दादुरा रुबेला खोप अभियानमा क्रियाशील हुन स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन
हेटौंडा-दादुरा रुबेला खोप अभियानमा क्रियाशील भएर काम गर्न बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले चिकित्सकलाई निर्देशन दिएका छन् । आइतबार दादुरा रुबेला अभियानको समीक्षा आईपीभी खोप अभियानसम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । जिल्लामा रुवेलाको अवस्था बुझेर कस्ता कार्यक्रम ल्याउँदा उपयोगी हुन्छ ? भन्ने विषयमा बुझेर अगाडि बढ्न स्वास्थ्य मन्त्री श्रेष्ठले स्वास्थ्यकर्मीसमक्ष अनुरोध गरे ।
स्वास्थ्य क्षेत्रमा भएको कमीकमजोरीलाई सुधार गर्दै थप गर्नुपर्ने कार्यक्रमलाई समायोजन गरी काम गर्न उनले सुझाव दिए । नपाली समाजको स्वास्थ्य क्षेत्रमा निकै सुधार भएको पनि उनले बताएका छन् । जिल्लामा रहेका चिकित्सकले क्रियाशील भई खोप लगाउने कार्यमा हेलचक्राई नगरी काम गर्ने हो भने मृत्युदर शुन्यमा झार्न यो अभियान सफल हुनेभन्दै सबै क्षेत्रबाट सहयोग गर्न स्वास्थ्य मन्त्री श्रेष्ठले अनुरोध गरे । आफ्नो जीवनको प्रवाह नगरी जनताको सेवामा लागीपरेका कर्मचारीलाई हौसला प्रदान गर्दै यो कार्यको राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पनि पहिचान बनाएको स्मरण गरे ।
चिकित्सकको कामप्रति सम्मान व्यक्त गर्दै मन्त्री श्रेष्ठले ‘विरामीको स्वस्थ्य जीवनको लागि दिनरात नभनी खटिनुहुन्छ भन्ने विश्वास राखेको छु ।’ विपन्न परिवारलाई स्वंयमसेविकाले महत्वपूर्ण योगदान पु¥याएकोमा खुशी व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले ल्याएको स्वास्थ्यबीमा कार्यक्रमबाट विपन्न परिवारका सदस्य लभांवित हुन नसकेकोमा दुःख व्यक्त गरे ।
सबै जनतालाई संविधानको मर्म अनुसार स्वास्थ्यको पहुँचमा ल्याउन स्वास्थ्यकर्मीलाई अनुरोध गर्दै यस आर्थिक वर्षमा ७ हजारको हाराहारीमा बिपन्न परिवार लाभान्वित भैसकेको र यस आर्थिक वर्षको अन्त्यसम्ममा थप २ करोड थपेर १२ हजार घरधुरीलाई स्वास्थ्यवीमाको सुविधा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । विश्वभर फैलिएको आत्महत्या न्यूनीकरणका लागि मन्त्री श्रेष्ठले जति सक्दो पहल गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयको सर्बपक्षीय संयन्त्रको निर्माण गर्ने र व्यापक स्वास्थ्यकर्मी परिचालनका साथै जनचेतनाका लागि स्थानीय सरकारसँगको सहयोग र समन्वयमा कार्यक्रम गरिने उनले जानकारी दिएका छन् । व्यापक जनचेतनाका कार्यक्रम ल्याउने योजना बनाइएको मन्त्री श्रेष्ठले स्पष्ट पारेका छन् । उपचारात्मक कार्यका लागि प्रादेशिक अस्पताल र आर्युवेदिक केन्द्रबाट प्रभावकारी कार्य गरिने पनि मन्त्री श्रेष्ठको भनाई रहेको छ ।
जनस्वास्थ्यमा प्रभावकारी कार्यलाई अगाडि बढाइने र त्यसबाट निस्केका जटिलतालाई आवश्यक उपचार चाहिएको अवस्थामा स्वास्थ्य मन्त्रालयले समस्याको उपचार गर्ने निर्णय लिएको मन्त्री श्रेष्ठले बताए । स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था, विपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवाप्रवाह, आपतकालीन अवस्थाका लागि औषधि तथा औषधिजन्य सामग्रीको प्रादेशिक बफरस्टक व्यवस्थापनआदि कार्यमा मन्त्रालय संबेदनशील रहेको मन्त्री श्रेष्ठले जानकारीदिएका छन् ।







