मकवानपुरतर्फको सुरुङ निर्माण अन्तिम चरणमा

साझाकुरा
२०८१ बैशाख ९, आईतवार ०८:०५

हेटौंडाद्-काठमाडौं–निजगढ द्रुतमार्ग (फास्टट्रयाक) को मकवानपुरतर्फ सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । ६ हजार ४१५ मिटरमध्ये १ हजार ५२९ मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

समग्र आयोजनाको प्रगति भने सुस्त गतिमा भइरहेको भएपनि सुरुङ निर्माणको कार्यले तीव्रता पाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित महादेवटार, बकैया गाउँपालिकाको लेनडाँडा र धेद्रे सुरुङ खन्ने काम धमाधम भइरहेको आयोजनाले जानकारी दिएको हो । आयोजनाको परिमार्जित विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार ६ वटा सुरुङ निर्माण हुनेछन् । लेनडाँडा र धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ आगामी जेठभित्र गर्नेगरी रात्रिकालीन समयमा पनि काम भइरहेको आयोजनाका प्रमुख एवम् सहायकरथी विकास पोखरेलले बताएका छन् ।

लेनडाँडा सुरुङको कुल दूरी १ हजार ४३० मिट रहेकोमा अहिलेसम्म १ हजार ३५० मिटर खनिएको छ । अब ८० मिटरमात्र खन्न बाँकी छ । त्यस्तै धेद्रे सुरुङ १ हजार ६३० मिटरमध्ये १ हजार ३९८ मिटर सुरुङ खनिएको छ । अब २ सय ३२ मिटरमात्र खन्न बाँकी छ । महादेवटार सुरुङमा पनि धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । यो सुरुङको दूरी ३ हजार ३५५ मिटर रहेको छ ।

अहिलेसम्म २ हजार १३८ मिटर खनिएको र १ हजार २१७ मिटर मात्र खन्न बाँकी छ । यी तीनैवटा सुरुङ १ र २ नम्बर प्याकेजमा पर्छन् । दुई महिनाभित्र सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी द्रुतगतिमा काम भइरहेको रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बताएका छन् । पछि थप भएको २ हजार २५० मिटरको चन्द्रामभिर सुरुङ, १ किमिको देवीचौर र ०.३९ किमिको सिसौटार सुरुङको ठेक्का प्रक्रिया सम्पन्न भएर निर्माण प्रक्रियामा गएको आयोजनाले जनाएको छ ।

नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको फास्टट्रयाकमा ७०.९७७ किमिमध्ये ६४.४७७ किलोमिटरमा ठेक्का व्यवस्थापन भएको छ । खोकना खण्डको जग्गा विवाद भने अझै टुंगिएको छैन । जसले गर्दा यो खण्डको ६.५ किमि क्षेत्रमा ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन । यो खण्डलाई अन्तिम ११ नम्बर प्याकेजमा राखिएको छ । तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्नेगरी काम भइरहेको प्रधानसेनापति प्रभुराम शर्माले जानकारी दिएका छन् ।

आयोजनाको म्याद ०८३ चैत मसान्तसम्म छ । यो आयोजनामा ८९ पुलमध्ये ८५ पुलको ठेक्का भएर काम भइरहेको छ । खोकना खण्डमा पर्ने ४ वटा पुलको ठेक्का व्यवस्थापन हुन सकेको छैन । ८९ मध्ये पुलमध्ये प्याकेज नम्बर ३ मा पर्ने ५ वटा पुलको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनायो । प्रधानसेनापति शर्माले २०७६ असोजमा नेपाल सरकारबाट डीपीआर स्वीकृत भएर आएपछि मात्र आयोजनाको काम सुरु भएको बताए ।

यो आयोजनाको तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (हालका पनि प्रधानमन्त्री) ले २०७४ जेठ १४ मा शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो । अहिलेसम्म यसको भौतिक प्रगति ३३.२० प्रतिशत छ । यो आयोजनाको सुरु लागत अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ थियो । संशोधन गरेर अहिले २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पु¥याइएको छ । अहिलेसम्म ६० अर्ब ४४ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*