विषादि प्रयोगको सचेतनामा थाहाका किसान धेरै
हेटौंडा–तरकारी बालमीमा प्रयोग गरिने विषादिको बारेमा किसानको सचेतनास्तर मकवानपुरका १० पालिकामध्ये इन्द्रसरोवर गाउँपालिका ज्यादै कमजोर रहेको पाइएको छ ।
राष्ट्रिय कृषि गणना, २०७८ अन्तर्गतको सामुदायिक प्रतिवेदन अनुसार विषादि प्रयोगको बारेमा इन्द्रसरोवरका किसानको सचेतनास्तर शुन्य रहेको पाइएको छ । २ वैशाखमा सार्वजनिक सामुदायिक प्रतिवेदन अनुसार इन्द्रसरोवरका शतप्रतिशत किसान आंशिक सचेत रहेको तथ्याङ छ । थाहा नगरपालिकाका किसान भने जिल्लामै सबैभन्दा बढी सचेत रहेको तथ्यांकले देखाएको छ । थाहानगरका ६६ प्रतिशत किसान विषादि प्रयोगमा सचेत रहेको तथ्यांकमा उल्लेख गरिएको छ । यो जिल्लामै सबैभन्दा बढी प्रतिशत हो ।
थाहामा ८.३ प्रतिशत आंशिक सचेत र २५ प्रतिशत किसान भने अझै सचेत नरहेको तथ्यांकले देखाएको छ । समग्र मकवानपुरका भने जम्मा ३३ प्रतिशत किसान मात्र सचेत रहेको तथ्यांकले देखाएको छ । जिल्लामा आंशिक सचेत ५४.९ प्रतिशत र १२.१ प्रतिशत किसान सचेत नभएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले ६ वैशाख २०७९ देखि १९ जेठ २०७९ सम्म ४५ दिन ‘फिल्ड’ मै पुगेर कृषि गणना गरेको थियो । सोही समयमा गणना क्षेत्रभित्र पर्ने वडाका अध्यक्ष वा सचिवमार्फत अन्तरर्वार्ता विधिबाट सामुदायिक प्रश्नावली भराएर तथ्यांक संकलन गरिएको थियो ।
कैलाश गाउँपालिकाका ११.१ प्रतिशत सचेत, ७७ प्रतिशत आंशिक सचेत र ११.१ प्रतिशत सचेत नभएको तथ्यांक छ । राक्सिराङमा ३३ प्रतिशत सचेत, ५५.६ प्रतिशत आंशिक सचेत र ११.१ प्रतिशत सचेत नभएको तथ्यांक छ । मनहरीका १४.३ प्रतिशत सचेत, ४२.९ आंशिक सचेत र ४२.९ प्रतिशत सचेत नभएको पाइएको छ । हेटौंडा उपमहानगरका ५३.८ प्रतिशत किसान सचेत छन् भने ३८.५ प्रतिशत आंशिक सचेत र ७.७ प्रतिशत किसान सचेत नभएको पाइएको छ । भीमफेदीका ११.१ प्रतिशत सचेत छन् भने ८८.९ प्रतिशत आंशिक सचेत र सचेत नभएका किसान नै नरहेको तथ्यांक छ ।
मकवानपुरगढी गाउँपालिकाका ३७.५ प्रतिशत किसान सचेत छन् भने ६२.५ प्रतिशत किसान आंशिक सचेत र सचेत नभएका किसान नै छैनन् । बकैयाका २० प्रतिशत सचेत, ६० प्रतिशत आंशिक सचेत र २० प्रतिशत किसान सचेत नै नभएको तथ्यांक छ । बागमती गाउँपालिकाका ४४.४ प्रतिशत किसान सचेत रहेका छन् भने ५५.६ प्रतिशत आंशिक र सचेत नै नभएको किसान पालिका क्षेत्रमा नरहेको तथ्यांक प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ ।







