हेटौंडा सिमेन्टका पूर्वकर्मचारीले १७ करोड पाएनन्, उधारो नै ६० करोड
हेटौंडा-सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगका २७ जना पूर्वकर्मचारीले अवकाशपछि पाउनुपर्ने उपदान र औषधिउपचार खर्चवापत्को रकम पाएनन् ।दुई वर्षअघि अवकाश भइसकेकाहरुले हालसम्म पनि उपदान र औषधिउपचार खर्चको रकम नपाएपछि पूर्वकर्मचारी उद्योगसँगरकम माग्दै आन्दोलनमा होमिएका छन् । यसअघि १५ चैतमा धर्ना बसेका पूर्वकर्मचारी बिहीवार उद्योगको प्रशासन भवन अगाडि धर्नामा बसेका थिए । २१ साउन २०७९ देखि १० वैशाख २०८१ सम्म २९ जना कर्मचारीले अवकाश लिइसकेका छन् ।
जसमध्ये एकजनाले उपदान र उपचार खर्च पाए भने एकजना भर्खरै अवकाशमा गएकाले उनले लिनुपर्ने रकमको उद्योगले निक्र्यौल गरिसकेको छैन । २८ जना पूर्वकर्मचारीले उपदान रकम र औषधिउपचारवापतको खर्च गरी १६ करोड ९६ लाख ९१ हजार ३३८ रुपैयाँ लिन बाँकी रहेको उद्योग प्रशासनले जनाएको छ । १३ करोड ६२ लाख ६९ हजार २८६ उपदान रकम र ३ करोड ३४ लाख २२ हजार ५२ औषधिउपचार खर्च पूर्वकर्मचारीलाई दिनुपर्ने दायित्व उद्योगसँग छ ।
अवकाश पीडित कर्मचारी समूहले ३० चैत २०८० मा अर्थमन्त्री वर्षमान पुनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, मकवानपुरका प्रतिनिधिसभा सदस्य नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासहित सबै राजनीतिक दललाई निवृत्तिभरण वापतको रकम उपलब्ध गराइदिन अनुरोध गरेका थिए । उद्योगले २५ पुसमा पूर्वकर्मचारीसँग सम्झौता गर्दै फागुन २०८० भित्र एकजनालाई उपदान दिने र बाँकी सबैलाई असार मसान्तसम्म दिइसक्ने सहमति
गरेको छ ।
तर, उद्योगले तत्काल १७ करोड रकम दिन नसक्ने बताएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले पूर्वकर्मचारीको माग जायज भएपनि उद्योग घाटामा रहेकाले रकम दिन नसकिएको बताए । उद्योगको सबलीकरण र पूर्वकर्मचारीको समस्या समाधानका लागि पहल भइरहेको पाण्डेले बताए । अर्थ मन्त्रालयमा पूर्वकर्मचारीको रकम एकमुष्ट दिनुपर्ने मागसहित पत्राचार गरिएको र जवाफ सकारात्मक आएको पाण्डेले जनाए ।
उद्योगले सम्पत्ति बिक्रीबाट पनि दायित्व घटाउने तयारी गरेको उनको भनाई छ ।क्यान्सरका बिरामीले समेत पाएनन रकमसप्तरीको खड्ग नगरपालिका–११ का बहुरीप्रसाद चौधरी हस्पिटलले जोडिदिएको वैकल्पिक पिसाबथैली नै बोकेर आन्दोलनमा होमिएका छन् । पिसाबथैलीमा क्यान्सर भएपछि शल्यक्रिया गरेको चौधरीले जानकारी दिए । ‘मेरो पिसाबथैलीमा क्यान्सर हुँदासमेत ऋण खोजेर उपचार गर्नुपरेको छ । ऋण तिर्नलाई अब यस्तो अवस्थामा के काम गर्न जाउँ ? उद्योगले पैसा दिएन, त्यही भएर बिरामी हुँदा पनि धर्नामा आएको छु,’ उनले सुनाए । चौधरीको उद्योगसँग ५२ लाख ३१ हजार ७२३ रुपैयाँ लिनुपर्ने अभिलेखमा छ ।
अवकाश लिएकामध्ये हेटौंडा–१३ पदमपोखरीका निङ्मा दोर्जेलामाको मृत्यु भइसकेको छ । उनका छोरा छेवाङ सिन्तान लामा आन्दोलनमा सहभागी छन् । उपदान र उपचार खर्च गरी ५२ लाख ८३ हजार रुपैयाँ लिनुपर्ने निङ्माको गत १८ मंसिरमा मृत्यु भयो । ‘उपचार गर्न खर्चसमेत भएन । यतिका वर्ष उद्योगमा काम गरेर उपचारसमेत गर्न नपाउँदा दुःख लाग्यो,’ छोरा छेवाङले भने ।
बीरगञ्जका सञ्जय केशरी अर्याल मुटुको समस्याले घरको ओछ्यानमै थलिएको अवकाशपीडित कर्मचारी समूहका संयोजक एकाबहादुर डंगोलले जानकारी दिए । कर्मचारीले उपचारसमेत गर्न नपाएको डंगोलको भनाई छ । अर्यालले उपदानको ६३ लाख ७० हजार ५२३ र उपचार खर्चवापत्को १२ लाख २ हजार १९ रुपैयाँ पाउनु पर्ने उद्योग प्रशासनको अभिलेखमा उल्लेख छ ।
उद्योगसँग ४३ लाख ९ हजार ७२३ रुपैयाँ लिन बाँकी हेटौंडा–४ घर भएका रामकुमार सुनारले गत भदौमा श्रीमती पार्वती सुनार गुमाए । क्यान्सरले श्रीमतीको मृत्यु भएको बताउँदै सुनारले भने, ‘श्रीमतीको उपचार गर्न जागिर छोडेँ । न जागिर रह्यो न त श्रीमती । अझैसम्म उद्योगले उपदान र उपचार खर्च पनि दिएन,’ श्रीमतीको उपचारका लागि घर धितो राखेको सुनाउँदै सुनारले बैंकले लिलामी निकाल्ने डरले संधै पिरोल्ने बताए ।
चौधरी, अर्याल, सुनार जस्ता सबैको आआफ्नै दुःख र पीडा रहेको आन्दोलनलाई नेतृत्व गरिरहेका डंगोल सुनाउँछन् । उद्योगको उत्पादनलगायतका क्षेत्रमा ३५–४० वर्षदेखि काम गर्दा बुढ्यौलीमा आएर अधिकांशलाई रोगले च्यापेको उनले बताए । यतिका वर्षसम्म पसिना बगाएको उद्योगले उपचार गर्नसमेत पैसा नदिँदा दुःख लाग्ने शिव अधिकारी बताउँछन् । यसअघि नै अवकाश लिइसकेका उदयपुरका अम्बरबहादुर विष्टलाई भने गत माघमा उद्योगले करिब ५५ लाख रुपैयाँ उपदान र उपचार खर्च दिएको थियो ।
उद्योगको उधारो नै ६० करोडहेटौंडा सिमेन्ट उद्योगको दायित्व नै ६० करोडभन्दा बढी रहेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । कोइला, जिप्सन, आइरन वरलगायत कच्चापदार्थ र चुनढुंगाको २६ करोड रुपैयाँ उधारो उद्योगमाथि दासयत्व रहेको छ ।
उद्योगलाई आवश्यक पर्ने स्पेयर पार्टसको करिब ३ करोड रुपैयाँ, ३० जना अवकाश प्राप्त कर्मचारीकै झण्डै १८ करोड, अतिरिक्त समय (ओटी) गत वैशाखदेखि नै भुक्तान हुन सकेको छैन । कर्मचारीको संचयकोषको रकम पनि गत भदौसम्म मात्रै दाखिला भएकाले त्यसको रकम दायित्वको रुपमा छ । उद्योगले स्थायी कर्मचारीको बीमा गरेको रकमसमेत भुक्तानी दिन नसकेको उद्योगका सूचना अधिकारी अशोक गौतमले बताए ।
कर, महशुल, विद्युत, अन्तशुल्क गरेर नै करिब ८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको उद्योगले जनाएको छ । बिजुली वापतको करिब ६ करोड तिर्न बाँकी रहेको छ । सिमेन्ट उत्पादन र बिक्रीबाट प्राप्त रकमबाट कर्मचारीको तलब भुक्तानी गरिएको हेटौंडा सिमेन्ट उद्योग प्रशासनले जनाएको छ । उद्योगले चालू आर्थिक वर्ष २०८०÷८१ को १२ वैशाखसम्म ६ सय ४९ रुपैयाँ प्रतिबोराका दरले सिमेन्ट बिक्रीबाट ३३ करोड ३९ लाख १७ हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ ।
कवाडी सामानको लिलामीबाट २ करोड रुपैयाँ आम्दानी भएको उद्योगले जनाएको छ । उद्योगको गोदाममा करिब डेढ लाख बोरा सिमेन्ट मौज्दात रहेको उद्योग प्रशासनले जनाएको छ । जसको मुल्य ९ करोड माथि हुन्छ ।







