीको २१, नेकपा एमालेको २७, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदले विश्वासको मत दिने अपेक्षा सरकार पक्षले गरेको छ । बागमतीमा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्दछ ।
सभामुख पाठकले बागमती प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने कार्यको थालनी भएको बताए । प्रदेशसभाको सूचना संकलनमा पत्रकारलाई सहज बनाउने कुरामा आफू प्रतिबद्ध रहेको उनको भनाई छ । सभामुख पाठकले प्रदेशसभा पारदर्शी रहँदा संसद र सांसद सचेत रहने र उचित विषयको उठान हुने कुरामा आफू विश्वस्त रहेको बताए । ‘सामाजिक सञ्जालले हालको पत्रकारितालाई चुनौती थपेको र इतिहास बोकेका मिडियाको अस्तित्व धरापमा छ, अहिले सबैभन्दा शक्तिशाली इन्टरनेट रहेको छ, इन्टरनेट बन्द हुदा सबै क्षेत्र प्रभावित रहनेछ,’ सभामुख पाठकले भने ।







