बागमतीको ८० प्रतिशत माटोमा अम्लियपना, किसानसम्म पुगेन सरकार
हेटौंडा–बागमती प्रदेशको ८० प्रतिशत खेतीयोग्य माटोमा विगत चार वर्षदेखि ८० प्रतिशत अम्लियपना देखिएको छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला, बागमती प्रदेशले २०७६ देखि गरेको माटो परीक्षणको तथ्यांकले अम्लियपना नियन्त्रणमा आउन नसकेको देखाएको छ । बागमती प्रदेशको २० लाख ३० हजार हेक्टर क्षेत्रफलमध्ये ३ लाख २८ हजार २ सय ९७ हेक्टर अर्थात् १६ दशमलब १७ प्रतिशत भूभाग जमिन खेतीयोग्य छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअनुसार जसमा २ लाख ८९ हजार ६ सय ६२ हेक्टर जग्गामा खेती गरिएको छ । यहाँको उर्वरा जमिनमा अम्लियपना हरेक वर्ष ८० प्रतिशतको दरमा देखिएको प्रयोगशालाले जनाएको हो ।
अम्लियपनाका कारण कृषिउत्पादनमा निरन्तर ह्रास आइरहेको कृषि विज्ञहरु बताउँछन् । २०७६ देखि चैत तेस्रो सातासम्म १५ हजार ५ सय ८८ वटा माटोको नमूना परीक्षण गर्दा ८० प्रतिशत माटोमा अम्लियपना देखिएको प्रयोगशाला प्रमुख वरिष्ठ माटोविज्ञ डा. जनार्दन खड्काले जानकारी दिए । प्रयोगशालाले ०७६/०७९ सम्म १० हजार ६ सय ४१ वटा माटोको नमूना परीक्षण गरेकोमा ८३ प्रतिशत माटोमा अम्लियपना देखिएको उनले बताए ।
चालू आर्थिक वर्ष २०८०/८१ को चैत तेस्रो सातासम्म ४ हजार ९ सय ४७ वटा माटोको नमूना परीक्षण हुँदा ८७ प्रतिशत अम्लियपना देखिएको तथ्यांक छ । एकपटक माटो परीक्षण गरेपछि ५ वर्षसम्म पुनः परीक्षण नगरिने डा. खड्का बताउँछन् । ‘अम्लियको परीक्षण एकपटक नियन्त्रणका उपाय गरिसकेपछि कम्तिमा पनि ५ वर्ष गर्नुपर्दैन । नयाँनयाँ माटोको परीक्षण गर्दा अम्लिय एउटै दरमा देखिएको छ,’ उनले भने ।
माटोमा बढी अम्लियपना काठमाडौं उपत्यकासहित काभ्रे, मकवानपुरको उत्तरीक्षेत्र, चितवन, नुवाकोट र धादिङमा देखापरेको प्रयोगशालाले जनाएको छ । तरकारी उत्पादन बढी हुने क्षेत्रमा विषादिको प्रयोग अधिक, काठमाडौंको ढल बगेर पुग्ने जग्गा भएकाले, वर्षातको पानी बगेर जम्मा हुने गहिरो भूमागमा बढी अम्लियपना देखिएको डा. खड्काले उल्लेख गरे । माटोमा खाद्यतत्व हुँदापनि अम्लीपयनाले विरुवा डढ्ने, उम्रिने बित्तिक्कै मर्ने÷सुक्ने समस्या देखिने उनले बताए ।
रसायनिक मल र विषादिको बढ्दो प्रयोग, वर्षातको पानी बगेर सीधै खेतीयोग्य जग्गामा घुल्नुले अम्लियपना बढाएको कृषि विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक सुधीर श्रेष्ठले जनाए । वर्षातको पानी भेल बनेर आउँदा त्यसलाई सीधै खेतीयोग्य जग्गामा जानबाट रोक्नुपर्ने उनले सुनाए । ‘रसायिनक मललाई घटाएर जैविक मलको प्रयोग बढाउने, वर्षात्को पानी रोक्ने र कृषिचुनको प्रयोगले यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ,’ श्रेष्ठले भने । अम्लियपना बढ्नु र प्राङ्गारिक पदार्थको मात्रा घट्नुले उत्पादकत्वमा ह्रास भएको श्रेष्ठ बताउँछन् ।
यस्तै, २०७६ देखि ०७९ सम्मको नमूना परीक्षणबाट माटोमा ४७ प्रतिशत मात्रै प्राङ्गारिक पदार्थ पाइएको छ । चालू आवको परीक्षणमा ५३ प्रतिशत कमी देखिएको डा. खड्काले जानकारी दिए । उत्पादनको क्षमता बढाउने प्राङगारिक पदार्थ माटोमा कमी हुनु दोस्रो ठूलो समस्याको रुपमा देखापरेको उनको भनाई छ । गाईंवस्तुको मलमा कमि आउनु, झार माटोमै कुहाउन छोड्नु, भाडामा जग्गा लिनेहरुले गाईंवस्तुको मल नहाल्नुले माटोमा प्राङ्गारिक पदार्थको कमी देखिएको प्रयोगशाला प्रमुख डा. खड्का बताउँछन् ।
माटोमा पाइने नाईट्रोजन, पोटास र फस्पोरसको मात्रा भने स्थिर देखिएको छ । खाद्यतत्व फस्फोरस र पोटासको मात्रा ३० प्रतिशत कमी देखिएको भन्दै खड्काले समस्या नभएको बताए । प्रयोगशालाले प्रदेशका विभिन्न जिल्लामा घुम्ती शिविर गरी माटो परीक्षण गर्दै आएको छ । दुईवटा बसलाई मोबाइल भ्यान बनाएर खेतखेतमै पुगेर परीक्षण गर्ने गरिएको कार्यालयकी माटोविज्ञ लक्ष्मी दाहालले बताइन् । बसमै परीक्षण मेसिन राखिएको उनले बताइन् । कार्यालयले प्रतिनमूना परीक्षणबाट ७२ रुपैयाँ ५० पैसा राजश्व लिने गरेको छ ।
सुस्त सरकारी संयन्त्र, अनभिज्ञ किसान
माटोको अम्लियपना नियन्त्रणसँगै उत्पादन बढाउने उपायबारे कृषि पेशाबाट आत्मनिर्भर साना किसानहरु अनविज्ञ रहेको पाइएको छ । संघ मात्र नभई स्थानीय सरकार पनि सानाकिसानमा पुग्न नसकेको पाइएको हो ।
हेटौंडा उपमहानगरपालिका–१, मा मकै गोड्दै गरेकी पार्वती मरहठ्ठाले आफूलाई माटोमा हुने अम्लियपनाको बारेमा थाहा नभएको सुनाइन् । ‘मैले सुनेको त छु, अम्लियपना भनेको के हो, कसरी हुन्छ, यसलाई कसरी हटाउने भनेर कसैले भनेको छैन,’ उनले भनिन्, ‘अम्लियपनाले राम्रो फल्दैन भने त उपचार गरिहाल्छौं नी ।,’
मकवानपुरगढी–५ का सुरेन्द्र र बिनिता हुमागाईं दम्पति पनि अम्लियपना बारे अनविज्ञ छन् । कृषिबाटै आत्मनिर्भर हुमागाईं परिवारलाई हरेक वर्ष विरुवामा देखिने समस्याले पिरोल्ने गरेको छ । ‘विरुवाको जरामा गाँठा पर्ने समस्या हुँदा के कारणले होला भन्ने लाग्थ्यो । माटोको बारेमा ज्ञान नै थिएन,’ बिनिताले भनिन्, ‘माटो राम्रो बनाउन जैविक मल हाल्नुपर्छ भनेर चाहीँ सुनेको हो । वडातिर पनि केही भन्दैनन्,’ ।
मकवानपुरगढी गाउँपालिकाको कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरी सानाकिसानसम्म पुग्न नसकेको स्वीकार्छन । ‘व्यावसायिक किसानहरु चाहीँ आउनुहुन्छ, हामीले पनि उनीहरुलाई कृषिचुन दिने गरेका छौं । सानाकिसान त माटो परीक्षणमा पनि आउँदैनन् त्यहाँ पुग्न पनि नसकेको हो,’ चौधरीले भने । मकवानपुरगढीमा पशुपालनमा आधारित कृषि पेशा गर्ने गरेकाले माटोमा अम्लियपना धेरै नदेखिएको उनको भनाई छ ।







